अमेरिकाद्वारा नेपाललाई कोरोना खोप दिने घोषणा

काठमाडौं । अमेरिकाले नेपालसहितका १६ एसियाली मुलुकलाई कोभिड–१९ विरुद्धको खोप उपलब्ध गराउने घोषणा गरेको छ। अमेरिकी राष्ट्रपति कार्यालय ह्वाइट हाउसद्वारा बिहीबार जारी वक्तव्यमा नेपाललाई कोरोना खोप उपलब्ध गराउने घोषणा गरिएको हो। १६ एसियाली मुलुकलाई विभिन्न परिमाणमा खोप उपलब्ध गराउने घोषणा गरिएको हो ।

नेपालसहित भारत, बंगलादेश, पाकिस्तान, श्रीलंका,अफगानिस्तान, माल्दिभ्स, मलेसिया, फिलिपिन्स,भियतनाम, इन्डोनेसिया,थाइल्यान्ड, लाओस्, पपुवा न्यूगिनी, ताइवान र प्यासिफिक आइल्यान्डले खोप प्राप्त गर्ने विज्ञप्तिमा उल्लेख छ। गत साता राष्ट्रपति विद्यादेवी भण्डारीले अमेरिकी समकक्षी जो बाइडेनलाई पत्राचार गर्दै खोपको विशेष पहल गर्न अनुरोध गरेकी थिइन् । राष्ट्रपतिको अनुरोध सँगै अमेरिका नेपाललाई खोप दिन सकारात्मक देखिएको थियो ।

खोप उपलब्ध गराउने घोषणा गरेकोमा प्रधानमन्त्री केपी शर्मा ओलीले अमेरिकी सरकारप्रति आभार व्यक्त गर्दै धन्यवाद दिएका छन्। अमेरिकाले आगामी जुनभित्र ८० मिलियन डोज खोप उपलब्ध गराउने योजनाअनुरुप पहिलो चरणमा खोप उपलब्ध गराउने नेपाललगायत मुलुकको सूची सार्वजनिक गरेको हो। अमेरिकाको यो खोप वितरण खाकाअनुसार ७५ प्रतिशत खोप कोभ्याक्स संयन्त्रमार्फत वितरण हुने जनाइएको छ ।

अमेरिकाले नेपाल, भारतसहितका १६ एसियाली मुलुकलाई ७ मिलियन डोज, दक्षिण तथा मध्यअमेरिकी मुलुकका लागि ६ मिलियन, अफ्रिकी मुलुकका लागि ५ मिलियन खोप वितरण गर्ने विज्ञप्तिमा जनाइएको छ । अमेरिकाले आफूसँग स्टकमा रहेको आस्ट्राजेनेका, जोन्सन एन्ड जोन्सन र मोर्डना खोप वितरण गर्न लागेको जनाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित