नेपालमा छुटै पर्यटकिय क्षेत्रको रुपमा पहिचान बनाउदै ‘मुन्दुम पदमार्ग’ (तस्विरहरू सहित)

भोजपुर / ‘मुन्दुम पदमार्ग’ नेपालको एक छुटै पहिचान भएको प्रर्यटकिय क्षेत्रको रुपमा स्थापित हुदै गएको छ । विभिन्न संस्कार,संस्कृतिको आनन्दसँगै प्राकृतिक सौन्दर्यतालाई नियाल्दै पद यात्रा गर्न चाहने पर्यटकहरुको रोजाइमा पर्ने पर्यटकिय गन्तब्य हो । पदमार्ग विकासको लागि निरन्तर रुपमा यहाँ काम भईरहेको छ । अग्ला हिमश्रृङखला, पहाडका अग्ला डाँडाहरु,तराइका समथर फाँटका मनोरमदृश्य अवलोकन गर्दै यात्रा गर्नु यस पर्दमार्गको एउटा विशेषता हो ।

उकालोओरालो हुँदै फैलिएको उक्त पदमार्गको यात्राबाट चारपाटे, म्यारापिक, नुप्से, सगरमाथा, ल्होत्से, ल्होत्सेसार, पिक ३८, चाम्लाङ, मकालु, कञ्चनजंघा, कुम्भकर्ण लगायतका दुई दर्जनभन्दा बढी सुन्दर हिमशृङ्खला हेर्न सकिन्छ । त्यस्तै पदमार्गको आसपासमा निर्माण भएका किराँत राईहरुको संस्कार, संस्कृति झल्काउने विभिन्न संरचना, ठूला–ठूला घाँसे मैदान, स्थानीय गोठवालाहरुले पालेका चौरी, भेडीचोक, लगाएतले यात्रा गर्ने पर्यटकलाई आनन्दित बनाउने गर्दछ । यहाँका किराँत राई, शेर्पा, तामाङ लगाएत जातजातीको पहिचान झल्कने परिकार, गोठवालाहरुले उत्पादन गर्ने आर्गानिक खानेकुरा, विभिन्न किसिमका वन वनस्पती, जडीबुटी लगायत स्वाद लिन सकिन्छ । नेपालका सबै हिमाललाई एकै ठाउँबाट हेर्न सकिने स्थान पनि हो ।

किराँत राईहरुको संस्कृतिसँग जोडिएकाले यो पदमार्गको नामकरण किराँत राईहरुको ‘मुन्दुम’ संस्कारबाट राखिएको छ । नेपाल सरकारले छनौट गरेको घुम्नै पर्ने १०० पर्यटकिय क्षेत्रमा सूचिकृत पर्यटकिय क्षेत्रपनि हो । पदमार्गीहरुको यात्रालाई सहज, सरल र आनन्ददायी बनाउन दुई मिटर चौडा भएको ६२ किलोमिटर पदमार्ग निर्माण सकिएको छ, भने २६ किलोमिटर निर्माण हुन बाँकी रहेको छ । भोजपुरका चार र खोटाङका दुई स्थानीय तहमा पदमार्ग निर्माण गर्न करीब दश करोड खर्च भएको छ ।

प्राकृतिक सुन्दरता बोकेका ठाउँहरुको भ्रमण गर्न विदेशी पर्यटकहरु आउने गरेका छन् । यो पदमार्गमा आन्तरिकसँगै जापानिज, अमेरिकन, स्वीस लगाएतका देशका पर्यटकहरुले यात्रा गरिसकेको टेम्केमैयुङ गाउँपालिकाका मुन्दुम पदमार्ग निर्माण तथा व्यवस्थापन समितिका अध्यक्ष पावीहाङ राईले जानकारी दिए । यहाँको पयर्टकिय क्षेत्रको सम्भावनाको अध्यन गर्न पर्यटक विज्ञहरुले समेत यात्रा गरिसकेको अध्यक्ष राईले बताउनुभयो । अध्यक्ष राईले भने,‘यो पदमार्ग नेपालको एउटा प्राकृतिक सौदर्यताले भरिएको पदमार्ग हो । सायदै देशमा यति धेरै प्राकृतिक विशेषताले भरिपूर्ण यस्ता भर्जिन पदमार्गहरु कमै छन् । प्राकृतिक सुन्दरमा रमाउँदै यात्रा गर्नेको लागि यो मार्ग पहिलो रोजाइमा पर्दछ । विभिन्न देशबाट पनि पर्यटकरु आउने क्रम जारीछ । कोरोनाको कारण धेरै पर्यटकहरु आउन सकेका छैनन्। अवस्था सामान्य बन्न साथ यहाँ धेरै पर्यटक आउने तयारीमा छन् । यसले नेपालसँगै अन्तराष्ट्रियस्तरमा समेत छवि बनाएको छ ।’

नेपालको प्राकृतिक सम्पदाको रुपमा विकास गर्न सरकार लागि परेको अध्यक्ष राईले जानकारी दिए । विदेशीहरु नेपालमा पैदल यात्राको लागि आउने भएकोले यस्ता पदमार्गलाई सडक विस्तारले असर गरेको उनको भनाइ छ । ‘यसलाई प्राकृतिक सम्पदाका रुपमा विकास गर्न सरकारसँगै हामी लागेका छौँ । नेपालमा आउने पर्यटक पैदल यात्रा गर्नको लागि आउने हो, तर यस्ता पदमार्गलाई सडक विस्तारले ठुलो असर पुर्‍याउने अवस्था छ । यो एउटा चुनौतीको रुपमा थपिएको छ । यसमा सरोकारवाला पक्षले ध्यान दिनुपर्छ । यो पदमार्गलाई सप्तकोशीदेखी सगरमाथाको वेस क्याम्पसम्ममा विस्तार गर्न सकिन्छ । यसो गरेमा नेपाललाई पर्यटनको माध्यमबाट आर्थिक टेवा पुग्छ।’ अध्यक्ष राईले भने ।

पर्यटकलाई लक्षित गरेर ८८ किलोमिटर पदमार्ग निर्माण भइरहेको छ । जसमध्ये हालसम्म ६२ किलोमिटरले पूर्णता समेत पाएको छ । भोजपुरका चार ओटा र खोटाङका दुई ओटा स्थानीयतहलाई लक्षित गरेर पदमार्ग निर्माण भईरहेको छ । पदमार्ग टेम्केमैयुङ गाउँपालिका, भोजपुर नगरपालिका, षडानन्द नगरपालिका, साल्पाछिलिछो गाउँपालिका र खोटाङको साकेला र केपीलासगढी गाउँपालिकामा विस्तार भइरहेको छ । पदमार्ग निर्माणको काम भोजपुरका दुई ओटा र खोटाङको एक स्थानीय तहमा सम्पन्न भइसकेको छ । भोजपुर नगरपालिका भित्र पर्ने वडा न. १० साम्पाङ चोक देखि षडानन्द नगरपालिकाको सीमनामा पर्ने बर्षे चौतारासम्मको १२ दशमलव पाँच किलोमिटर निर्माण काम सम्पन्न भएको छ । त्यस्तै बर्षे चौतारादेखी एकरातेसम्म षडानन्द नगरपालिका क्षेत्रमा पर्ने सात किलोमिटरको निर्माणको काम पनि सकिएको छ । त्यस्तै खोटाङको साकेला गाउँपालिकाको तावा भञ्याङदेखी चखेवासम्म दश दशमलव पाँच किलोमिटर निर्माणको काम पनि सकिएको छ ।

