गर्भवती महिलाका लागि खुशीको खबर, नोबेलमा प्रसुती सेवा नि:शुल्क

विराटनगर । विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा नि:शुल्क प्रसुती सेवा सुरु भएको छ । सरकारको आमा सुरक्षा कार्यक्रम अन्तर्गत नोबेलमा नि:शुल्क प्रसुती गराउँन थालिएको हो ।

सरकारी निकायसँगको सम्झौता अनुसार नोबेलले २०६७ फागुन २३ गतेदेखि नै नि:शुल्क प्रसुती गराउँदै आएको भएपनि स्तरोन्नतीका लागि गत भदौ महिनाबाट यो सेवा स्थगित गरिएको थियो । त्यसपछि अहिले पुन: नि:शुल्क प्रसुती सेवा सुरु गरिएको नोबेल अस्पतालको स्त्री तथा प्रसुती बिभागका प्रमुख डा.गेहनाथ बरालले जानकारी दिए । ‘नोबेलमा आमा सुरक्षा कार्यक्रम रोकिएको थियो, अहिले पुन: सुरु भएको छ,’ डा.बरालले भने, ‘नोबेलमा नि:शुल्क प्रसुती सेवासँगै प्रसुती गराउँनेलाई प्रोत्साहन स्वरुप यातायात खर्च पनि दिइन्छ ।’

प्रसुतीका क्रममा गरिने परीक्षण, बेड चार्ज, अप्रेशन चार्ज लगायत सेवा नि:शुल्क छ । त्यस्तै, प्रसुती गराउँन आउँनेहरुलाई नि:शुल्क सेवासँगै प्रोत्साहन स्वरुप यातायात खर्च वापत १ हजार रुपैयाँसमेत दिने गरिएको छ । घरमै सुत्केरी गराउँदा आमा र बच्चाको ज्यान जोखिममा पर्नसक्ने भएकाले सरकारले अस्पतालमा प्रसुती गराउँन प्रोत्साहन गर्दै आएको छ । सोही कारण सरकारले प्रसुती नि:शुल्क गरेर यातायात खर्च पनि उपलब्ध गराउँने व्यवस्था मिलाएको हो ।

नोबेलको स्त्री तथा प्रसुती बिभागमा डा.बराल, डा.शान्ति सुवेदी, डा.सिता पोख्रेल लगायत बिशेषज्ञ डाक्टरहरुको टिम कार्यरत छ । उनीहरुले नै प्रसुती गराउँने गरेका छन् । बिशेषज्ञ डाक्टरबाट भरपर्दो सेवा पाइने हुँनाले नोबेलमा प्रसुती गराउँनेहरुको आकर्षण बढ्दै गएको छ ।

प्रतिक्रिया

सम्बन्धित