इलाममा कृषि क्याम्पस स्थापना हुँदै

इलाम /  दक्ष कृषि प्राविधिक उत्पादन गर्ने उद्देश्यले इलाममा सामुदायिक कृषि क्याम्पस स्थापना हुँदैछ । इलाम नगरपालिकाले सञ्चालन गर्न लागेको सामुदायिक कृषि क्याम्पस स्थापनाको काम तीव्र पारिएको छ ।

यही वर्षदेखि कृषि क्याम्पस सञ्चालनको लागि प्राध्यापक भर्ना प्रक्रिया सुरु भएको छ भने कक्षा कोठाको व्यवस्थापन भइरहेको क्याम्पस सञ्चालक समितिको अध्यक्ष जसबहादुर लुङ्गेलीले बताए ।

इलाम नगरपालिका ९ शेरास्थित बसपार्कको भवनलाई मर्मत गरेर कक्षा कोठा बनाइँदै गरेको लुङ्गेलीले जानकरी दिए । पूर्वाञ्चल विश्वविद्यालयमा सम्बन्धन लिइने र त्यसको प्रक्रिया अन्तिम चरणमा पुगेको छ । ‘दशैँपछि सम्ममा सम्बन्धको प्रक्रिया टुङ्गिन्छ’, लुङ्गेलीले भने, ‘पूर्वाञ्चल विश्वविद्यालयले सामुदायिक कृषि क्याम्पसलाई सम्बन्धन दिने पक्कापक्की जस्तै छ ।’

इलाम नगरपालिकाअन्तर्गत हुने सामुदायिक क्याम्पस निजी क्याम्पसको तुलनामा सस्तो हुनेछ । आठ सेमेस्टरको चार वर्षे कोर्स चार लाख रुपैयाँमा पुरा हुनेछ । अहिले निजी क्याम्पसमा बिएस्सीएजीको कोर्स पुरा गर्न १३ लाख रूपैयाँसम्म लाग्छ । सरकारी क्याम्पसले भने तीन लाख ५० हजारसम्ममा पढाउँछन् ।

इलाममा सञ्चालन हुने सामुदायिक क्याम्पस सरकारी क्याम्पसको तुलनामा थोरै महँगो भए पनि पठन पाठन भने गुणस्तरीय हुने क्याम्पस सञ्चालक समितिका अध्यक्ष जसबहादुर लुङ्गेलीले बताए ।

पहिलो सेमेस्टरको लागि ४० जना विद्यार्थीले भर्ना पाउनेछन् । चार वर्षपछि पूर्ण रूपमा क्याम्पस सञ्चालन हुँदा एक सय ६० विद्यार्थी हुनेछन् । विज्ञान विषय लिई प्लसटु उत्तीर्ण गरेका विद्यार्थी, आइएस्सी गरेकाहरू, सिटिइभिटिईमा कृषि विषय अध्ययन गरेका विद्यार्थीले सामुदायिक क्याम्पसमा बिएस्सी एजी पढ्न पाउनेछन् । कक्षा १२ को नतिजा प्रकाशित भएपछि क्याम्पसले भर्ना प्रक्रिया सुरु हुनेछ ।

क्याम्पस स्थापनाको सबै खर्च इलाम नगरपालिकाले व्यहोर्ने छ । क्याम्पस स्थापनाको लागि इलाम नगरपालिकाले चालु वर्षमा २५ लाख रुपैयाँ विनियोजन गरेको छ । अहिले सोही बजेटबाट संरचना तयार भइरहेको हो । नगरपालिकाले प्रत्येक वडामा दश जना कृषि प्राविधिक उत्पादन गर्ने नीति पारित गरेको छ । त्यसकै कार्यान्वयनको लागि प्राविधिक क्याम्पस स्थापना हुँदै गरेको कार्यपालिकाका प्रवक्ता ठाकुर नारायण श्रेष्ठले बताए ।

इलाम नगरपालिकाले सामुदायिक कृषि क्याम्पस स्थापना गर्न महेन्द्ररत्न बहुमुखी क्याम्पसका पूर्व क्याम्पस प्रमुख जसबहादुर लुङ्गेलीको अध्यक्षतामा १३ सदस्य सञ्चालक समिति गठन गरेर क्याम्पस स्थापनाको प्रक्रिया अघि बढाएको थियो । सामुदायिक कृषि क्याम्पसमा बाली विज्ञान, मत्स्य, पशुविज्ञान र हर्टिकल्चर गरी चारवटा संकायमा अध्ययन अध्यापन हुनेछ ।

प्रतिक्रिया

सम्बन्धित