धार्मिक तथा पर्यटकीय सम्भावना बोकेको ‘धनकुटाको पशुपतिनाथ’

धनकुटा / धनकुटा नगरपालिका- २ भीरगाउँमा रहेको मधुगंगा महादेव धामलाई धार्मिक तथा पर्यटकीय स्थलको रूपमा विकासका लागि पूर्वाधार निर्माण सुरु गरिएको छ । संघीय सरकारको तीन करोड ७० लाख रुपैयाँको लागतमा मधुगंगा मन्दिरमा पूर्वाधार निर्माणको काम सुरु गरिएको हो ।

धनकुटा नगरपालिकाले मधुगंगा धामको विकासका लागि यसअघि नै १५ लाख रुपैयाँ खर्च गरेर डीपिआर तयार पारेको थियो । पूर्वाधार निर्माणका लागि सात करोड रुपैयाँ बजेट विनियोजन भए पनि थेगिमसिंह जेभीले तीन करोड ७० लाख रुपैयाँमा ठेक्का पाएको छ ।

धाममा साना-ठूला गरी ८७ वटा संरचना निर्माण गरिने धनकुटा नगरपालिका- २ का वडा अध्यक्ष चन्द्रलाल तामाङले बताए । उनका अनुसार धाममा प्राकृतिक सिँढी, पूजा तथा होम गर्ने ठाउँ, पोखरी, शिव मन्दिर, नौवटा ढुंगेधारा, व्यापारिक भवन, सडक, शौचालय, पुजारी घर निर्माण गरिनेछ ।

पूर्वाधार निर्माणको शिलान्यास प्रतिनिधिसभा सदस्य राजेन्द्रकुमार राईले गरेका छन् । शिलान्यास गर्दै राईले मधुगंगा प्रदेश १ कै आस्थाको केन्द्र रहेकाले धार्मिक तथा पर्यटकीय स्थलका रूपमा विकास गर्न लागिएको बताए । निर्माण कम्पनी थेगिमसिंह जेभीले आगामी २०८० असार मसान्तसम्ममा निर्माण सम्मन्न गर्ने गरी जिम्मा पाएको छ ।

सरकारी कार्यालय र स्थानीयको सहयोग भएमा समयमै काम सम्पन्न गर्न समस्या नहुने निर्माण कम्पनीका संचालक रणधीर तुम्बाले बताए । समय समयमा भुक्तानी भएमा काम गर्न कुनै समस्या नरहेको उनको भनाइ छ ।

यस्तो छ इतिहास

धनकुटाकै ऐतिहासिक धाममा हरेक वर्ष मंसिरे पूर्णिमामा पाँच दिन मेला लाग्ने गर्छ भने साउन र माघे संक्रान्तिमा पनि भक्तजनको घुइँचो हुने गरेको छ । यस धाममा ६० फिट अग्लो झरनासँगै करिब ६० फिट लामो प्राकृतिक गुफा रहेको छ । पौराणिककालमा मधु र गंगा दुई जना आएर महादेवको खोजी गरेपछि महादेव प्रकट भएको कथा पाइन्छ ।

त्यसपछि त्यहाँको पुजारीका लागि धेरैले इच्छा देखाए पनि ती मधु र गंगाले अलिक पर रहेका एक जना राई थरका मानिसलाई पुजारी बनाएको कथन रहेको पुजारी जमानध्वज राई बताउँछन् । राईका अनुसार हालसम्म तिनै पुजारीका पुस्ता नै यस धामको पुजारी भएका छन् ।

राईले आफूले धामको पुजारी भएर काम गरेको ४४ वर्ष भएको बताए । यस ठाउँमा पूर्वाधार निर्माण भएपछि सहज हुने उनको भनाइ छ । धाममा प्रदेश १ का सबै जिल्लासहित देशका अधिकांश जिल्ला र भारतका समेत भक्तजन आउने गरेको पुजारी राईले बताए । मंसिरे पूर्णिमामा मंसिरमा भए निकै र पुसमा भए अलिक कम भक्तजन आउने गरेको राईले जानकारी दिए ।

उचित प्रचारप्रसार र पूर्वाधार निर्माण नहुँदा ओझेलमा

प्रचारप्रसारकै आभावमा जिल्लाको सदरमुकाम नजिकै रहेको महत्त्वपूर्ण धार्मिक पर्यटकीय स्थल मधुगंगा ओझेलमा परेको स्थानीय मदन थापाको भनाइ छ । यस ठाउँलाई कसैकसैले धनकुटाको पशुपतिनाथ भन्ने गरेका पनि पाइन्छ ।

यस स्थानका बारेमा जानकारी भएकाहरू पितृ श्राद्ध र विभिन्न धार्मिक कार्यक्रम गर्न आउने गरेका छन् । यस स्थानलाई धार्मिक पर्यटकीय स्थलको रूपमा पनि विकास गर्न थालिएको प्रयासले सार्थकता पाए सुनमा सुगन्ध थपिने अर्का स्थानीय अशोक राईले बताए । पर्यटन क्षेत्र विकास र पूर्वाधार निर्माणका लागि काम सुरु भएपछि खुसीको सीमा नै नरहेको राईको भनाइ छ ।

मधुगंगा पुग्ने पर्यटकहरूको सुविधाका लागि नगरपालिकाले काम गर्नुपर्ने राई बताउँछन् । पर्यटकहरूलाई बास बस्न समस्या हुने गरेको उनको भनाइ छ ।

डीपीआरअनुसारको काम हेरेर धनकुटा नगपालिकाले थप काम गर्ने धनकुटा नगरपालिकाका प्रमुख चिन्तन तामाङले बताए । उनले काम कस्तो भइरहेको छ भनेर स्थानीयले नियमित अनुगमन गर्नुपर्ने र आफूहरूले हरपल सहयोग गर्ने प्रतिबद्धता जनाए ।

प्रतिक्रिया

सम्बन्धित