नेपालमा भेटियो कोरोनाको नयाँ भेरियन्टमा नयाँ म्युटेसन

काठमाडौं । नेपालमा फैलिएको नयाँ भेरियण्ट डेल्टाको कोरोना भाइरस (कोभिड–१९) संक्रमणमा नयाँ म्युटेसन फेला परेको छ । यो डेल्टा भेरियन्टभन्दा अझ संक्रामक भएको जनस्वास्थ्यविद्हरुको आँकलन छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. कृष्ण पौडेलका अनुसार भारतको नयाँदिल्लीस्थित इन्स्टिच्युट अफ जिनोमिक्स एण्ड इन्टिग्रेटिभ बायोलोजीमा परीक्षण गरिएको ९ वटा नमुनामा नयाँ म्युटेसन फेला परेको छ ।

आज मन्त्रालयले यो बारेमा आधिकारीक धारणा सार्वजनिक गरेको छ । ‘देशका विभिन्न भागबाट विभिन्न उमेर समूह र लिंगलाई प्रतिनिधित्व हुने गरी राष्ट्रिय प्रयोगशालाले वैशाख २६ देखि जेठ २० गतेसम्म ४८ वटा नमुना संकलन गरेको थियो । उक्त नमुनालाई विश्व स्वास्थ्य संगठनले मान्यता दिएको भारतको उक्त प्रयोगशालामा जिन सिक्वेन्सिङ गर्नका लागि मन्त्रालयले नै पठाइएको थियो,’ ।

‘जसमध्ये ४७ जनामा डेल्टा भेरियन्ट र एउटामा अल्फा भेरियन्ट फेला परेको थियो ।’ डेल्टा भेरियन्टमापनि नयाँ म्युटेसन देखियो । डा. पौडेलका अनुसार ४७ डेल्टा भेरियन्टमध्ये ९ नमुनामा के ४१७ एन म्युटेसन भेटिएको हो । यसअघि बेलायती सञ्चार माध्यमले ‘नेपाल भेरियन्ट’ भनेर दाबी गरेको यही म्युटेसन हो मन्त्रालयका एक अधिकारीले बताए ।

नेपालबाट गएका र कोरोना संक्रमण भएकाहरुमा के ४१७ एन’ म्युटेसन भेटिएकै आधारमा उनीहरुले यो दाबी गरेका थिए । तर त्यसले निक्कै हंगामा निम्त्यायो ।
यसलाई नेपाल भेरियन्ट भन्न नमिल्ने धुलिखेल अस्पतालका डा. राजीव श्रेष्ठ बताउँछन् । उनका अनुसार यसअघि जापानी नागरिकमा पनि यो म्युटेसन देखिएको भन्दै उनले भने, ‘कहाँबाट आएको भनेर हामीलाई थाहा छैन । तर नेपाल भेरियन्ट भन्न सकिन्न ।’ यो मात्र म्युटेसन हो ।

हालसम्म प्राप्त जानकारी अनुसार यो म्युटेसन डेल्टा भेरियन्टभन्दा अझ संक्रामक छ र संक्रमितमा अझ गम्भीर असर देखिएको छ । तर यो म्युटेसनबारे धेरै विषय अध्ययन गर्न नै बाँकी छ । नेपालमा यसअघि डेल्टा, अल्फासहित काप्पा भेरियन्ट पनि भेटिएको थियो । तर काप्पा भेरियन्टले स्वास्थ्यमा गम्भीर असर नपार्ने भएकाले डब्ल्यूएचओले यसलाई भेरियन्ट अफ कन्सर्नको नाम दिइसकेको छैन ।

तर डेल्टा र अल्फाले भारत र नेपालमा ठूलो हलचल ल्यायो । धेरै छिटो संक्रमण देखियो । संक्रमित धेरैको मृत्यु भयो । अहिले देखिएको नयाँ म्युटेसन के ४१७ एन अझ असरदार भएको उल्लेख मन्त्रालयले समेत गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित