भोजपुरमा पहिलो पटक रक्त सञ्चार केन्द्र स्थापना

भोजपुर / भोजपुरमा पहिलो पटक रक्त सञ्चार केन्द्र स्थापना गरिएको छ । नेपाल रेडक्रस सोसाइटी भोजपुर शाखाले जिल्ला अस्पतालसँगको समन्वयमा केन्द्र स्थापना गरेको हो ।संघीय सासद सुदन किरातीले उपलब्ध गराउनु भएको निर्वाचन क्षेत्र विकास कार्यक्रम अन्तर्गत सांसद विकास कोषको रु. ५० लाख सहयोगमा केन्द्र स्थापना गरिएको नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा भोजपुरले जनाएको छ ।

साँसद किरातीले सो रकम उपलब्ध गराएपछि भोजपुर नगरपालिकाले उपकरण खरिद गरेको केन्द्रमा आवश्यक कर्मचारी पनि नगरपालिकाले व्यवस्था गरेको नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा भोजपुरका कार्यक्रम अधिकृत तेज श्रेष्ठले बताए । अधिकृत श्रेष्ठले भने,‘ धेरै समयमा अथक प्रयासपछि जिल्लामा रक्त सञ्चार केन्द्र स्थापना गर्न सफल भएका छौँ । यसले यहाँका स्थानीयलाई स्वास्थ्य सेवा लिनको लागि निकै सहज भएको छ । यहाँ आवश्यक पर्ने कर्मचारीको व्यवस्थापन भने नगरपालिकाले गर्ने जिम्मा लिएको छ ।’

विगतका वर्षहरुमा रक्त सञ्चार केन्द्र (ब्लड बैंक) नहुँदा नेपाली सेना, नेपाल प्रहरी र शसस्त्र प्रहरीले दिएको रगतको भरमा विरामीको ज्यान बचाउनु पर्ने अवस्था रहेको थियो । सुत्केरी महिला, दुर्घटना तथा आकस्मिक रुपमा रगत आवश्यक पर्दा कतिपयले अकालमा ज्यान समेत गुमाउन पर्ने अवस्थाको ब्लड बैंकको स्थापना भएपछि स्थानीय हर्षित भएका छन् ।

स्थानीय रंगमान राईले भने,‘ जिल्लामा ब्लड बैक नहुँदा अत्यन्तै समस्या थियो । सेना प्रहरीको भरमा अस्पतालले रगतको व्यवस्था गर्नु पर्ने अवस्था थियो । अकस्मिक रुपमा रगत नपाउँदा कतिपयले अकालमा ज्यानपनि गुमाएको अवस्था छ । कतिपयलाई यहाँ रगत नपाएर बाहिर पठाउदा बाटोमा ज्यान गएको अवस्था पनि छ । यो स्थापना हामी जिल्लाबासीको लागि खुसीको कुरा हो । तर यसको दिगो व्यवस्थापनको पक्षलाई निकै ध्यान दिन आवश्यक छ ।’

अस्पताललाई चाहिने रगत यहाँ खपत गर्ने र बढी भएको रगत जिल्ला बाहिरका अस्पतालमा पठाउने गरी तयारी थालिएको रेडक्रसले जनाएको छ । अहिले रक्तदान कार्यक्रम मार्फत रगत संकलनको काम भइरहेको कार्यालयको भनाइ छ । संकलित रगत केन्द्रमा २५ दिनसम्म मात्र राख्न सकिने भएकाले अन्य अस्पतलामा रगत आवश्यकता हुँदा पठाउने व्यवस्था मिलाइने बताइएको छ ।

जिल्ला रेडक्रसका सभापति तुलबहादुर शुब्बाले भने,‘निकै ठुलो पहलपछि ढिलैभएपनि ब्लड बैंक स्थापना गर्न सफल भएका छौँ । यो हामी जिल्लाबासीका लागि खुसीको कुरा हो । यसलाई दिगो व्यवस्थापनका साथ सञ्चालनमा ल्याउने गरी कामको व्यवस्थापन गरेका छौँ । अबका दिनमा रगत अभावका कारण ज्यान गुमाउनु पर्ने अवस्थाको अन्त्य हुनेमा हामी ढुक्क छौँ’ ।

प्रतिक्रिया

सम्बन्धित