टिएमजे अर्थात ‘गुराँसको राजधानी’मा २८ प्रजातिका गुराँस हेर्न पर्यटकको भिड (तस्विरहरू सहित)

संखुवासभा / टिएमजे तेह्रथुम, संखुवासभा र ताप्लेजुङ तीन जिल्लाको संगमस्थल हो। यहाँ एउटै डाँडामा बसेर २८ प्रजातिका गुराँस फुले हेर्न पाइन्छ। त्यसैले टिएमजेलाई ‘गुराँसको राजधानी’ पनि भनिन्छ। विश्वमा ३२ प्रजातिका गुराँस पाइन्छ।

फागुनदेखि वैशाखसम्म गुराँस फुल्ने मुख्य सिजन हो। गुराँस फुल्ने सिजन सुरू भएसँगै टिएमजेको प्रवेशद्वार रंगिन बन्दै गएको छ। गुराँस फुल्न सुरु भएसँगै आन्तरिक पर्यटकको आगमन पनि बढेको छ। प्राकृतिक सुन्दरतासँगै विभिन्न प्रजातिका गुराँस फुल्ने सिजन सुरु भएकाले रमाइलो भएको आन्तरिक पर्यटक डिल्लीरमण पौडेलले बताए। वसन्तपुरको चोत्लुङ पार्क, आरआर गार्डेन, घुर्बिसे, पाथीभरा, चौकी, मंगलबारे, गुफापोखरी हुँदै तीनजुरे(मिल्क(जलजले क्षेत्रमा गुराँसको जंगल छ। अहिले भने तल्लो भेगमा गुराँस फुल्न थालेको छ। माथिल्लो भेगतर्फ फुल्ने क्रममा छ। गुराँस फुल्ने सिजनमा टिएमजे क्षेत्रमा आन्तिरक र बाह्य पर्यटकको घुइँचो लाग्ने गर्दछ।

यहाँको देउराली, मंगलबारे, चौकी‚ गुफापोखरी पदमार्ग चर्चित पदमार्ग पनि हो। तीनजुरेको फेदीमा मात्रै गुराँस फुलेकाले पर्यटकको घुइँचोले फोटो खिच्न समेत पालो कुर्नुपर्ने जीवन श्रेष्ठ बताउँछन्।गुराँस १ हजार २०० देखि ५ हजार ५०० मिटर उचाइसम्म पाइन्छ। १० सेन्टिमिटरका बुट्यानदेखि १५ देखि १८ मिटर अग्लासम्मका गुराँसका रुख टिएमजे क्षेत्रमा पाइन्छन्। पर्यटन विकास प्रवर्द्धन समितिका अध्यक्ष प्रकाश श्रेष्ठका अनुसार माघमा १४ देखि १५ सयको उचाइ र र यतिबेला २२ देखि २३ सयको उचाइमा गुराँस फुल्ने गर्दछ। यस वर्ष राम्रो गुराँस ढकमक्क फुलेको उनले बताए। गुराँस हेर्न पर्यटक पनि लोभिने भएकाले यसको रक्षा, संरक्षण र विस्तार गर्न सके मनग्गे आर्थिक लाभ लिन सकिने उनको भनाइ छ।

संखुवासभाको मादी नगरपालिकाका प्रमुख विदुर सुब्बा लिङ्थेपले केही दिनमा पर्यटन मन्त्रालय र मादी नगरपालिकाको लगानीमा ६ करोड रूपैयाँ लगानीमा गुराँस पार्कको ठेक्का खुल्न लागेको बताए। मंगलबारेको डाँडामा पार्क बनाइने उनले जानकारी दिए। प्रमुख लिङ्थेपले गुराँस काटेको पाइएको बताउँदै यसलाई रोक्न तत्काल विकल्प नभएको बताए। टिएमजे क्षेत्रमा लालीगुराँस, सुनपाती, रातो चिमाल, चियाफुले गुराँस, नीलो चिमाल, पहेंलो चिमाल, जुँगे चिमाल, सानो चिमाल, लहरे चिमाल जातका गुराँस पाइन्छन। यस्तै कोर्लिङ, चिमाल, ठेकी झार, प्रजातिका गुराँस पाइने एक अध्ययनले जनाएको छ।

यस क्षेत्रमा पात्ले कोर्लिङ, सेतो चिमाल, गुलाबी कोर्लिङ, जस्ता प्रजाति पनि रहेका छन्। यस्तै‚ हुकरको गुराँस, पहेंलो सुनपाती, भुत्ले गुराँस, भाले सुनपाती, सानो लहरे चिमाल, हिउँ गुराँस, झन्डिने चिमाल, पुड्के गुराँस, बुलु, शाल्लु गुराँस, थाम्सनको गुराँस, रोडोडेन्ड्रोन ट्राइकोक्लाडुम, पहेलो गुराँस, खियाउने पाते गुराँस, हाँगिने गुराँस, बालिकको गुराँस, वाइटको गुराँस प्रजातिका गुराँसले टिएमजे क्षेत्र भरिएको छ। नेपालका अन्य क्षेत्रमा पाइने रोडोडेन्ड्रोन लोओनडेसी र रोडोडेन्ड्रोन कोवानिआनुम प्रजातिका गुराँस भने टिएमजे क्षेत्रमा पाइँदैनन।

प्रतिक्रिया

सम्बन्धित