दुई वर्षसम्म सञ्चालनमा आएन तेह्रथुमको स्वास्थ्यचौकी भवन

तेह्रथुम / तेह्रथुमको छथर गाउँपालिका–४ मा रहेको फाक्चामारा स्वास्थ्यचौकीको भवन उदघाटन भएको दुई वर्ष बित्न लाग्दा पनि सञ्चाालनमा आउन सकेको छैन । राज्यको करोडौँ लगानीमा निमार्ण भएको भवन सञ्चालनमा आउन नसक्दा सेवाग्राही पुरानो भवनबाटै सेवा लिन बाध्य छन् । भवन निमार्ण सम्पन्न भएसँगै २६ पुस २०७६ मा छथर गाउँपालिका अध्यक्ष सन्तवीर लिम्बुले उदघाटन गरेका थिए ।

दुई तले पक्की भवन यतिबेला बोट बिरुवा र झारले ढाकेको छ । करोडौँ लगानीमा निमार्ण गरिएको भवनका भौतिक संरचनाहरू टुट्न र फुट्न थालेका छन् । हिमालयन ओम जाम्वीयोजेबी निमार्ण कम्पनीले निमार्ण कार्य सम्पन्न गरी दुई वर्षअघि हस्तारण गरेको थियो । तर, अहिलेसम्म पनि सञ्चालनमा नआउँदा दुःख लागेको स्थानीय निरोज निरौलाले बताए ।

‘नयाँ भवन बनेपछि सहज रूपमा सेवा पाइन्छ भन्ने आशा थियो । तर, वर्षाैँ बितिसक्दा पनि प्रयोगमा आउन नसक्दा हामी सरोकारवालहरूले चासो देखाउनु पर्ने अवस्था सिर्जना भएको छ,’ उनले भने । शहरी विकास मन्त्रालयको एक करोड ३९ लाख लागनी निमार्ण कार्य सम्पन्न भएको थियो । कोरोना महामारीको समयमा पनि यो भवन सञ्चालनमा नआउँदा सेवा लिनसमेत समस्या भएको स्थानीय मदन फुयालले बताए ।

छथर गाउँपालिका–४ का साथै २, ३ र ५ का केही क्षेत्रका नागरिकहरूले यस स्वास्थ्य चौकीबाट सेवा लिँदै आएका छन् । नागरिकहरुले सेवा लिने भवन भएर पनि सञ्चालनमा आउन नसक्दा यहाँका नागरिकहरुको समस्या ज्यूँका त्यूँ नै छ । यता छथर गाउँपालिका ४ का वडाध्यक्ष उपेन्द्र लिम्बुले भने बजेट विनियोजनमा शीर्षक नमिलेका कारण समस्या भएको बताए ।

प्रतिक्रिया

सम्बन्धित