दिसापिसाब रोकेर अध्ययन गर्न बाध्य छन् छात्रा

सप्तरी / सप्तरी सदरमुकाममा रहेको राजदेवी ठाकोदेवी जोगेन्द्र भगत माध्यमिक विद्यालयमा अध्ययनतर छात्राहरू दिसापिसाब रोकेर अध्ययन गर्नुपर्ने बाध्यता छ। कोरोनाभाइरस संक्रमणको दोस्रो लहरपछि विद्यालय खुलेको १० दिन भइसक्दासमेत चर्पीमा ढोका र सरसफाइ नभएको कारण दिसापिसाब रोकेर पढ्न बाध्य भएको कक्षा १० मा अध्ययनरत छात्रा आरती झाले बताइन्।

‘हामीहरूले प्रयोग गर्ने दुईवटा चर्पी छ । एउटामा ढोका छैन । अर्कोमा आधामात्र ढोका छ। चर्पी एकदमै फोहर र दुर्गन्धित छ। जान सक्ने अवस्था छैन । कसैलाई चासो पनि छैन’, उनले भनिन् । ‘एक दिनमात्र होइन कति दिनसम्म दिसापिसाब रोकेर पढ्न सक्छौ ?’, सोही कक्षामा अध्ययनरत विनिता रजकले प्रश्न गरिन् । विद्यालयका कार्यालय सहयोगी तारा मण्डलका अनुसार विद्यालयले पैसा नदिएपछि सफाइकर्मी नआएपछि चर्पीको दयनीय अवस्था आएको हो ।

‘विद्यालयमा १२ सय बिद्यार्थी छ , त्यसमा पनि छात्रा नै बढी छ । चर्पी त फोहोर हुनु स्वभाविक हो। दिनँहु सफा गर्नुपर्ने हो । त्यसको लागि विद्यालयले खर्च गर्न नखोजेकै कारण छात्राहरूले समस्या भोग्नु परेको हो’, उनले न्युज कारखानासँग भनिन् ।

यस समबन्धमा विद्यालयका प्रधानाध्यापक दिनेश प्रसाद यादवले छात्राहरूको चर्पीमा भएको समस्या स्वीकार्दै समाधान गर्ने बताए । ‘म यस विद्यालयको प्रधानाध्यापक भएर आएको तीन दिन भयो । विद्यार्थी भर्ना अभियानमा लागेको छु । चर्पीको ढोका लगाउन लगाएर सरसफाइ गर्न लगाउनेछु’, उनले भने ।

प्रतिक्रिया

सम्बन्धित