धरानमा केएचडिसी नेपालद्वारा एक महिने निःशुल्क रक्तचाप जाँच शुरु
धरान / उच्च रक्तचापबारे जनचेतना जगाउन र रोकथाम गर्नको लागि धरानमा एक महिनासम्म निःशुल्क रक्तचाप जाँच कार्यक्रम शुरु भएको छ । वीपी प्रतिष्ठानका प्रा.डा.सञ्जिवकुमार शर्माका अनुसार आज ७६ जनालाई परीक्षण गरिएको हो । डा. शर्माका अनुसार एकै पटकको परीक्षणमा रक्तचाप हो भन्नु सकिदैन ।परीक्षणको क्रममा कोही व्यक्ति दौडर आएको र खानपिन समयमा नभएको ,राम्रो सँग नसुतेको, तनाव लिएको र पिसाब च्यापेको आदी कारण रक्तचाप बढी देखाउँछ । त्यसैले कम्तीमा पनि २ वा ३ पटक सम्म नापेर मात्र रक्तचाप भएको पुष्टि गर्न सकिन्छ।
पहिलो दिन आइतबार घण्टाघरमा चिकित्सकहरुको टोलीले निःशुल्क उच्च रक्तचाप जाँच गरिएको थियो । एक महिनासम्म घण्टाघर परिसरमा बिहान ८ बजेदेखि दुई घण्टा निःशुल्क रक्तचाप जाँच गरिने केएचडिसी नेपालका अध्यक्ष राजेन्द्रप्रसाद पोखरेलले जानकारी दिए । उनले भने,‘हरेक दिन घण्टाघरमा बिहान ८ बजेदेखि १० बजेसम्म जो कोहीलाई परीक्षण गछौ, जसलाई पनि हुन सक्छ रक्तचाप ।’
‘स्वास्थ्य मुटु, स्वास्थ्य मृगौला’ भन्ने नाराका साथ सक्रिय केएचडिसी नेपाल र सामाजिक उत्तरदायित्वका निमित्त चिकित्सक संघ नेपाल, धरान (पिएसआरएन)को आयोजनामा एक महिनासम्म रक्तचापबारे जनचेतना र निःशुल्क जाँच शुरु भएको हो । हरेक बर्ष विश्वका एक सय बढी मुलुकहरुमा सन् २०१७ देखि मे महिनाभरी ‘मे मेजरमेन्ट मन्थ’ मनाउने गरिएको छ । धरानमा पनि केएचडिसी र पिएसआरएनले मे १ (बैशाख १८) देखि मे ३० (जेठ १६)सम्म यो दिवस मनाउन शुरु भएको हो ।
धरानको निम्न आर्थिक अवस्था भएका वस्तीहरुमा पनि मोवाइल टोली पुगेर निःशुल्क रक्तचाप जाँच गर्ने अध्यक्ष पोखरेलले जानकारी दिए । उनका अनुसार सुकुम्वासी बस्तीमा, मजदुरहरुलाई , विद्यार्थीहरुलाई र निम्न आय भएका बस्तीहरुमा स्वास्थ्य जाच गर्ने इच्छा पनि कम हुने, फुर्सद नहुने र पैसा पनि नहुने भएकोले ती क्षेत्रहरुलाई केन्द्रीत गरेर मोवाइल टोली बेग्ला बेग्लै वडाहरुमा पुग्नेछ । एउटा कुनै गाविसको जनसंख्या भन्दा बढी गरिबहरुको संख्या सहरमा हुने भएकोले यो कार्यक्रम धरानमा गरिएको उनको भनाई छ ।
डा.शर्माका अनुसार धरानमा १८ वर्ष देखी यो कार्यक्रम भइरहेको छ । जसमा धरानमा धरान १८ र १० मा बढी रक्तचाप हुनेको सङख्या बढी पाइएको थियो । केएचडिसी नेपालले हालसम्म धरान, तरहरा, इटहरी, टंकीसुनवारी, दमक, सुरुंगामा पुगेर सेवा प्रदान गरिसकेको छ भने हाल झापाको मेची नगरमा पनि जाँच भइरहेको छ । हालसम्म १ लाख ३० हजार जनालाई परीक्षण गरिसकेको जानकारी दिदै उनले तथ्यांकमा २५ प्रतिशतलाई उच्च उच्चरक्तचाप भएको देखाएको बताए । उक्त तथ्यांक २० बर्ष माथिकाहरुको भएको पनि उनले बताए । ‘पूर्वमा सालाखालामा हेर्दा ६ देखि ८.५ प्रतिशत मधुमेह छ । मुटुको रोग २.५ प्रतिशत छ, स्ट्रोक ३ प्रतिशत छ । कोलेष्ट्रोलको मात्रा एकदम धेरै २० प्रतिशत छ,’डा.शर्माले भने ।
उच्च रक्तचाप भनेको के हो ?
मुटुबाट रक्तसञ्चार हुने बेलामा रक्तनली (आर्टरी) को भित्तामा पर्ने दबाबलाई रक्तचाप भनिन्छ । रक्तचापलाई ‘मिलिमिटर अफ मर्करी’मा नापिन्छ । माथिको रक्तचापलाई ‘सिस्टोलिक’ र तलको रक्तचापलाई ‘डायस्टोलिक’ भनिन्छ ।
‘सिस्टोलिक’ र ‘डायस्टोलिक’ दुबै रक्तचाप शरीरको लागि उत्तिकै महत्वपूर्ण मानिन्छन् । सामान्य रक्तचाप १२०÷ ८० भन्दा कम हुनपर्छ । उच्च रक्तचाप भन्नाले माथिको १४० वा सो भन्दा बढी र तलको ९० वा सो भन्दा बढी भएको अवस्थालाई भनिन्छ ।
माथिको १२० देखि १३९ वा तलको ८० देखि ८९ सम्मको रक्तचापलाई ‘प्रि–हाइपरटेन्सन’ भनिन्छ । यो उच्च रक्तचाप हुनु भन्दा अगाडिको अवस्था हो ।
‘प्रि–हाइपरटेन्सन’ अवस्थामा रहेको व्यक्तिलाई सामान्य रक्तचाप भएको व्यक्ति भन्दा उच्च रक्तचाप हुने सम्भावना बढी हुन्छ । त्यसैले यस अवस्थामा जीवनशैलीमा आवश्यक परिवर्तन गरेर भविष्यमा उच्च रक्तचाप हुनबाट आफूलाई बचाउन सकिन्छ ।
प्रतिक्रिया