आन्दोलनमा उत्रिए पूर्वाञ्चल विश्वविद्यालयका चिकित्सक

विराटनगर /  मोरङको सुन्दरहरैँचा नगरपालिका–७ गोठगाउँमा केन्द्रीय कार्यालय रहेको पूर्वाञ्चल विश्वविद्यालयमा कार्यरत चिकित्सक आन्दोलनमा उत्रिएका छन् ।

विश्वविद्यालयको शिक्षण अस्पतालका लामो समयदेखि ज्यालादारीका रूपमा काम गरिरहेका चिकित्सक आन्दोलित हुँदा सेवा प्रभावित बनेको छ । विश्वविद्यालयको बेवास्ता एवं लापरबाहीका कारण बिरामीले उपचार पाउन नसकिरहेका बेला ज्यालादारीबाट मुक्त गरेर आफूहरुलाई करारमा नियुक्त गर्नुपर्ने माग राख्दै चिकित्सक आन्दोलित बनेका हुन् ।

अस्पतालमा १२ जना चिकित्सकले चार/पाँच वर्षदेखि ज्यालादारीमा काम गरिरहेका छन् । अस्पताल सञ्चालनमा पूर्ण लापरबाही गरिरहेको विश्वविद्यालयले उनीहरुलाई नियुक्ति दिएर काममा लगाउन सकेको छैन । त्यसको विरोधमा मंगलबारदेखि सेवा समय एक घण्टा छोट्याएर चिकित्सक आन्दोलित बनेका हुन् ।

उनीहरुले यही भदौ १ बाट हातमा कालो पट्टी बाँधेर सांकेतिक विरोध गर्दै आन्दोलन थालेका थिए । चिकित्सकले दिनको १२ बजेसम्म बिरामीको स्वास्थ्य परीक्षण र उपचार गर्ने गर्थे । सेवाको समय घण्टा छोट्याएर ११ बजेसम्म बनाउँदै मंगलबारदेखि चिकित्सकको आन्दोलन सुरु हुँदा बिरामीको थप विचल्लीमा पर्न थालेका छन् ।

लामो समयसम्म ज्यालादारीमा काम लगाउन नपाइने नियम भए पनि विश्वविद्यालयले पालना नगरेको अस्पतालका हाडजोर्नी तथा नशा रोग विशेषज्ञ डा. धीरज सिंहको गुनासो छ । ज्यालादारीका चिकित्सकलाई करारमा भर्ना खुलाएर नियुक्ति दिन माग राख्दै आन्दोलन गर्नु परेको उनले सुनाए । दुई दिनभित्रमा माग पूरा नभए अस्पतालमा सेवा दिन नसकिने सिंहले बताए ।

उनका अनुसार आठ वर्षअघि नै निर्धारण गरिएको चिकित्सकीय शुल्कमा अहिलेसम्म वृद्धि गरिएको छैन । जसका कारण न्यून ज्यालामा चिकित्सकले काम गरिरहनु परेको उनको गुनासो छ । समस्या विश्वविद्यालयका उपकुलपति, रजिष्ट्रार र अस्पताल निर्देशकलाई बारम्बार राखिसक्दा पनि सुनुवाई नभएको डा. सिंहले बताए ।

क्लिनिकमा निश्चित समय तोकेर सेवामा बोलाए जसरी अस्पतालले चिकित्सकलाई सामान्य ज्यालामा काममा लगाइएको उनको जिकिर छ । विश्वविद्यालयले चासो नदिएपछि चरणवद्ध आन्दोलन घोषणा गरिएको जानकारी उनले दिए । विश्वविद्यालयले अस्पताल सुधारमा चासो नदिँदा बिरामीको उपचार प्रभावकारी हुन नसकेको डा. सिंहले स्वीकार गरे ।

विश्वविद्यालयले अहिलेसम्म दुई जना विशेषज्ञ चिकित्सक र एक जना मेडिकल अफिसरलाई मात्रै नियुक्ति दिएर काममा लगाएको छ । अस्पतालमा १९ जना नर्सिङ कर्मचारी छन् ।

अस्पताल सुधारमा नहुँदा पारामेडिकलअन्तर्गतको शैक्षिक कार्यक्रम बीएससी नर्सिङ र बीएन पनि बन्द हुने अवस्थामा पुगेको चिकित्सकहरुले बताए । विशेषज्ञ सेवा उपलब्ध गराइएपछि २४ घण्टा नै सञ्चालन हुनपर्ने अस्पतालको आकस्मिक कक्षा प्रत्येक दिन बिहान ७ बजे खुलेर बेलुका ७ बजे बन्द गरिन्छ । दैनिक १२ घण्टा मात्रै चल्ने आकस्मिक सेवामा बिरामी भर्ना गरिँदैन ।

सुन्दरहरैँचा, केराबारी, बेलबारीसमेतका स्थानबाट अस्पतालमा उपचार एवं स्वास्थ्य परीक्षणका लागि दैनिक तीन सय जनासम्म बिरामी पुग्ने गरेका छन् । तर उपचार नपाउँदा सर्वसाधारण मारमा परिरहेको गुनासो स्थानीयको छ ।

महालेखा परीक्षकको कार्यालयको ५८ औं प्रतिवेदनले पनि विश्वविद्यालयले अस्पताल सञ्चालनमा लापरबाही गरिरहेको भन्दै सुधार गर्न आवश्यक देखिएको उल्लेख गरेको छ । नियमको उल्लंघन गरेर अस्पतालले चिकित्सकलाई वर्षौदेखि ज्यालादारीमै सेवा प्रवाह गर्न बाध्य पारेको प्रतिवेदनमा औंल्याइएको डा. सिंहले बताए ।

लामो समयदेखि सेवा दिइरहेका चिकित्सक आन्दोलनमा उत्रिएको बताउँदै अस्पताल निर्देशक डा. विपेश आचार्यले उनीहरुका माग पूरा गर्ने सवालमा छलफल भइरहेको जानकारी दिए । उनले चिकित्सकलाई प्रभावकारी रूपमा काममा खटाउन नसक्नु अस्पतालकै कमजोरी रहेको पनि स्वीकार गरे । डा. आचार्यले चिकित्सकको माग केही दिनभित्रै पूरा हुने र अस्पताललाई पनि व्यवस्थित रूपमा सञ्चालन गरिने जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित