औलो निवारणमा चुनौती, कञ्चनपुरमा भेटिए १७ जना बिरामी

कञ्चनपुर / सरकारले सन् २०२५ सम्म औलो (मलेरिया) निवारण गर्ने लक्ष्य लिए पनि औलो निवारणमा अझै चुनौती देखिएको छ । सन् २०२५ मा औलो निवारण गर्न सरकारले सन् २०२२ भित्र स्थानीय जातको औंलो शून्यमा झार्ने लक्ष्य लिएको थियो । तर कञ्चनपुरमा भने चार महिनाको अवधिमा १७ जना बिरामीमा मलेरिया रोग देखापरेका छन् ।

उनीहरूमध्ये दुई जनामा स्थानीय जातको मलेरिया देखिएको छ भने १५ जना भारतबाट आएका हुन् । कञ्चनपुरमा हाल प्लाज्मोडियम विवक्स र प्लाज्मोडियम फाल्सिपेरम जातका मलेरियाका बिरामी देखापरेका छन् । जसमध्ये भारतबाट आएका तीन जनामा प्लाज्मोडियम फाल्सिपेरम जातको मलेरिया देखिएको जिल्ला स्वास्थ्य कार्यालय कञ्चनपुरका स्वास्थ्य औलो निरीक्षक सिद्धराज भट्टले जानकारी दिए ।

उनले औलो निवारणका लागि अहिले लामखुट्टे समातेर ल्याबमा जाँच गर्ने काम भइरहेको बताए । स्वास्थ्य कार्यालयको तथ्यांकअनुसार गत आर्थिक वर्षमा कञ्चनपुरमा ४७ जनामा मलेरिया रोग देखिएको थियो । जसमध्ये १६ जनामा स्थानीय जातको मलेरिया देखिएको थियो । आर्थिक वर्ष २०७६/७७ मा ११३ जना मलेरियाका बिरामी भेटिएका थिए । जसमध्ये २४ जनामा स्थानीय जातको मलेरिया देखिएको थियो भने ८४ जना बिरामी भारतबाट आएका थिए ।
भारतसँग खुला सीमानाका तथा कञ्चनपुरमा समेत मलेरिया सार्ने खालको लामखुट्टे प्रशस्त भेटिएकाले औंलो निवारणमा थप चुनौती देखिएको औलो निरीक्षक भट्टले बताए ।

प्रतिक्रिया

सम्बन्धित