देशभरका यी ४९ अस्पतालमा ६० वर्ष माथिका नागरिकलाई उपचारमा ५० प्रतिशत छुट

काठमाडौं / सरकारले थप २५ वटा अस्पतालहरुमा ज्येष्ठ नागरिक स्वास्थ्य सेवा विस्तार गर्दैछ। ज्येष्ठ ‘नागरिक (जेरियाट्रिक) स्वास्थ्य सेवा सञ्चालन निर्देशिका २०७७’ अनुसार थप २५ वटा अस्पतालहरुमा ज्येष्ठ नागरिक स्वास्थ्य सेवा विस्तार हुन लागेको हो।

यो सँगै ज्येष्ठ नागरिक निःशुल्क एवं सहुलियतपूर्ण रुपमा स्वास्थ्य सेवा उपलब्ध गराउने अस्पतालहरुको संख्या ४९ पुग्नेछ। यसअघि २०७०/७१ देखि २४ वटा अस्पतालहरुले यो सेवा सञ्चालन गर्दै आएको थियो। यी अस्पतालमा ६० देखि ६९ वर्षसम्मका ज्येष्ठ नागरिकलाई निश्चित स्वास्थ्य उपचार सेवामा ५० प्रतिशत छुट दिनुपर्नेछ।

७० देखि ७९ वर्षसम्मका ज्येष्ठ नागरिकलाई शारीरिक अशक्तता, दीर्घरोग र आर्थिक स्थितिका आधारमा ७५ प्रतिशत, ८० देखि ८४ वर्षसम्मकाले शतप्रतिशत छुट दिनुपर्नेछ। ८५ वर्षभन्दा माथिकालाई अस्पतालमा उपलब्ध सबै स्वास्थ्य सेवाहरु निशुल्क हुने व्यवस्था छ। तर अस्पतालले उपलब्ध गराएको वार्ड वा बेडको प्रयोग नगरी प्राइभेट वार्ड वा क्याबिनमा बसी उपचार गरे सरकारले दिएको यी कुनै पनि सुविधा लागू हुने छैन।

अस्पतालबाट उपलब्ध हुने स्वास्थ्य सेवालाई ज्येष्ठ नागरिक मैत्री बनाउन आकस्मिक, बहिरङ्ग र अन्तरङ्गसेवा प्रयोग गर्न सहज हुने गरी आवश्यक भौतिक पूर्वाधारको निर्माण गरिएको हुनुपर्ने निर्देशिकाले व्यवस्था गरेको छ।

आर्थिक वर्ष २०७८/७९ देखि सेवा विस्तार हुने अस्पतालहरुको सूचीमा प्रदेश १ को इलाम अस्पताल, संखुवासभा अस्पताल र सुनसरी अस्पताल रहेको छ। यसअघि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, कोशी अस्पताल, मेची अस्पताल र उदयपुर अस्पतालमा यो सेवा सुरु भएको थियो। प्रदेश १ मा थप तीन वटा अस्पताल थप भएपछि यो सेवा सुरु गर्ने अस्पतालको संख्या सात वटा पुगेको छ।

प्रदेश २ मा कलैया अस्पताल, मलंगा अस्पताल सर्लाही, राम उमा स्मारक अस्पताल र बर्दिबास अस्पताल महोत्तरीमा यो सेवा विस्तार हुँदैछ। यसअघि जनकपुर प्रादेशिक अस्पताल, नारायणी अस्पताल, गौर अस्पताल, गजेन्द्रनारायण सिंह अस्पतालले यो सेवा सुरु गरिसकेको छ। प्रदेश २ मा ज्येष्ठ नागरिक स्वास्थ्य सेवा सुरु गर्ने अस्पतालको संख्या आठ वटा पुगेको छ।

बागमती प्रदेशमा थप पाँच वटा अस्पताल थपिएसँगै यो सेवा सुरु गर्ने अस्पतालको संख्या अब १२ वटा पुग्ने ज्येष्ठ नागरिक स्वास्थ्य सेवा सञ्चालन मागदर्शनमा उल्लेख छ। भक्तपुर अस्पताल, धादिङ अस्पताल, त्रिशुली अस्पताल, र्कीतिपुर अस्पताल र धुलिखेल अस्पताले यो सेवा विस्तार गर्दैछ। पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, चिकित्सा स्वास्थ्य विज्ञान राष्ट्रिय प्रतिष्ठान वीर अस्पताल, भरतपुर अस्पताल, हेटौडा अस्पताल, आयुर्वेद अस्पताल, राष्ट्रिय ट्रमा सेन्टर र शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालले यो सेवा सुरु गरिसकेको छ।

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान र धौलागिरी अस्पताल बागलुङले सुरु गरिसकेको गण्डकी प्रदेशमा अब गोरखा अस्पताल र म्याग्दी अस्पतालले पनि सेवा सुरु गर्दैछ। लुम्बिनी प्रदेशमा सेवा सुरु गर्ने अस्पतालहरुको सूचीमा पृथ्वीचन्द्र अस्पताल नवलपरासी, गुलेरिया अस्पताल, प्युठान अस्पताल, पाल्पा अस्पताल, रोल्पा अस्पताल र तुलसीपुर अस्पताल छन्। यसअघि लुम्बिनी प्रदेशमा भेरी अस्पताल, लुम्बिनी अस्पताल र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्टानले यो सेवा सुरु गरिसकेका छन्।

जाजरकोट अस्पताल र मेहेलकुना अस्पतालले सुरु गरिसकेको कर्णाली प्रदेशमा प्रादेशिक अस्पताल सुर्खेत र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा यो सेवा विस्तार भइसकेको छ। सुदूरपश्चिम प्रदेशमा महाकाली अस्पताल, दार्चुला अस्पताल र टिकापुर अस्पताल थपिएका छन्। सेती अस्पताल र डडेल्धुरा अस्पतालले यसअघि नै यो सेवा सुरु गरिसकेको छ।


साभार श्राेतः स्वास्थ्य खबर

प्रतिक्रिया

सम्बन्धित