विद्यार्थीद्वारा क्याम्पसको जग्गा संरक्षण गर्न नगर प्रमुखलाई आग्रह

पथरी / मोरङको पथरीशनिश्चरेस्थित पथरी बहुमुखी क्याम्पसको जग्गा टुक्राएर बाटो बनाउन खोजेको भन्दै ५ विद्यार्थी संगठनले रोकेका छन् । क्याम्पस हाताभित्र रहेको जग्गामा बाटो खोल्न खोजेपछि विवाद उत्पन्न भएको थियो । पथरीशनिश्चरे नगरपालिका वडा नं. १ मा रहेको जोरधारा चौक र सम्झना बस्ती जोड्ने द्रुत मार्ग खोल्ने क्रममा विवाद सृजना भएको हो । विवादपछि तत्कालै नगर प्रमुख दीलिपकुमार राईलाई ५ विद्यार्थी संगठनले संयुक्त विज्ञप्तिसमेत बुझाएका छन् ।

बहुमुखी क्याम्पसका विद्यार्थी संगठनहरु नेपाल विद्यार्थी संघ, अखिल क्रान्तिकारी, अनेरास्ववियु (समाजवादी), लिम्बू विद्यार्थी मञ्च, र किराँत राई विद्यार्थी संघले संयूक्त विज्ञप्तिमार्फत् क्याम्पसको संरक्षणका लागि विद्यार्थी संगठनहरु चुप लागेर हात बाँधेर नबस्ने चेतावनी दिएका छन् ।

बाटोको निकासका लागि २०७८ माघ ५ गते पथरीशनिश्चरे नगरपालिकाका प्रमुख दीलिपकुमार राईको समन्वयमा बैठक बसेको थियो । उक्त बैठकमा सरोकारवाला पक्षहरुबीच सहमति जुट्न सकेको थिएन । क्याम्पस सञ्चालक समिति, क्याम्पस प्रशासन, विद्यार्थी संगठन र उपभोक्ता समितिका बीचमा सहमति निकाल्न बसेको बैठकमा उपभोक्ताहरुले आक्रामक शैलीमा हुलहुज्जत गर्दै क्याम्पस सञ्चालक समितिका र प्रतिनिधिमाथि दबाब सिर्जना गरेको विज्ञप्तिमा उल्लेख छ ।

क्याम्पस सञ्चालक समितिका अध्यक्ष र प्रतिनिधिमाथि दबाब सिर्जना गर्दै जबरजस्ती बाटो बनाउँछौ भन्ने भनाइप्रति विद्यार्थी संगठनले खेद प्रकट गरेको छ । सुखद जनजीवनका लागि बाटो अत्यावश्यक रहेको र त्यसमा कसैलाई बञ्चित गर्न नहुने उल्लेख गर्दै क्याम्पसको केही जग्गालाई छुट्टयाएर बीचबाट बाटो खोल्ने कुरा कुनै पनि हालतमा सम्भव नरहेको विज्ञप्तिमा उल्लेख छ ।

सार्वजनीक सम्पत्ति क्याम्पसको जग्गा जोगाएर पश्चिम तर्फबाट बाटो खोल्न सम्बन्धित उपभोक्तालाई अनुरोध गर्दै नगरपालिकालाई सोहीअनुसार गराउन विद्यार्थी संगठनले माग गरेको छ ।

उपभोक्ताले सहमति नखोजी आक्रामक तरिकाले बाटो बनाउन लागे विद्यार्थी संगठन क्याम्पसको संरक्षणका लागि प्रतिरक्षामा उत्रने नेताहरुले चेतावनी दिएका छन् ।

प्रतिक्रिया

सम्बन्धित