वीपी प्रतिष्ठान स्वास्थ्य विमाका सम्पूर्ण सेवाहरु स्थगित

धरान / चैत १५ गतेदेखि वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानले स्वास्थ्य विमा कार्यक्रम अन्तर्गतको सम्पूर्ण सेवाहरु स्थगित गर्ने जानकारी गराएको छ । प्रतिष्ठानका उपकुलपति डा.ज्ञानेन्द्र गिरीले बुधबार एक सुचना जारी गर्दै स्वास्थ्य विमा गराएका विमित एवं सर्वसाधारणहरुलाई दिदै आएको ओपिडी, आकस्मिक र अन्तरंग (वार्ड) सेवाहरु अर्को सुचना नभएसम्मको लागि चैत १५ गतेदेखि स्थगित गरिएको जानकारी दिएका छन् । स्वास्थ्य विमा बोर्डबाट पाउनुपर्ने भुक्तानी रकम हालसम्म पनि उपलब्ध नभएपछि प्रतिष्ठानले यो सेवा स्थगित गर्ने निर्णय भएको प्रशासनले जनाएको छ।

२०७४ सालदेखि प्रतिष्ठानले स्वास्थ्य विमा कार्यक्रमको सेवा दिदै आएको थियो । त्यस बापत दाबी गरे अनुसारको सम्पूर्ण रकम शोधभर्ना उपलब्ध गराउन, स्वास्थ्य विमा कार्यक्रम सञ्चालन गर्दा देखिएको प्राविधिक तथा अन्य समस्याहरुको सहजीकरण गर्न बोर्ड र सरोकारवाला निकायलाई पटक पटक लिखित आग्रह गर्दा पनि समस्या समाधान हुन नसकेकोले प्रतिष्ठान आर्थिक संकटबाट गुज्रिएको डा.गिरीले बताएका छन् ।

प्रतिष्ठानले पछिल्लो समय फागुन १५ गते विमा बोर्डलाई पत्राचार गर्दै एक महिनाभित्र समस्या समाधान नभए सेवा बन्द गर्ने चेतावनी दिएको थियो । प्रत्येक पटक विमा बोर्डले दाबी गरे अनुसार शोधभर्ना नगरिदिदा बक्यौदा रहँदै साढे २६ करोड पुगेको छ । गत कार्तिक पछि भुक्तानी नै नदिएको प्रतिष्ठानले जनाएको छ । प्रतिष्ठानमा दैनिक एक हजार भन्दा बढी विमितहरु उपचारको लागि आउने गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित