बन्दीपुरको रामकोटमा सामुदायिक घरबास

तनहुँ / पर्यटकीय सम्भावना बोकेको बन्दीपुर गाउँपालिका–३ मा रामकोट सामुदायिक घरबास सञ्चालनमा ल्याइएको छ । मगर समुदायको बाहुल्यता रहेको रामकोट क्षेत्रलाई पर्यटकीयस्थलका रुपमा विकास गर्ने उद्देश्यले घरबास सञ्चालनमा ल्याइएको हो । उक्त क्षेत्रमा रहेका करिब १०० घरधुरी मगर जातिको बसोबास रहेको छ । पहिलो चरणमा करिब ३० घरधुरीमा घरबासको व्यवस्था मिलाइएको घरबास सञ्चालक समिति अध्यक्ष बिहीसरा आले थापाले जानकारी दिएका छन् ।

घरबासमा अहिले कम्तीमा ४५ जनासम्म पाहुना राख्नसक्ने क्षमताको रहेको र बिस्तारै क्षमता वृद्धि गर्दै लैजाने योजना रहेको उनले बताए । घरबास प्रवद्र्धनका लागि गण्डकी प्रदेश सरकारबाट प्राप्त रु २० लाखमध्ये अव्यवस्थित बाटोलाई व्यवस्थित गर्ने काम गरिएको छ । उनले भने, “सामुदायिक भवन नभएकाले अब भवन निर्माण गर्ने योजना बनाएका छौँ ।”

घरबासमा स्थानीयस्तरमा उत्पादित वस्तुलाई प्राथमिकता दिइने बताइएको छ । स्थानीयस्तरमा उत्पादित साग, गुन्दु्रक, मकै, बाराका साथै घरबासमा आउने पाहुनलाई मगर समुदायको कलासंस्कृति प्रदर्शन गरी भरपुर मनोरञ्जन प्रदान गर्ने लक्ष्य रहेको घरबास सञ्चालक बताउँछन् । स्थानीयवासीलाई आर्थिक क्षेत्रमा सबल बनाउने उद्देश्यले पशुपालन र तरकारीखेतीलाई बढावा दिने योजना बनाइएको छ । घरबासमा प्याकेजमा खाजा, खाना, बास बस्न र बिहानको खाजासहित रु एक हजार शुल्क तय गरिएको घरबास सञ्चालक समिति सचिव कृष्णमाया थापाले बताइन।

समूहमा आएका पाहुनाले मगर समुदायको कलासंस्कृति प्रस्तुति र प्रदर्शन गरेको हेर्न चाहेमा रु तीन हजार थप शुल्क कायम गरिएको छ । उक्त घरबासकोे शनिबार गण्डकी प्रदेशका पूर्वआन्तरिक मामिला तथा कानूनमन्त्री हरिबहादुर चुमानले उद्घाटन गर्नुभएको हो । मुख्यमन्त्री जैविक नमूना गाउँका लागि रु ७० लाख र प्रदेश सरकारबाट घरबास प्रवद्र्धनका लागि रु १५ लाख बजेट विनियोजन गरिएको गाउँपालिका अध्यक्ष पूर्णसिं थापाले बताउनुभयो । स्थानीयवासीलाई स्वरोजगार बनाउन घरबासले थप सहयोग पुग्ने विश्वास गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित