पर्यटकको पर्खाइमा भोजपुरको प्रसिद्ध साल्पा सिलिचुङ चुचुरो

भोजपुर / प्रसिद्ध धार्मिक तथा पर्यटकिय स्थल भोजपुरको सबै भन्दा अग्लो साल्पा सिलिुचङ चुचुरो ओझेलमा परेको छ । धार्मिक महत्व बोकेको यो पर्यटकिय स्थल प्रचार प्रसारको कमिले पर्यटक माझ चिनिन नसकेको हो ।समुन्द्रि सतहबाट चार हजार १५३ मिटर उचाईमा रहेको सिचिलुङ डाँडाबाट सगरमाथासँगै अन्य हिमालहरु आँखै अगाडी देख्न सकिन्छ ।

चुचुरोको काखैमा रहेको पोखरीमा आन्तरिक पर्यटकहरु आफ्नो मनोकामना पुरा हुने धार्मिक विस्वासले पूजाआजा गर्नको लागि पुग्ने गरेका छन् । खास गरेर यहाँ वर्षमा चार पटक मेलासमेत लाग्ने गरेको छ । बैशाख, भदौ, कात्तिक र फागुन महिनाको पूर्णिमामा मेला लाग्ने गरेको स्थानीयको भनाइ छ । यहाँ भोजपुर, खोटाङ, संखुवासभा, धनकुटा, सोलुखुम्बु, लगायत ठाउँबाट भक्तजनहरु पुग्ने गरेका छन् ।

यहाँका टेम्के डाँडा, मैयुङ डाँडा मध्ये सिलिचुङ डाँडा सबै भन्दा अग्लो डाँडाको रुपमा स्थापित छ । टेम्के डाँडाको उचाई समुन्द्री सतहबाट तीन हजार १६५ रहेको छ । त्यस्तै मैयुङ डाँडाको उचाई तीन हजार ३३३ र साल्पासिलिचुङ डाँडाको उचाई चार हजार १५५ रहेको छ ।यो स्थानलाई सबै धामीझाँक्रीले गुरु मान्ने गरेका छन् । खास गरेर स्थानीय मनोकामना पुरा हुने, हाके ताकेको पुरा हुने धार्मिक विस्वासका साथ त्यहा पुग्छन् ।

खास गरेर बोली नआउने वोली आउने र सन्तान नहुनेलाई सन्तान प्राप्त हुने धार्मिक विस्वास रहेको स्थानीयबासी पवन खत्रीले जानकारी दिनुभयो । यो सिलिचुङ डाँडाबाट नेपालको सवोच्च शिखर सगरमाथालाई जनिकबाट नियाल्न सकिने उहाँको भनाइ छ । स्थानीय खत्रीले भन्नुभयो,‘‘ मुख्य रुपमा यहाँ दर्शन गरेमा सन्तान नहुनेको सन्तान प्राप्ति हुने धार्मिक विस्वासले धेरै मानिस आउने गरेका छन् । सिलिचुङ डाँडा र साल्पा पोखरी हाम्रो जिल्लाको पहिचान हो । यो ठाउँ धार्मिक तथा पर्यटकिय क्षेत्र हो । साल्पा पोखरीमा गएर दर्शन गरे मनोकामना पुरा हुने, चिताएको पुग्ने जनविस्वास छ । सिलिचुङ डाँडाबाट सगरमाथासँगै तराईका सुन्दर फाँटसँगै अन्य हिमालहरुको मनोरम दृश्य अवलोकन गर्न सकिन्छ ।’’साल्पा पोखरी कचौरा आकारमा फैलिएको छ । स्थानीयका अनुसार समय समयतमा यस पोखरीको रंगसमेत फेरिने गर्दछ । यो ठाउँलाई किरात राईहरुले सवै भन्दा अग्लो स्थानमा रहेको पुख्र्यौली भगवान भनेर मान्ने गरेका छन् । उनीहरुले हरेक दुःख सुखमा साथ दिने आस्थाको प्रातिकका रुपमा लिने गरेका छन् ।

साल्पा पोखरी र सिलिचुङ डाँडा धार्मिक तथा पर्यटकिय क्षेत्र रहेकोले यसको बृहत्तर रुपमा विकास गर्ने गाउँपालिका अध्यक्ष दौलथ कुलुङले बताउनुभयो । गाउँपालिकाको मुख्य धार्मिक स्थल तथा पर्यटकिय क्षेत्रको रुपमा विकास गर्ने लक्ष्यका साथ काम गरिरहेको उहाँले जानकारी दिनुभयो । अध्यक्ष कुलुङले भन्नुभयो,‘‘ हाम्रो गाउँपालिकासँगै जिल्लाको महत्वपूर्ण धार्मिक एंव पर्यटकिय क्षेत्र हो । यसलाई बृहत्तर रुपमा विकास गर्ने उद्धेश्यले काम गरिरहेका छौँ । यसको छुटै विषेशता र पहिचान छ । गाउँपालिकाको क्षमताले मात्र सवै काम गर्न सम्भव छैन । त्यसको लागि केन्द्र र प्रदेश सरकारसँग पनि समन्वय गरेर आगामी दिनमा थप काम गछौँ ।’’
गाउँपालिकाले अहिले पोखरीको थप संरक्षणसँगै तीर्थ यात्री तथा पर्यटकहरुलाई लक्षित गरेर पाटीपौवा, शौचालय, विश्राम स्थल तथा खानेपानी व्यवस्थापनको काम गरिरहेको अध्यक्ष कुलुङले जानकारी दिनुभयो । यो क्षेत्रमा रेडपाण्डा लगाएतका धेरै प्रकारका जीवजन्तु, विभिन्न बहुमुल्य जडीबुटी पाइने भएकाले संरक्षित क्षेत्रको रुपमासमेत विकास गर्ने अध्यक्ष राईको भनाइ छ । ‘‘ यो क्षेत्र प्राकृतिक हिसाबले पनि निकै महत्व बोकेको ठाउँ हो । यहाँ नेपालमै दुर्लभ रेडपाण्डा पाइने स्थान हो । यहाँका बन क्षेत्रमा धेरै बहुमुल्य जडीबुटी पाउन सकिन्छ । यसलाई संरक्षित क्षेत्र घोषणा गरेर धार्मिक तथा पर्यटकिय क्षेत्रको रुपमा विकास गर्ने गाउँपालिकाको योजना छ ।’’ अध्यक्ष राईले भन्नुभयो ।हाँडी पोखरी, निकाश भनिने भोजपुर– खोटाङ सिमानाको भञ्याङ, जौ बारी, च्याक्सीला वाक्सिन्दा, चिलिमधाप लगाएत क्षेत्रलाई समेटेर संरक्षित क्षेत्रको रुपमा विकास गर्ने अध्यक्ष राईको भनाइ छ ।

नेपाल सरकारले निर्धारण गरेको घुम्नै पर्ने १०० पर्यटकिय गन्तव्य भित्र पर्न सफल मुन्दुम पदमार्ग यो क्षेत्रसम्म विस्तार भएको छ । मुन्दुम पद मार्गले छोएको स्थानलाई जोड्दै साल्पासिलिछो गाउँपालिकाले पनि पदमार्ग निर्माण गरेर अरुण उपत्यका हुँदै कञ्चनजंघासम्म करिव ६० किलो मिटर निर्माण गर्ने लक्ष्य लिएको गाउँपालिकाले जनाएको छ । यो पदमार्गको नाम ‘सोप्तुङ ट्रेल’ राखिएको छ । यो ट्रेललाई दोभानेको जौवारी आहाले, खाटम्माको साकेचुङ ढुङ्गा, चौकी डाँडाको डेली ढुङ्गा हर्कटे शाल्पा, कुलुङ गोरुकाटे डाँडा, काम्लेटार, बुम्लिङटार योगमाया तपोभूमि गौँडेनी अरुण उपत्यका हँुदै मकालु कञ्चनजंघासम्म विस्तार गरिने अध्यक्ष कुलुङको भनाइ छ ।

अध्यक्ष राईले भन्नुभयो,‘‘यो ठाउँसम्ममा मुन्दुम ट्रेलले छोएको छ । मुन्दुम पदमार्गले छोएको ठाउँबाट पर्यटकलाई सहज आवगमनको लागि गाउँपालिकाले पनि सोप्तुङ ट्रेल निर्माण गर्ने लक्ष्य लिएको छ । यो ट्रेललाई मकालु, कञ्चनजंगासम्म जोड्ने हाम्रो योजना छ । यो ट्रेलले पूर्णतापछि पर्यटकहरुलाई सहज रुपमा यो क्षेत्रको भ्रमण गर्ने अवसर मिल्ने छ ।’’
यो क्षेत्रलाई विकास गर्न सके आन्तरिक तथा बाह्य पर्यटक भित्राएर गाउँपालिकाको आर्थिक श्रोतमा बृद्धि गर्न सकिने त्यस क्षेत्रका जानकार स्थानीय चन्द्र खत्रीले बताउनुभयो । यसको विकास र प्रचार प्रचार गर्न सके ताप्लेजुङको पाथीभरा जस्तै प्रख्यात हुने खत्रीको भनाइ छ । चिताएको पुरा हुने विस्वासले मानिसहरु चारदेखि पाँच दिनसम्म लगाएर दर्शनको लागि आउने गरेको खत्रीको भनाइ छ । तेन्जिङ हिलारी त्यहीबाट भएर सगरमाथा आरोहणको लागि गएकोसमेत उहाँले जानकारी दिनुभयो ।

खत्रीले भन्नुभयो,‘‘यो क्षेत्रको धेरै ठूलो महत्व छ । यसलाई प्रचार प्रसार गरेर उचित ढंलले विकास गर्ने हो भने नेपालको उत्कृष्ट गन्तव्य सूचिमा पहिलो रोजाइमा पर्न सक्छ । यहाँ धार्मिक महत्वलाई उजागर गर्दै पर्यटकिय क्षेत्रको रुपमा विकास गर्न सक्ने हो भने पाथीभरा जस्तै मानिसको आस्थाको केन्द्रको रुपमा स्थापित गर्न सकिन्छ । यहाँको सम्भवानाको विषयमा स्थानीय सरकारसँगै प्रदेश र केन्द्र सरकारले पनि ध्यान दिन आवश्यक छ ।’’

तीन जिल्लाको संगम स्थलमा रहेको भएपनि यो क्षेत्र भोजपुरमा पर्ने खत्रीको भनाइ छ । यो क्षेत्रबाट एक हजार १० मिटर पर कुलुपंखुमा खोटाङ, सिचुङ चुचुरोबाट पश्चिम पाँच सय पर मिटरमा सोलुखुम्बु र उत्तरपटी करिव सय मिटर पर संखुवासभाको भू–भाग पर्ने उहाँको भनाइ छ । यहाँ महोत्सव आयोजना गरेर २०६८ बाट यस क्षेत्रलाई समेटिएको हुलाक टिकटसमेत सञ्चालनमा छ ।

प्रतिक्रिया

सम्बन्धित