विराटनगरमा म्युकरमाइकोसिसको सफल शल्यक्रिया

विराटनगर / विराटनगरको नोबेल शिक्षण अस्पतालमा कालो ढुसीको सङ्क्रमण अर्थात् म्युकरमाइकोसिसको सफल शल्यक्रिया गरिएको छ । अस्पतालका नाक, कान तथा घाँटी विभागका सहप्रध्यापक तथा सर्जन डाक्टर सञ्जीवकुमार ठाकुरसहित डाक्टर ऋषिकेश ठाकुर (नाक, कान तथा घाँटी विशेषज्ञ) डाक्टर बन्धना पौडेल (एनेस्थेसिया) र डाक्टर ओशन श्रेष्ठ (प्याथोलोजी) लगायतको टोलीले जेठ ७ गते ४४ वर्षीया महिलाको म्युकरमाइकोसिसको सफल शल्यक्रिया गरेकाे हाे ।
डाक्टर ठाकुरका अनुसार सम्भवतः नेपालमा पहिलो पटक म्युकरमाइकोसिसको शल्यक्रिया भएकाे हाे । उनका अनुसार महिलालाई कोभिड पाेजिटिभ भएको १७-१८ दिनपछि दायाँ टाउको र आँखामा तीन-चार दिनसम्म तीव्र दुखाइ भएको थियो ।

फार्मेसीबाट सामान्य औषधिको सेवन गरिरहेकी उनको समस्या कम नभएपछि र आँखा सुन्निने तथा सास फेर्न समस्या भएपछि जेठ ६ गते उनी अस्पताल भर्ना भइन् । कोरोना भाइरसबाट सङ्क्रमित हुँदा उनको उपचारमा स्टेरोइडको प्रयोग गरिएको थियो । साथै पोस्ट कोभिडको समस्यासहित मधमुहेकी बिरामी उनको रगतमा चिनीको मात्रा अनियन्त्रित थियो ।

भारत तथा नेपालका केही ठाउँमा म्युकरमाइकोसिस देखिइसकको हुनाले उनमा पनि ढुसीको सङ्क्रमणको शङ्का गर्दै डाक्टरले परीक्षण गरे । नाकको स्वाबको र नाकको इन्डोस्कोपी गरियाे ।नभन्दै डाक्टरकाे आशङ्का वास्तविकतामा बदिलयाे । उनमा फङ्गल सङ्क्रमण भएको पुष्टि भयाे । सङ्क्रमण मात्रै देखिएन, उनको नाकभित्रकाे मासु कालो भएको, मासु कुहिएको, रक्तसञ्चार नपुगेर केही भाग पहेँलो भएको तथा अलिकति पीपसेमत जमेको पाइयो ।

कालो ढुसीको सङ्क्रमण पुष्टि भएपछि उनको नाकको कुहिएको मासु सफा गरियाे । सङ्क्रमण फैलिएर आँखातिर पनि पुगिसकेकाे थियाे । दूर्बिनको मध्यमबाट (इन्डोस्कोपिक साइनस सर्जरी) नाक र आँखाको शल्यक्रिया गरियाे । त्यसपछि उनलाई एन्टी फङ्गल इन्जेक्सन ‘एम्फोटेरिसिन बी’ दिन सुरु गरियो ।

शक्यक्रिया गरेको भोलिपल्टबाट टाउको दुखाइ कम हुँदै गएको, आँखाको डिल सुन्निएको घट्न थालेको, सुगर नियन्त्रणमा आएको, श्वासप्रश्वास तथा समग्र स्वास्थ्यमा सुधार हुँदै गएको डाक्टरहरूले जनाएका छन् । केही दिनकाे उपचारपछि नाकको इन्डोस्कोपी र एमआरआई गरेपछि रिपोर्टको आधारमा उनलाई डिस्चार्ज गर्ने योजना बनाइरहेको डा. ठाकुरको भनाइ छ ।

प्रतिक्रिया

सम्बन्धित