स्पाइनल कर्डमा भएको ८ सेन्टिमिटरको ट्युमरको आर्या न्यूरो हस्पिटलमा सफल शल्यक्रिया, बालिकाले पाइन् नयाँ जिवन
विराटनगर । विराटनगर – ३ कंन्चनबारीमा रहेको आर्या न्युरो हस्पिटलमा ६ वर्षीय बालिकाको मेरुदण्ड (स्पाइनल कर्ड) मा भएको ट्युमरको सफल शल्यक्रिया भएको छ । धनुषाको जनकपुर घर भएकी ६ वर्षीय बालिका प्रतिज्ञा कुमारी मण्डलको स्पाइनल कर्डमा भएको ट्युमरको सफल शल्यक्रिया भएपछि बुधवार डिस्चार्ज भएको हो ।
स्पाइनल कर्डमा ट्युमर भएको कारणले प्रतिज्ञा हिँडडुल गर्न नसक्ने भएर थला परेकी मात्र नभएर उनको पिसाब नियन्त्रण बाहिर गएको थियो । प्रतिज्ञाका आमा राम दुलारी मण्डलले छोरीको उपचारको लागि जनकपुरसहित प्रदेश १ का विभिन्न अस्पतालहरूमा लिएर गइन् । तर, उपचार हुन नसकेपछि उनलाई आर्या न्युरो हस्पिटलमा लिएर आएका थिए । १ साउनमा आर्या न्युरो हस्पिटल आएका प्रतिज्ञाको ३ साउनमा शल्यक्रिया गरेर स्पाइनल कर्डमा भएको ८ सेन्टिमिटरको लामो ट्युमर शल्यक्रिया गरी निकालिएको थियो ।
आर्या न्युरो अस्पतालका वरिष्ठ न्युरो सर्जन तथा प्रबन्ध निर्देशक डा. पंकजराज नेपालको टिमले प्रतिज्ञाको सफल शल्यक्रिया गरी बचाएको हो । ‘बालबालिकाहरूको स्पाइनल कर्डमा देखिने यस्ता ट्युमरको शल्यक्रिया धेरै जोखिम हुने गरेको छ,’ डा. नेपालले भने, ‘ च्यालेन्जिङ्ग सर्जरी गरेर हामीले स्पाइनल कर्डमा भएको ट्युमर निकालेका छौँ ।’
७ वटा मेरुदण्डको हड्डीको पछाडि ट्युमर रहेको थियो । यसलाई स्पाइनल कर्ड भन्छिन् । ‘दिमागबाट आएको नशालाई ट्युमरले समातेको थियो । यो बाहिरतिर ढाडको अप्रेसन गरेपछि प्यारालाइसिस हुन्छ भन्ने हल्ला रहेछ । त्यो हल्ला सत्य होइन,’ वरिष्ठ न्युरो सर्जन डा. नेपालले भने, ‘ ट्युमरको अप्रेसन गरेपछि मान्छे हिडन सक्छ भन्ने यो घटनाले पनि देखाएको छ । बच्चामा ट्युमर रियल हुन्छ । त्यसमाथि पनि मेरुदण्डमा पनि ट्युमर धेरै हुन्छ । यसरी बेलैमा ट्युमरको शल्यक्रिया गरेर उपचार गरे बिरामीको स्वास्थ्य अवस्था राम्रो हुने गर्दछ ।’
मेरुदण्डमा ट्युमर देखिएको बिरामीको चाँडै उपचार गर्नुपर्ने चिकित्सकले सुझाव दिएका छन् । ‘यस्ता बिरामीको समयमै उपचार नगरे थप समस्या हुँदै जान्छ । बेलैमा उपचार नगरे खुट्टा नचल्ने, पिसाब नियन्त्रण नहुने लगायतका अन्य विभिन्न समस्याहरू देखा पर्दै जाने गरेको छ,’ डा. नेपालले भने ।
२५ दिनको उपचारपछि प्रतिज्ञालाई डिस्चार्ज दिएको छ । अहिले उनी आफै हिँडडुल गर्न सक्ने भएकी छिन् । हस्पिटलका चिकित्सक सफल उपचार गरेर पुनः जन्म दिएको प्रतिज्ञाको आमा राम दुलारी मण्डलले बताइन् । उपचार संलग्न चिकित्सकप्रति कृतज्ञ भएको उनले सुनाइन् ।
‘छोरीलाई बचाउन आर्या न्युरो हस्पिटलले गरेको यो उपचार हामी बिर्सन सक्दिनम । उपचारमा सहयोग पुर्याउने चिकित्सकहरू प्रति आभारी छु । उपचारमा खटिनुहुने डाक्टरले मेरो कान्छी छोरीलाई बचाउनुभयो । अहिले हिँडडुल गर्न सक्ने भएकी छिन् । बाबुले नयाँ जीवन पाइन्,’ आमा राम दुलारीले भनिन् ।
यस अघि पनि आर्या न्युरो हस्पिटले जटिल प्रकृतिका बिरामीहरूको पनि सफल गरेको छ ।
उपचार सम्भव नभएको भन्दै अन्य अस्पतालले हात उठाइसकेको अवस्थामा आर्याले उनीहरूलाई नयाँ जीवन प्रदान गर्न थालेको हो । यसरी एक पछि अर्को जटिल प्रकृतिका बिरामीको सफल उपचार गरी पूर्वाञ्चलमै कम खर्चमा गुणस्तरीय उपचार हुने भरपर्दो अस्पतालको रूपमा स्थापित हुँदै आएको देखिन्छ ।
प्रतिक्रिया