‘गिनिज बुक’मा नाम लेखाउँदै ११९ वर्षीय बाटुली लामिछाने

सम्भवतः विश्वकै ज्येष्ठ नागरिकका रुपमा रहेकी ११९ वर्षीय सर्वज्येष्ठ नागरिक बाटुली लामिछानेको नाम ‘गिनिज बुक अफ वल्र्ड रेकर्ड’ मा दर्ज गराउने अन्तिम तयारी भएको छ ।
लामिछाने विश्वकै ज्येष्ठ नागरिक भएको उनको स्वास्थ्य परीक्षणबाट पनि पुष्टि भइसकेको छ । हालसम्म विश्वमा ११८ वर्षीय जापानी नागरिक काने तानाकाको नाममा उक्त रेकर्ड देखिएको छ । तानाकाभन्दा जेठी लामिछानेलाई नेपालले अभिलेखीकरणको प्रक्रियामा ढिलाइ गरेकाले उक्त विश्व पहिचान प्राप्तिमा ढिलाइ भएको हो ।

नुवाकोटको ककनी गाउँपालिका–८ थानसिंह निवासी छविलालकी श्रीमती लामिछानेको आवासका लागि बाटुली लामिछाने फाउण्डेशनले निर्माण गरेको बाला भवन बिहीबार हस्तान्तरण कार्यक्रममा यी हजुरआमालाई ह्विलचियरमा राखेर मञ्चमा लगिएको थियो । उनी झण्डै पाँच घण्टासम्म एकै ठाउँमा रहेर अरुले लगाइदिएको खादा, दोसल्ला ओढेर बसिन् र सहभागीको आकर्षणको केन्द्र भइरहिन् ।

लामिछानेका ८१ वर्षीय छोरा नेत्रप्रसाद लामिछाने रातिको समयमा आमालाई पिसाब आउँदा उठेर हिँड्न पनि सक्ने र त्यसक्रममा लड्नसक्ने भएकाले एक जनाले नियमित रेखदेखको काम गर्ने गरेको बताउँछन् । बुहारी ईश्वरी लामिछानेका अनुसार सासुआमालाई हालसम्म कुनै गम्भीर रोग नभएकाले उपचारका लागि अस्पताल लैजान नपरे पनि पछिल्लो समयमा कहिलेकाहीँ ज्वरो आउने भएकाले औषधि खुवाउने गरिएको छ ।

सिन्धुपाल्चोकको मेलम्ची नगरपालिकास्थित गिरानचौरमा विसं १९५९ चैत १० गते आमा देवीकुमारी तिवारी र जयनारायण तिवारीको कोखबाट जन्मिएकी उनलाई विसं २०७० वैशाख २४ गते जिल्ला प्रशासन कार्यालयबाट खटिएको टोलीले घरमै आएर नागरिकता दिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित