टिएमजे क्षेत्रमा पर्यटन व्यवसाय तंग्रिँदै

तेह्रथुम / कोरोनाभाइरस संक्रमणका कारण चौपट बनेको टिएमजेको पर्यटन व्यवसाय पुनः लयमा फर्किन थालेको छ । तेह्रथुम, संखुवासभा र ताप्लेजुङको सिमानामा पर्ने तिजजुरे–मिल्के–जलजले (टिएमजे) क्षेत्र परिचित पर्यटकीय गन्तव्य हो । प्राकृतिक सुन्दरतासँगै गुराँसको राजधानीको रूपमा परिचित यो क्षेत्र कोरोनाका कारण पर्यटन व्यवसाय चौटप बनेको छ । विश्वभर फैलिएको कोरोना भाइरसको नयाँ भेटियन्ट बढेपछि यस क्षेत्र सुनसान बनेको थियो ।

यो क्षेत्र समुन्द्री सतहदेखि दुई हजार आठ सय २९ मिटरको उचाइमा छ । कोरोनाका कारण चोलुङ पार्क, बसन्तपुर बजार, टुटेदेउराली पाथिभरा, तिनजुरे, चौकी मङ्गलबारे, सुकेपोखरी, पाँचपोखरीलगायतका डाँडाकाँडा र भौगोलिक सौन्दर्य हेर्न पर्यटकहरू आउने गरेको स्थानीय हिमराज कटुवालले बताए । यस क्षेत्रमा विशेष गरी मंसिरदेखि माघसम्म हिउँ खेल्न र फागुनदेखि जेठसम्म लालीगुराँस हेर्न पर्यटक आउने गर्छन् ।

दुई वर्षयता कोरोनाका कारण थलिएको पर्यटन व्यवसाय सुस्तरी लयमा फर्किन थालेपछि व्यवसायमा राहत पुग्ने आशा पलाएको होटल व्यावसायी रिता गुरुङले बताइन् । टिएमजे क्षेत्र पुगेपछि लालीगुराँसको संसारमा पुगेजस्तो अनुभूति हुने र माघको पहिलो सातादेखि वैशाख अन्तिम सातासम्म वनैभरि रातै फुलेको लालीगुराँससँगै यहाँ आउने पर्यटक रमाउने गर्छन् ।

अन्य सिजनमा आउने पर्यटकहरूमा कहिले हिउँको सेताम्यै भएका डाडाँपाखाहरूमा रमाइरहेका हुन्छ त कहिले हरियाली वनको काखमा रमाइरहेका देखिन्छन् । दैनिक दुई सयदेखि हजारको हाराहारीमा पर्यटक आउने गरेको लालिगुराँस नगरपालिका उपमेयर तिला पोख्रेलको भनाइ छ ।

विराटनगर, धरान, इटहरी र काठमाण्डौबाट समेत घुमफिर गर्न आउने गर्छन् । प्रायःजसो आन्तरिक र वाह्य पर्यटक लालीगुराँस हेर्न, हिमाली हिमश्रृखलाहरूमा रमाउन, फोटो खिच्न र सहर बजारको भिडबाट केही समयलाई ‘फ्रेस’ हुन यस क्षेत्रमा आउने गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित