धादिङमा केएमसीको नि:शुल्क स्वास्थ्य शिविर, ११ सय बिरामीले पाए उपचार

धादिङ / धादिङको थाक्रे गाउँपालिका–१० स्थित भिमसेन ठूलो पोखरीमा आइतवार नि:शुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको छ । काठमाडौंको सिनामंगलस्थित काठमाडौं मेडिकल कलेज, थाक्रे गाउँपालिका र ठूलो पोखरी युवा क्लबको सहकार्यमा एकदिने नि:शुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको हो ।

पूर्व अर्थसचिव कृष्णहरी बास्कोटाको प्रमुख आतिथ्यतामा हरिहर भोजकुमारी माध्यमिक विद्यालयमा शिविर सञ्चालन भएको हो । शिविरमा ११९४ जनाको नि:शुल्क स्वास्थ्य परीक्षण गरिएको छ । जसमध्ये २२१ जनाको रक्त परीक्षण गरिएको केएमसीका जेनेरल मेनेजर नारायण दाहालले जानकारी दिए । उनका अनुसार शिविरमा १९७ जनाको भिडियो एक्सरे र १०९ जनाको मुटुको जाँच (ईसीजी) पनि गरिएको छ ।

त्यस्तै दाँतको समस्या भएका ५३ जनाको दाँत फुकालिएको छ भने शिविरमा उपचार सम्भव नभएका ४२ जनालाई शल्यक्रियाका लागि अस्पताल रेफर गरिएको छ । केएमसी अध्यक्षको जिम्मेवारी डा.सुनिल शर्माले सम्हालेसँगै गतबर्षदेखि केएमसीले विभिन्न जिल्लामा नि:शुल्क स्वास्थ्य शिविर सञ्चालन गर्दै आएको छ ।

प्रतिक्रिया

सम्बन्धित