पढाइ नभएको भन्दै विद्यार्थीले लगाय विद्यालयमा ताला

अर्घाखाँची / अर्घाखाँचीको शितगंगा नगरपालिका-११ ढुङ्गेसेरामा रहेको धर्मोदय माविका विद्यार्थीहरूले पठनपाठन नभएको भन्दै तालाबन्दी गरेका छन् । लामो समय कोरोना महामारीका कारण बन्द रहेको विद्यालयमा खुलेपछि पनि शिक्षकहरूको कमिले पठनपाठन नभएको विद्यार्थीले गुनासो गरेका छन् ।

विद्यालयमा शिक्षक नियुक्तिमा ढिलाइ भएकाले पढाई नभएको भन्दै विद्यार्थीले तालाबन्दी गरेका हुन् । धर्मोदय माध्यमिक विद्यालयमा कक्षा ७ मा अध्ययनरत विद्यार्थीले रिक्त दरबन्दीमा तत्काल शिक्षक पदपूर्तिको माग राख्दै विद्यालय बन्द गराएको स्थानीय बोमबहादुर विकले जानकारी दिए । विद्यार्थीले पटक-पटक विद्यालयमा शिक्षकको माग र पढाइ निरन्तरताका लागि अनुरोध गरे पनि विद्यालय प्रशासनले बेवास्ता गर्ने गरेको विद्यार्थीको भनाइ छ । शिक्षक नियुक्तिका लागी नगरपालिका हुँदै शिक्षा विकास समन्वय समिति अर्घाखाँचीमा करारमा शिक्षक नियुक्तिका लागी समर्थन गरी विज्ञापन गरी सकेको छ ।

विद्यालय प्रशासनले शिक्षक छनौट परीक्षा सञ्चालनका लागि शितगंगा नगरपालिकाको शिक्षा शाखामा पटक–पटक अनुरोध गर्दा पनि कुनै चासो नदेखाएको विद्यालयका प्रअ इन्द्रबहादुर रजालीले गुनासो गरे । शितगंगा नगरपालिकाले गत असारमा शिक्षकको लागि आवेदन माग गरे पनि अहिलेसम्म परीक्षा नगराएकोले शिक्षकको अपुग भएको प्रअ रजालीले बताए । दुई वटा पद विद्यालयमा रिक्त रहेको भए पनि एउटामा विज्ञापन गरेको अर्को शिक्षक सरुवा गरेर ल्याउने भन्दै विद्यालयले नै रोकेको शितगंगा नगरपालिकाका शिक्षा शाखा प्रमुख नगेन्द्र नेपालले बताए । विद्यालयमा तिहारसम्ममा वैकल्पिक माध्यमबाट अध्ययन गराउन भनेको र अब सबैभन्दा पहिला उक्त विद्यालयमा परीक्षा गराउने शिक्षा अधिकृत नेपालले बताए ।

निमावि मात्र सञ्चालन भएको विद्यालयमा केही वर्षअघि स्थानीयहरूको पहलमै मावि सञ्चालन गरे पनि शिक्षकको कमी हुँदा पठनपाठन प्रभावित भएको छ । मावि सञ्चालन भए पनि विद्यालयमा अधिकांश शिक्षकहरू आधारभूत तहका मात्र रहेका छन् । यता नगरपालिकाको शिक्षा विभागसमेत हेर्ने सामाजिक विकास शाखा संयोजक पवित्रा थापाले पटक-पटक नगरपालिकामा परीक्षा गराउन दबाब दिए पनि सुनुवाइ नभएको गुनासो गरिन् । नगरपालिका भरिनै उक्त समस्या रहेको थापाले बताइन् । शिक्षा शाखामा कुरा राख्दा नगरपालिकाबाट रोकिएको बताउने नगर प्रमुख, उपप्रमुखले शिक्षा शाखाले नगरेको बताउने गरेको थापाले बताइन् ।

केही महिनाअघि विज्ञापन गरेका करिब १५ विद्यालयमा शिक्षकको परीक्षा नगराउँदा विद्यालयमा शिक्षकको कमी भएको छ । शितगंगा नगरपालिकामा प्रारम्भिक बालविकास केन्द्रसमेत १०७ वटा रहेका छन् । प्रत्येक केन्द्रमा एक जना सहजकर्ता नगरपालिकाले व्यवस्था गरेको छ । जसबाट १३४० जना बालबालिका लाभान्वित भएको नगरले जनाएको छ ।

शितगंगा नगरपालिकामा १०९ सामुदायिक विद्यालय र ६ संस्थागत विद्यालय रहेका छन् । विद्यालयमा शिक्षकको कमी हुने गरेको छ प्राथमिक तहमा ३४०, निमावितर्फ ५७, मावितर्फ ४१, उच्च मावितर्फ ४ जना र बालविकासतर्फ १०७, विद्यालय सहयोगी १०८ र विद्यालय सहायक १२ गरी ६७९ जना विद्यालयमा जनशक्ति रहेको छ । शितगंगा नगरपालिकामा ५४७८ छात्रा र ५६९० छात्र हाल अध्ययनरत छन् ।

प्रतिक्रिया

सम्बन्धित