ताप्लेजुङ बन्यो कोरोना संक्रमणमुक्त जिल्ला

ताप्लेजुङ / ताप्लेजुङ कोरोना भाइरस (कोभिड–१९) संक्रमणमुक्त जिल्ला भएको छ । पछिल्लो पटक संक्रमित भई होमआइसोलेसनमा बसेका पाथीभरा याङ्कवरक गाउँपालिकाका पाँच जनाको एन्टिजेन रिपोर्ट नेगेटिभ आएसँगै ताप्लेजुङ संक्रमणमुक्त जिल्ला भएको हो ।

जिल्ला प्रशासन कार्यालय ताप्लेजुङका अनुसार सोमबार बिहान पाँच जना संक्रमितको रिपोर्ट नेगेटिभ आएको छ । सहायक प्रमुख जिल्ला अधिकारी गायत्रा अधिकारी खड्काका अनुसार बाँकी रहेको पाथीभरा याङ्वरक गाउँपालिका संक्रमणमुक्त भएपछि सोमबारदेखि ताप्लेजुङ नै संक्रमणमुक्त जिल्ला बनेको हो । जिल्लाको नौ स्थानीय तहमा पाथीभरा याङ्वरक गाउँपालिकाबाहेक अन्य सबै पालिका यसअघि नै संक्रमणमुक्त भइसकेका थिए ।

कोभिड–१९ को दोस्रो चरण सुरु भएपछि ताप्लेजुङमा दुई हजार ५३१ जना संक्रमित भएका पनि सहायक प्रजिअ अधिकारी खड्काले जानकारी दिइन् । उक्त संख्यामध्ये सबैभन्दा बढी सदरमुकामस्थित जिल्ला अस्पतालमा गरिएको कोरोना परीक्षणमार्फत ५८५ जनामा संक्रमण पुष्टि भएको थियो । यसपछि फुङ्लिङ नगरपालिकामा ५५६ जना संक्रमित भएका थिए । सबैभन्दा कम मिक्वाखोला गाउँपालिकामा ४७ जना संक्रमित भएका थिए ।

यता कोभिड संक्रमणका कारण जिल्लाभित्र १६ जनाको मृत्यु भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । प्रशासन कार्यालयका अनुसार पीसीआर विधिबाट दुई हजार २८८ र एन्टिजेन विधिमार्फत आठ हजारी गरी कूल १० हजार २८८ जनाको स्वास्थ्य परीक्षण गरिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित