विराटनगरस्थित न्युरो हस्पिटलमा भेन्टिलेटरसहितको अत्याधुनिक एम्बुलेन्स, बिरामीलाई निःशुल्क सेवा

विराटनगर । विराटनगरस्थित न्युरो हस्पिटलमा भेन्टिलेटरसहितको अत्याधुनिक उपकरण जडान गरेको एम्बुलेन्स ल्याएको छ । बिरामीको सहज रूपमा उपचार गर्ने उद्देश्यले सुविधा सम्पन्न ‘ए’ ग्रेडको एम्बुलेन्स सञ्चालनमा ल्याएको हो ।

न्यूरोको अत्याधुनिक एम्बुलेन्सले बिरामीलाई निःशुल्क सेवा प्रदान गर्ने अस्पतालका अपरेशनल डाइरेक्टर राजेश भट्टराईले जानकारी दिए । विराटनगर महानगर तथा महानगर वरीपरीका बिरामीलाई आवश्यक परे न्युरो अस्पतालले भेन्टिलेटरसहितको एम्बुलेन्स सेवा उपलब्ध गराउनेछ । अहिले न्यूरोले ल्याएको एम्बुलेन्समा भेन्टिलेटर, अक्सिजन, मनिटरलगायतका उपकरणहरू रहेको छ । उक्त एम्बुलेन्समा दक्ष प्राविधिकसहितको स्वास्थ्यकर्मीको टिम रहनेछ । ‘कुनै पनि बिरामी भएर हस्पिटल लैजानुपर्‍यो भने न्यूरोमा खबर आए अत्याधुनिक सुविधा सम्पन्न स्वास्थ्य उपकरण भएको एम्बुलेन्समा स्वास्थ्यकर्मीको टिम जानेछ,’ अस्पतालका अपरेशनल डाइरेक्टर भट्टराईले भने, ‘बिरामीको प्राथमिक उपचार गर्दे हस्पिटलसम्म ल्याइनेछ । बिरामीको अवस्था हेरेपछि थप उपचार यहाँको विशेषज्ञ चिकित्सकहरूबाट हुनेछ ।’

यो एम्बुलेन्स सेवा विराटनगर महानगर तथा महानगर छेउछाउका बिरामीको लागि ल्याएको अस्पतालले जनाएको छ । विराटनगर क्षेत्रमा दुर्घटना, प्रसूति, हृदयाघात, मस्तिष्कघात लगायतका बिरामीलाई तत्काल हस्पिटल लैजानुपर्ने अवस्थामा बिरामीलाई यो एम्बुलेन्स सेवा बहु उपयोगी हुनेछ ।उपचार नपाएर बिरामीको ज्यान जान नदिन भेन्टिलेटरसहितका एम्बुलेन्स सेवा सञ्चालनमा आएको अस्पतालले जनाएको छ । टाटा कम्पनीको उक्त एम्बुलेन्स भन्सार छुटमा न्यूरोले ५० लाख भन्दा बढी लागतमा ल्याएको हो ।

प्रतिक्रिया

सम्बन्धित