पित्तथैलीको शल्यक्रिया गर्दा बिरामीको दाँत झर्‍यो

काठमाडौं : नुवाकोटकी ५० वर्षीया एक महिला गत ३० साउनमा पित्तथैलीको पत्थरीको शल्यक्रिया गर्न वीर अस्पतालमा भर्ना भइन्। चिकित्सकको टोलीले ३१ गते शल्यक्रिया गर्न उनलाई शल्यक्रिया कक्षमा लगे‚ शल्यक्रिया पनि सकियो तर कक्षबाट निकाल्दा अगाडि तर्फको माथिल्लो भागको तीनवटा दाँत भाँच्चिएको थियो। यो विषय चर्चामा छ। परिवारले पनि उपचारमा चिकित्सकले हेलचेक्र्याइँ गरेको आरोप लगायो।

उपचारमा संलग्न चिकित्सक तथा अस्पताल प्रशासनले भने वास्तविकता नबुझी वीर अस्पताललाई विवाद बनाउन खोजिएको बताएका छन्। अस्पतालका प्रमुख कार्यकारी निर्देशक डा. भूपेन्द्रकुमार बस्नेतले शल्यक्रिया गर्नुअघि भेन्टिलेटरमा राख्ने क्रममा आएको जटिल समस्या रहेको र यस्तो समस्या लाखौँमा कहिलेकाहीँ हुन सक्ने भन्दै यो बिरामीको केशमा पनि त्यही घटना भएको बताए। ‘बिरामीलाई शल्यक्रिया गर्नुपूर्व भेन्टिलेटरमा राख्नुपर्छ। त्यसका लागि ‘इन्टुवेसन’ गर्नुपर्ने हुन्छ। ‘इन्टुवेसन’ गर्नका लागि ‘ल्यारिङ्गोस्कोपी’ गर्नुपर्ने हुन्छ। त्यो छिराउने क्रममा दाँत भाँच्चिएको रहेछ, बिरामीको घाँटीको अलि फरक खालको बनावट रहेको हुँदा यो समस्या आएको हो‚ अरू केही होइन। यस्ता बिरामी लाखौँमा एकजना हुन्छन्’‚ डा. बस्नेतले भने।

हाल बिरामीको अवस्था सामान्य रहेको र डिस्चार्जको क्रममा रहेको समेत डा. बस्नेतले बताए। ‘अहिले बिरामीको पत्थरी पनि झिकिसकिएको छ र हाल बिरामीको अवस्था पनि सामान्य छ‚ उहाँ डिस्चार्जको तयारीमा हुनुहुन्छ’‚ उनले भने। उपचारका क्रममा झरेको दाँतको पनि उपचार गर्ने समेत उनले बताए। वीर अस्पताललाई बदनाम गर्न र बिरामीलाई निजी अस्पतालमा लैजान पल्केकाहरूले नै उपचारका क्रममा हुने सामान्य घटनालाई अनावश्यक उचालेको समेत डा. बस्नेतले आरोप लगाए। साभार श्राेत : थाहखबर

प्रतिक्रिया

सम्बन्धित