लोहन्द्रा खोलामा भेटियो अनौठो प्रजातिको माछा

मोरङ । मोरङको धनपालथान गाउँपालिकाको दादरबेरियास्थित लोहोन्द्रा खोलामा अनौठो प्रजातिको माछा भेटिएको छ । अमेरिकाको रैथाने माछा ‘सकरमाउथ क्याट फिस’ पहिलो पटक मोरङमा फेला परेको हो । वैज्ञानिक नाम ‘हाइपोस्टोमस प्लेस्कोटोमस’ रहेको यो माछा लगभग ५ सय ग्राम तौलको रहेको मोरङ डिभिजन वन कार्यालयका अधिकृत परमेश्वर पासवानले बताए । स्थानीयले माछा मार्नेक्रममा गत बुधबार दिउँसो यो माछा भेटेका थिए ।

पानीबाहिर राखेर बचाउन नसकिने भएपछि पुनः लगेर स्थानीयले खोलामै छाडिदिएको जानकारी पासवानले दिए । उनका अनुसार अमेरिकाको रैथाने प्रजातिमा पर्ने यो माछा नेपालमा सहजै पाइँदैनथ्यो । कसरी यो माछा नेपालमा भेटियो भन्नेबारे अध्ययन थालिएको उनको भनाइ छ । उनले नयाँ प्रजातिको माछा मोरङमा पहिलो र नेपालमा भने दोस्रो पटक भेटिएको बताए ।
पहिलो पटक सन् २०१८ मे १२ मा धनुषाका हेमनारायण यादवको पोखरीमा भेटिएको थियो । खान अयोग्य मानिने यो माछालाई पछिल्लो समय केही मुलुकले एकोरियममा सजावटका लागि लैजाने गरेको पाइएको छ । पासवानका अनुसार सजावटका लागि सन् १९९० मा एसिया, युरोप, चीन र बंगलादेशले यो माछा भित्र्याएको पाइन्छ ।

अन्तर्राष्ट्रिय प्रकृति संरक्षण सङ्घ (आइयुसियन) ले भने सङ्कटापन्न जीवको सूचीमा राखेको यो माछा सजावटका लागि लगिएपछि चीनका नदीमा फैलिएको माछाविज्ञ बताउँछन् । वन अधिकृत पासवानका अनुसार नेपालमा यसलाई मिचाहा प्रजातिको माछा भनेर पनि चिनिन्छ । नेपालमा पाइने अरू रैथाने माछालाई खाइदिने र शरीरमा भएका काँडाले हानेर मारिदिने तथा यसले नदीप्रणालीमै ठूलो असर गर्ने उनले बताए ।

जसको असरले नेपालका नदीमा पाइने रैथाने माछा नै लोप हुने खतरा रहने विज्ञको भनाइ छ । पासवानका अनुसार मिचाहा प्रजातिकै भएका कारण यसले रैथानेको बासस्थान, प्रजनन् र विकासलाई धेरै ठूलो असर गर्छ ।

यसले आफ्नो सङ्ख्या बढाउने र अरू रैथाने माछाको बासस्थानसमेत नष्ट गरिदिने माछाविज्ञ दीपनारायण साहको भनाइ छ । उनका अनुसार नेपालमा पाइने स्थानीय प्रजातिका माछाका लागि यो ठूलो शत्रु हो । नेपालको नदीमा देखापर्नु भनेको रैथाने प्रजातिका लागि निकै हानिकारक एवम् खतरनाक मानिने साहले बताए । उनका अनुसार पानीभित्रको जमिन मुखले जोतिरहने यो माछाको बानी हुन्छ । मुखले जोतेर नेपालका नदीमा पाइने रैथाने माछाका लागि आवश्यक पानीभित्रीको घाँस (वनस्पति) नष्ट गरिदिने जानकारी साहले दिए । ‘यो माछा नदी प्रणाली नै नष्ट गरिदिने प्रजातिको हो । पानीको भौतिक र रासायनिक गुणसमेत परिवर्तन गरिदिन्छ,’ उनी भन्छन्, ‘उपयुक्त वातावरण नै नष्ट हुने भएपछि रैथाने माछाको सङ्ख्या पनि बढ्दैन । रैथाने माछा लोप भएर जान्छन् ।’

प्रतिक्रिया

सम्बन्धित