टेम्केमैयुङ, साल्पासिलिछो गाउँपालिका र खोटाङको केपिलासगढी गाउँपालिका क्षेत्रमा भने काम सम्पन्न हुन केहि बाँकी रहेको मुन्दुम पदमार्ग प्रबद्र्धन परियोजनाले जनाएको छ । मुन्दुम पदमार्गको सबैभन्दा बढी क्षेत्र टेम्केमैयुङ गाउँपालिकामा रहेको छ । यहाँ पर्ने ४९ किलोमिटरमध्ये हालसम्म १९ किलोमिटर सकिएको छ भने ३० किलोमिटर बाँकी रहेको परियोजनाको भनाइ छ । यहाँको चखेवाभञ्याङ –धोद्रे– हाँस पोखरी देखी वडा नं– १ तिम्माको एकरातेसम्म १९ किलोमिटर निर्माण सम्पन्न भएको हो । त्यस्तै खोटाङको केपिलासगढी गाउँपालिकामा पर्ने १६ किलोमिटर पदमार्ग मध्ये छ किलोमिटर सम्पन्न भएको छ भने दश किलोमिटरको काम निर्माण हुन बाकी रहेको छ । यस स्थानीय तह अन्तर्गत तारा खसेकोदेखी साल्पासिलिछो गाउँपालिकाको सीमानामा पर्ने निकास मानेसम्म पदमार्गले छोएको छ ।

पदमार्ग निर्माणसँगै यहाँ किराँत राईहरुको सस्कार, सस्कृति झल्कने खालको विभिन्न संरचनाहरु निर्माण गर्दा रु. नौ करोड, ९९ लाख,६८ हजार खर्च भएको मुन्दुम पदमार्ग पबद्र्धन परियोजनाका टिम लिडर हिराबाबु थापाले जानकारी दिए । उनको अनुसार हालसम्म ६२ किलोमिटर पदमार्ग निर्माणसँगै २१ ओटा पर्यटकहरुको लागि विश्राम स्थल, २३ ओटा खानेपानी धारा, ५७ ओटा ढुङ्गे चौतारा निर्माण भएका छन् । त्यस्तै किराँत राईको सस्कृति झल्कने( चिण्डो आकार) का १५ ओटा पोखरी निर्माण गरिएको छ । टिम लिडर थापाले भने,‘यो पदमार्गमा पर्यटकहरुलाई लक्षित गरे किराँत राईहरुको संस्कार सस्कृतिलाई लक्षित गरेर विभिन्न संरचनाहरु निर्माण गरेका छौँ । यसले यहाँको मौलिकता झल्काउने छ । त्यस्तै उनीहरुलाई बस्नको लागि विश्राम स्थल,पानीको व्यवस्था लगाएतका विभिन्न कामहरु भएका छन् । यसले देशका अन्य पदमार्गको तुलनामा विशेष र छुट्टै किसिमले पर्टयक लोभ्याउनेमा हामी विश्वस्त छौँ । पदमार्गमा निर्माण गरिएका विश्राम स्थल चौतारा, फलैँचा, धारा लगाएतमा भने स्वीस सरकारको मात्र लगानी छ ।’
पदमार्ग प्रदेश– १ सरकार र स्वीस सरकारको ३५/३५ र स्थानीय सरकारको ३० प्रतिशत लगानीमा निर्माण थालिएको हो । स्वीस सरकारको यस आर्थिक वर्ष २०७७/७८ को कार्यक्रम भने सम्पन्न भएको टिम लिडर थापाले जानकारी दिए । यो परियोजना सकिएपनि प्रदेश र स्थानीय सरकारहरुले बजेट विनियोजन गरेकाले कामलाई पूर्णता दिन स्वीस सरकारकै कुनै अर्को परियोजनासँग सम्झौता गरेर कामलाई निरन्तरता दिने थापाले बताए ।‘स्वीस सरकारको गत आर्थिक वर्षको परियोजनासँगको सम्झौता सकिएको छ । तर निर्धारित काम अझै करीब ३० प्रतिशत बाँकी छ । प्रदेश र स्थानीय सरकारहरुले साझेदारीको लागि बजेट विनियोजन गरिसकेका छन् । पूर्णता दिनको लागि स्वीस सरकारसँगै पुन: सहकार्य गरेर काम अघि बढाउँछौ ।’ थापाले भने ।

पदमार्ग निर्माणमा स्थानीय जनशक्तिसँगै स्थानीय श्रोत साधनको प्रयोग गरिएको छ । निर्माणका क्रममा सिमेन्टको प्रयोग नभएको जनाएको छ । निर्माणमा यहिका जनशक्तिलाई परिचालन गरिएको छ । ६२ किलोमिटर निर्माणका लागि ९८६ जनाले ६५ हजार श्रमदिन काम गरेको थापाले बताए । निर्माणमा टेम्केमैयुङ गाउँपालिकाका २२०, षडानन्द नगरपालिकाका ६१, भोजपुर नगरपालिकाका, १३८ साकेला गाउँपालिकाका, ८०, साल्पासिछिो गाउँपालिकाका ३५४ र केपिलासगढी गाउँपालिकाका २२३ जनाले रोजगारी पाएका छन् । यहाँको पर्यटनलाई माथि उकास्न र विदेशी पर्यटकको प्रमुख गन्तव्यका रुपमा टुरिजम हब बनाउने लक्ष्यले रहेकोे टेम्केयुङ गाउँपालिकाले जनाएको छ ।

पर्यटकीय हिसाबले पैदल यात्रा गर्ने पर्यटकका लागि ‘अल्पाईन जोन’ सन्तुलित हावापानी भएको यो पदमार्ग उपयुक्त भएको र लेक लाग्ने समस्या नहुने पर्यटनसँग सम्वन्धित विज्ञहरुको भनाइ छ । प्राकृतिक सुन्दरताले मनमोहक दृश्यावलोकन गर्न, हावापानीको हिसाबले हिमालमा जस्तो ठण्डा र तराई जस्तो गरम नहुने सन्तुलित हावापानी र विश्वमै कम दृश्यावलोकन गर्न सकिने भएकोले प्रमुख पदस्थलका रुपमा स्थापित हुने गाउँपालिकाको भनाइ छ । आन्तरिक तथा बाह्य पर्यटक भित्राउन र पर्यटनलाई व्यवसायीकरण गर्न यो पदमार्गले सहयोग पुर्‍याउने लक्ष्य गाउँपालिकाले लिएको छ ।
गाउँपालिका अध्यक्ष ध्रुवराज राईले भने,‘पछिल्लो समय यस पदमार्गमा पर्यटकको आगमन बढ्दो छ । यस वर्ष कोरोनाका कारण केहि असर पुग्यो । गाउँपालिकाले यसको विकासको लागि काम गरिरहेको छ भने, प्रदेश र केन्द्र सरकारले पनि लगानी गरिरहेको छ । यस वर्षपनि यसको विकासका लागि गाउँपालिकाले बजेट विनियोजन गरेका छौँ । यस पदमार्गको अझ विकास गरेर गाउँपालिकाको मुख्य आर्थिक श्रोत बनाउने सोेचका साथ काम भइरहेको छ ।’
मुन्दुम पदमार्गले यहाँका वन्यजन्तुको आरक्षण क्षेत्रका रुपमा विकास गर्न सकिने सम्भावना बोकेकोले यहाँको पर्यटन व्यवसाय फस्टाउने सम्भावना रहेको पर्यटनको क्षेत्रका विज्ञहरुको भनाई छ । पदमार्ग अङ्ग्रेजी अक्षर ‘वाइर्’ आकारमा निर्माण भइरहेको छ । यो पदमार्ग भोजपुर र खोटाङको सीमना तावा भञ्याङ– चखेवा भञ्याङ– धोद्रे–हाँस पोखरी–तारा खसको –बलौटे भञ्याङ– लौरी भञ्याङ– निकास माने हुँदै भोजपुरको सबैभन्दा अग्लो चुचुरो सिलिचुङ डाँडामा पुगेर एकराते– पखुवा भञ्याङ– बाघखोर– सुन्तले– बाघखोर हुँदै भोजपुर नगरपालिका– १० भैसीपंखाको साम्पाङ चोकमा आएर टुङगिन्छ ।
भोजपुर नगरपालिकाको साम्पाङ चोकको शुरुवात हुने विन्दुमा टक्सार विमानस्थलमा अवतरण गरेर बसबाट करीब आधा घण्टा पुग्न सकिन्छ । त्यस्तै सडक माध्यम हुँदै धरानबाट करीब १४५ किलोमिटरको यात्रापछि पदस्थान विन्दुमा आउन सकिन्छ ।


प्रतिक्रिया

सम्बन्धित