नेपालमा कोरोनाको ‘कप्पा’ भेरियन्ट भेटियो

काठमान्डाैं / नेपालमा अल्फा, डेल्टापछि कोरोना भाइरसको अर्को भेरियन्ट पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले मङ्गलबार एक विज्ञप्ति जारी गर्दै बढी सङ्क्रामक रहेको कोरोनाको ‘कप्पा’ भेरियन्ट भेटिएको जनाएको छ ।

डेल्टा भेरियन्टको थप उत्परिवर्तित रूपका तीन जना सङ्क्रमित भेटिएको मन्त्रालयका सहप्रवक्ता डाक्टर समीरकुमार अधिकारीले जानकारी दिएका छन् । उनका अनुसार तीन जना डेल्टा भेरियन्टको के फोर वन सेभेन एन म्युटेसन भएका सङ्क्रमित भेटिएको जानकारी दिएको हो । उक्त भेरियन्टको नाम कप्पा रहेको उनले जनाएका छन् ।

जेठ मध्यदेखि असार मसान्तसम्म देशका विभिन्न भागबाट विभिन्न उमेर समूहका व्यक्तिहरूबाट सङ्कलित नमुनाहरूको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा छनोट गरी ४७ नमुनाहरू विश्व स्वास्थ्य सङ्गठनको नेपालस्थित कार्यालय तथा दक्षिण पूर्व एसिया क्षेत्रीय कार्यालयको सहयोग र समन्वयमा भारतको नयाँ दिल्लीस्थित डब्लूएचओले छानेको ल्याबमा सिक्वाइन्सिङ गर्न पठाएको थियो ।

उक्त नमुनाको जिनोम पहिचान गर्दा सबै नमुनाहरूमा डेल्टा भेरियन्ट पुष्टि भएको र तीनवटामा थप उत्परिवर्तन के फोर वन सेभेन एन म्युटेसन भेटिएको मन्त्रालयले जनाएको छ ।स्वास्थ्य मन्त्रालयले जनाएअनुसार यी भेरियन्टहरू बढी सङ्क्रामक तथा सबै उमेर समूहका व्यक्तिहरूलाई असर पार्ने विभिन्न अध्ययनबाट पाइएको छ । भाइरसको नयाँ उत्परिवर्तनसँगै सङ्क्रमणको रोकथाम र नियन्त्रणका लागि जनस्वास्थ्यका मापदण्डलाई कडाइका साथ पालना गर्नसमेत मन्त्रालयले आग्रह गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित