नोबेलद्वारा मोरङको रमाइलोका जेष्ठ नागरिकको मुटु तथा फोक्सो रोगको निःशुल्क उपचार

विराटनगर / विराटनगरस्थित नोबेल शिक्षण अस्पतालले बुधवार मोरङको वयरवन गाउँपालिका–६ स्थित रमाइलोमा मुटु तथा फोक्सो रोग शिविर सञ्चालन गरेको छ । स्थानीय जेष्ठ नागरिक एकता समाजसँगको सहकार्यमा नोबेलले निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेर जेष्ठ नागरिक मुटु तथा फोक्सो रोगको उपचार गरेको हो ।

शिविरमा ६० बर्ष नाघेका बृद्ध–बृद्धाको मुटु तथा फोक्सोसँग सम्बन्धित रोगको परीक्षण र उपचार गरिएको छ । नोबेल अस्पतालका मुटुरोग विशेषज्ञ डा.राजेश नेपाल नेतृत्वको डाक्टरहरुको टोलीले १७० जना जेष्ठ नागरिकको स्वास्थ्य परीक्षण गरेको हो । इको जाँच पनि शिविरमै गरिएको छ । जटिल समस्या भएका कारण शिविरमा उपचार सम्भव नभएका ५५ जना जेष्ठ नागरिकलाई अस्पताल रेफर गरिएको नोबेल अस्पतालका प्रबन्धक नारायण दाहालले जानकारी दिए ।

रेफर गरिएका बिरामीलाई नोबेलको बसद्वारा नै अस्पताल लगेर निःशुल्क उपचार गरेपछि घर पुर्याउँने व्यवस्था मिलाइएको छ । नोबेल अस्पतालले ग्रामीण क्षेत्रका विपन्न बिरामीलाई लक्षित गरी निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्दै आएको छ । जसका कारण लाखौं बिरामी लाभान्वित भएका छन् ।

यो स्थान मोरङको क्षेत्र नंम्बर ३ मा पर्छ । जहाँ नोबेल अस्पतालका सञ्चालनसमेत रहेका डा. सुनिल शर्मा गत प्रतिनिधि सभा निर्वाचनमा नेपाली कांग्रेसको तर्फबाट उमेदवार बनेका थिए । उनी नेकपा एमालेका उमेदवार भानुभक्त ढकालसँग पराजित भए । पराजित भएर पनि उनी निरन्तर जनताको सेवामा लागि रहेका छन् । निर्वाचनमा हारेर पनि जनताको सेवामा निरन्तर खटिरहेका शर्माले दिन प्रति दिन जनताको मन जित्दै गएका छन् ।

प्रतिक्रिया

सम्बन्धित