नोबेलमा एकैदिन दश सङ्क्रमितको मृत्यु

बिराटनगर / नोबेल शिक्षण अस्पतालमा दश जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा ५० वर्ष भन्दा कम उमेरका पाँचसहित नोबेल शिक्षण अस्पतालमा १० जना कोरोना सङ्क्रमितको मृत्यु भएको हो । शिक्षण अस्पतालका प्रबन्धक नारायण दाहालका अनुसार शनिबार बिहान मोरङ पथरी शनिश्चरे नगरपालिका– ४ का ३५ वर्षीय पुरुषको मृत्यु भएको छ । कोरोना पोजेटिभ देखिएपछि उनी बैशाख ३० गते अस्पताल भर्ना भएका थिए ।

शनिबार बिहानको राति करिब १ बजे झापा कनकाई नगरपालिकाका ५२ वर्षीय पुरुषको मृत्यु भएको छ । उनलाई शुक्रबार अस्पताल भर्ना गरिएको थियो । त्यस्तै कन्चनरुप– १२ सप्तरीका ७० वर्षीय वृद्धको पनि शनिबार बिहान करिब १ बजे मृत्यु भएको हो । उनलाई जेठ २ गते नोबले शिक्षण अस्पतालमा भर्ना गरिएको थियो । इनरुवा– ९ सुनसरीका ७५ वर्षीय वृद्धको शुक्रबार बेलुका करिब ७ बजे मृत्यु भएको थियो । उनलाई सोही दिन बेलुका नोबेलमा भर्ना गरिएको थियो ।

धनपालथान गाउँपालिका– ६ की ३५ वर्षीय महिलाको पनि शुक्रबार राति ९ बजे मृत्यु भएको छ । उनलाई जेठ ७ गते भर्ना गरिएको थियो । त्यस्तै महोत्तीकाको बर्दीबास १ का ५१ वर्षीय परुष र बर्दीबास– ५ का ६० वर्षीय पुरुषको पनि मृत्यु भएको छ । बर्दीबास १ का पुरुषलाई बैशाख २६ गते भर्ना गरिएको थियो । उनको शनिबार बिहान साढे ११ बजे मृत्यु भएको हो । बर्दीबास – ५ का परुषलाई बिहीबार नोबेलमा भर्ना गरिएको थियो । उनको शनिबार बिहान पौने ११ बजे मृत्यु भएको हो ।

झापा भद्रपुरका ४० वर्षीय पुरुष, विराटनगर महानगरपालिका– ५ का ४६ वर्षीय पुरुष र सुनसरीको रामधुनी नगरपालिका– ३ का ३८ वर्षीय पुरुषको पनि मृत्यु भएको हो ।त्यस्तै कोसी अस्पताल कोभिड १९ उपचार केन्द्र र विराट मेडिकल कलेजमा शनिबार १–१ जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ। नाेबेल शिक्षण अस्पतालमा एक सय ५६ विरामी उपचाररत छन् ।

प्रतिक्रिया

सम्बन्धित