केएमसीको शिविरबाट बनेपाका ११ सय विरामीको निःशुल्क उपचार

काभ्रे / काभ्रेको बनेपा नगरपालिकामा मंगलबार आयोजित निःशुल्क स्वास्थ्य शिविरमा ११ सय भन्दा बढी विरामीको निःशुल्क स्वास्थ्य परीक्षण गरिएको छ । बनेपा नगरपालिका वडा नं.७ सँग सहकार्य गरेर काठमाडौंको सिनामंगलस्थित काठमाडौंं मेडिकल कलेजले स्थानीय वाइलर इन्टरनेशनल एकेडेमीमा एक दिने शिविर सञ्चालन गरेको हो ।

शिविरमा १ हजार १ सय ५३ जना विरामीको निःशुल्क स्वास्थ्य परीक्षण गरिएको केएमसीका जेनेरल मेनेजर नारायण दाहालले जानकारी दिए । शिविरमा उपचारका क्रममा २१३ जनाको रक्त परीक्षण, १६४ जनाई मुटुको जाँच (इसीजी) र ११७ जनाको भिडियो एक्सरे गरिएको छ । त्यस्तै, दाँतमा समस्या भएका ३१ जनाको दाँत उखेलिएको छ ।

यता, शिविरमा उपचार सम्भव नभई अप्रेशन गर्नुपर्ने अवस्थाका ४२ जना विरामीलाई अस्पताल रेफर गरिएको छ । यसअघि केएमसीले काभ्रेको धुलिखेलमा पनि निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको थियो । शिविरबाट १ हजार १ सय ६५ विरामी लाभान्वित भएका थिए ।

पूर्वी नेपालको प्रतिष्ठित नोबेल शिक्षण अस्पतालका सञ्चालक डा.सुनिल शर्माले केएमसी अध्यक्षको जिम्मेवारी सम्हालेपछि गत बर्षदेखि नै केएमसीले बिभिन्न स्थानमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्दै आएको छ । शिविरबाट हजारौं विरामीले उपचार पाएका छन् । ग्रामिण क्षेत्रका बिपन्न विरामीलाई लक्षित गरेर स्वास्थ्य शिविर सञ्चालनलाई निरन्तरता दिइने केएमसीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित