नोबेल अस्पतालले मुखबाट छिरेको ब्रसलाई शल्यक्रिया गरी पेटबाट निकाल्यो

विराटनगर । नोबेल शिक्षण अस्पतालमा एक व्यक्तिको शल्यक्रिया गरी पेटबाट दाँत माझ्ने ब्रस निकालिएको छ । दाँत माझ्ने क्रममा जिब्रोको भित्रीभाग सफा गर्दै गर्दा मुखबाट ब्रस छिरेका मोरङको मिक्लाजुङ्ग गाउँपालिका–४ का ३५ बर्षीय गंगा मगरको शल्यक्रिया गरी पेटबाट नोबेलका चिकित्सकले ब्रस निकालेका हुन् ।

गत बुधबार दाँत माझ्ने क्रममा मुखको भित्रसम्म ब्रस छिराएर जिब्रो सफा गर्दै गर्दा चिप्लिएर ब्रस पेटभित्र पसेको मगरले बताए । ‘दाँत माझ्ने क्रममा जिब्रो पनि सफा गर्नु पर्यो भनेर ब्रस अलिक भित्र छिराएर सफा गर्दै थिए । हात पनि र्यालले चिप्लो भएको थियो, एक्कासी चिप्लिएर ब्रस भित्र पस्यो,’ मगरले भने, ‘दुख्ने, पोल्ने त खासै भएन तर, त्यत्रो ब्रस नै पेटमा छिर्दा अब के हुन्छ भनेर तनाब भयो ।’

उनले आत्तिदै घरमा आएर ब्रस पेटभित्र छिरेको सुनाएपनि परिवार र छरछिमेकीलेसमेत सुरुमा उनको कुरा पत्याएनन् । ‘ब्रस निले भन्दै धाराबाट आउँनु भयो, सुरुमा त जिस्किएर भनेको होला जस्तो लाग्यो, पछि हो रहेछ भन्ने भएपछि सात्तै गयो, त्यत्रो ब्रस कसरी निल्नुभयो भनेर छक्क परे,’ उनकी श्रीमति पुनमले भनिन् ।

ब्रस पेटमा पसेपछि मगर आत्तिएर विराटनगरस्थित नोबेल शिक्षण अस्पताल अइपुगेका थिए । अस्पतालमा इन्डोस्कोपी गरेर हेर्दा ब्रस पेटभित्र देखियो । नोबेलका चिकित्सकले इण्डोस्कोपीबाटै ब्रस तान्ने कोसिस गरेका थिए, तर निस्किएन । त्यसपछि पेटको सानो भाग चिरेर १५ सेन्टिमिटरको ब्रस पेटबाट निकालिएको नोबेलका शल्यचिकित्सक डा. अमित भट्टराईले जानकारी दिए । नोबेलका चिकित्सक डा.भट्टराई नेतृत्वको चिकित्सकहरुको टोलीले बिहिबार शल्यक्रिया गरेर ब्रस निकालेको हो ।

ब्रस पेटमा छिर्दा पनि उनमा खासै ठूलो स्वास्थ्य समस्या देखिएको थिएन । तर, अब के होला भनेर उनीहरु आत्तिएका थिए । ब्रस पेटबाट निकालिसकेपछि अहिले उनको अवस्था सामान्य छ । स्वास्थ्य अवस्था सामान्य भइसकेकाले अब उनलाई अस्पतालबाट डिस्चार्ज गर्ने तयारी गरिएको नोबेल अस्पतालका प्रवन्धक नारायण दाहालले जानकारी दिए । अत्याधुनिक उपकरण र दक्ष चिकित्सकको व्यवस्था मिलाएको नोबेलले निकै जटिल र दुर्लभ शल्यक्रिया पनि सफलतापूर्वक गर्दै आएको छ ।

प्रतिक्रिया

सम्बन्धित