न्युजिल्यान्डमा सगरमाथा दिवस २०२२ मनाउने तयारी

न्युजिल्यान्ड / गैर आवासीय नेपाली सङ्घ न्युजिल्यान्डको आयोजनामा सगरमाथा दिवस २०२२ मनाउने तयारी थालिएको छ । विगतका बर्षमा झैँ यो वर्ष पनि मे २८ देखि ३१ तारिख सम्म न्युजिल्यान्डका विभिन्न ६ सहरहरूमा सगरमाथा दिवस मनाउने तयारी थालिएको हो ।

सर एडमण्ड हिलारीले सगरमाथा क्षेत्रमा शिक्षा, स्वास्थ्य, पर्यावरण विषयमा उत्थान गर्ने हेतुले स्थापना गरेका संस्था हिमालयन ट्रस्ट र न्युज ल्यान्डमा रहेका नेपाली सङ्घ संस्थाहरूको सहकार्य दिवसको आयोजनामा हुने भएको हो ।

नेपालका तेन्जिङ नोर्गे र न्युजिल्यान्डका एडमण्ड हिलारीले ६९ वर्ष अघि सन् १९५३ मे २९ का दिन सगरमाथा को सफल आरोहण गरी संसारको सर्वोच्च शिखरमा पाइला टेकेर विश्व कीर्तिमान स्थापित गरेको अवसरलाई स्मरण गर्दै उक्त अवसरमा न्युजिल्यान्ड मा रहेका सगरमाथा आरोहीहरूको पनि सम्मान गर्ने कार्यक्रम रहेको छ ।

न्युज ल्यान्डमा सन् २०१४ देखि मनाउन सुरुआत गरिएको सगरमाथा दिवस यो वर्ष न्युजिल्यान्डका विभिन्न छ शहरहरु मध्ये इन्भरकारगिलमा २८ मे का दिन, अक्ल्यांड, बे अफ प्लेनटी, हेमिलटन र क्राइस्टचर्चमा २९ मे का दिन र वेलिंगटनमा ३१ मे का दिन सम्पन्न हुने छन् ।

विभिन्न समयमा हिमाल आरोहण गर्ने आरोहिहरुको उपस्थिति हुने यो दिवसमा नेपाल प्रति र हिमाल आरोहणमा चाख राख्ने व्यक्तिहरू तथा न्युजिल्याण्डमा रहेमन नेपालीहरूको ठुलो सङ्ख्यामा सहभागिता हुने अपेक्षा लिएको आयोजले बताएकाे छ । कार्यक्रममा सर एडमण्ड हिलारीको हस्ताक्षर भएको पाँच डलर नोट र हिलारी र तेञ्जिङ्ग भएको कलाकृतिको लिलाम बढाबढ गरिने र प्राप्त रकम हिमालयन ट्रस्टलाई हस्तान्तरण गरिने छ ।

यस दिवसको आयोजनाबाट नेपाल र न्युजिल्याण्डको सम्बन्ध प्रगाढ बनाउन मदत गर्नुको साथै नेपालको पर्यटनमा सघाउ पुग्ने पनि आसा गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित