ललितपुरको गोदावारीमा केएमसीको नि:शुल्क स्वास्थ्य शिविर, उर्जा मन्त्री भुसालले गरिन् उद्घाटन

ललितपुर / बिभिन्न जिल्लाका गाउँ–गाउँमा नि:शुल्क स्वास्थ्य शिविर सञ्चालन गर्दै आएको काठमाडौंको सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजले ललितपुरको गोदावारीमा स्वास्थ्य शिविर सञ्चालन गरेको छ । गोदावारी नगरपालिका–१२ नं. वडा कार्यालयसँग सहकार्य गरेर स्थानीय ठेचोस्थित लिट्टिल स्टार इङ्लिस स्कूलमा नि:शुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको हो ।

उर्जा तथा जलस्रोत मन्त्री पम्फा भुसालले एक कार्यक्रमकाबीच शिविर उद्घाटन गरेकी छन् । शिविर उद्घाटन गर्दै मन्त्री भुषालले नि:शुल्क स्वास्थ्य शिविर सञ्चालन गर्दा विपन्न वर्गका बिरामीहरुलाई धेरै फाइदा पुग्ने भन्दै शिविर आयोजकहरुलाई धन्यवाद दिइन् । कार्यक्रममा सांसद राजकाजी महर्जन, गोदावारी नगरपालिकाका मेयर गजेन्द्र महर्जन, गोदावारी नगरपालिका १२ का वडाध्यक्ष जगत बहादुर महर्जन, केएमसीका प्रमुख सल्लाहकार डा.केपी शर्मा, केएमसीका जेनेरल मेनेजर नारायण दाहाल लगायतले नि:शुल्क स्वास्थ्य शिविरबाट गरिब तथा विपन्न बिरामीले भरपुर फाइदा लिन सक्ने धारणा राखे ।

शिविरमा १ हजार ५ सय ८७ बिरामीको नि:शुल्क स्वास्थ्य परीक्षण गरिएको केएमसीका जेनेरल मेनेजर दाहालले जानकारी दिए । शिविरमा ३१४ जनाको रक्त परीक्षण, २२१ जनाको भिडियो एक्सरे र १९८ जनाको मुटुको जाँच (इसीजी) गरिएको छ । गाउँ–गाउँबाट बिरामीहरु उपचारका लागि शिविरमा आएका थिए । केएमसीका विशेषज्ञ डाक्टरहरुले बिरामीहरुको स्वास्थ्य परीक्षण गरेका हुन् ।

केएमसीले यसअघि भक्तपुरको दुवाकोट र रामेछापको सुनापातीमा पनि नि:शुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको थियो । दुवाकोटको शिविरमा १ हजार ६ सय ६२ र रामेछापको शिविरमा १ हजार १ सय ६५ बिरामीको नि:शुल्क स्वास्थ्य परीक्षण गरिएको थियो । डा.सुनिल शर्माले केएमसी अध्यक्षको जिम्मेवारी सम्हालेपछि केएमसीले बिभिन्न जिल्लामा नि:शुल्क स्वास्थ्य शिविर सञ्चालन गर्दै आएको छ । विपन्न बिरामीलाई लक्षित गरेर नि:शुल्क स्वास्थ्य शिविर सञ्चालनलाई निरन्तरता दिइने केएमसी अध्यक्ष डा.शर्मा बताउँछन् ।

प्रतिक्रिया

सम्बन्धित