महामारीमा सहयोगको शृंखला चलाउँदै शंकर ग्रुप र इन्फिनिटी होल्डिङ

काठमाडौं । कोभिड–१९ को संक्रमण र यसको प्रभाव बढेसँगै नेपालका सफल दुई व्यापारिक समूह शंकर ग्रुप र इन्फिनिटी होल्डिङले संयुक्त प्रयासमा सहयोगको शृंखला सुरु गरेका छन् ।

दुवै समूहले संयुक्त रुपमा हालसम्म साढे तीन करोड रुपैयाँभन्दा बढीको स्वास्थ्य सामग्री, उपकरण र प्राविधिक सहयोग देशभरका अस्पताल र अग्रपंक्तिमा खटिएका ‘कोभिड वारियर’हरुलाई हस्तान्तरण गरिसकेका छन् ।

शंकर र इन्फिनिटीले काठमाडौंको वीर र सशस्त्र प्रहरी बल अस्पताल, रुपन्देही र सेती प्रादेशिक अस्पतालका लागि आवश्यक सहयोग, अग्रंपक्तिमा खटिएका दुई सामाजिक संस्थामार्फत केही सामग्री हस्तान्तरण गरिसकेका छन् भने केही सामग्री एक–दुई दिनमै हस्तान्तण गर्दै छन् ।

शंकर समूहका अध्यक्ष शंकरलाल अग्रवाल र इन्फिनिटी होल्डिङका अध्यक्ष दीपक भट्टले महामारीमा सहयोगको यो शृंखला निरन्तर सञ्चालन रहने बताए । उनीहरुले यस मानवीय संकटमा अधुरा र उधारो वाचाभन्दा अहिलेको तत्काल आवश्यकताको पूर्तिका लागि आफूहरु सक्रिय रहेको बताए ।

यो समूहका अनुसार केही दिनमै धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा अत्याधुनिक तथा बहुउपयोगी अक्सिजन प्लान्ट जडानको तयारी भइरहेको छ । फ्रान्सबाट एयर लिफ्ट गर्न थालिएको नोभाएयर मेडिकल्स कम्पनीको अक्सिजन प्लान्टले ४५ शय्यामा ‘हाइ फ्लो’ र दैनिक ७०० लिटर अक्सिजन उत्पादन हुनेछ ।

दुवै कम्पनीले पहिलो चरणमा वीर अस्पतालको नयाँ भवनमा ५० शय्याका साथै त्यसका लागि आवश्यक म्याट्रेस, तन्ना, सिरानी र त्यसको खोललगायत सामग्री हस्तान्तरण गरेको छ । यस्तै, सुदूरपश्चिम प्रदेशमा आवश्यक अस्पताल तथा स्वास्थ्य संस्थाका लागि १०० शय्याका साथै त्यसका लागि आवश्यक सामग्री हस्तान्तरण गरिएको छ । कम्पनीले काठमाडौंमा सामाजिक संस्था हामी नेपाल र सुदूरपश्चिम प्रदेशमा ह्युम्यानिटी फाउन्डेसनमार्फत सहयोग हस्तान्तरण गर्दै आएको छ ।

शंकर र इन्फिनिटीले चीनबाट मगाएका ५२० थान भल्भ्स र रेगुलेटरसहितका अक्सिजन सिल्न्डिर सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र सशस्त्र प्रहरी अस्पताल बलम्बुलाई एक–दुई दिनमै हस्तान्तरण गर्दै छ । यस्तै, रुपन्देहीमा अग्रपंक्तिमा खटिएका ‘कोभिड वारियर’का लागि ५० हजार मास्क उपलब्ध गराइएको छ ।

यो समूहले सुदूरपश्चिम प्रदेशका लागि ३२० थान र एपीएफ अस्पताल तथा कर्णाली प्रदेशमा एक–एक सयथान सिलिन्डर हस्तान्तरण गर्दै छ ।

यो समूहले सुदूरपश्चिम प्रदेशका लागि डेढ लाखथान मास्क, २०० थान पीपीई सेट प्रदान गरिसकेको छ । यसअघि, उक्त समूहले वीर अस्पतालमा अंग्रपक्तिमा खटिएका स्वास्थ्यकर्मी र जोखिम मोलेर स्वयंसेवामा खटिएका हामी नेपालका स्वयंसेवकका लागि २५० वटा पीपीई सेट, २०० फेस सिल्ड र पाँच हजार मास्क दिएको छ ।

“अहिलेको महामारीमा सामाजिक उत्तरदायित्व वहन गर्दै संयुक्त रूपमा आवश्यक सामग्री दिएका हौँ,” यो समूहले भनेको छ, “तत्काल आवश्यक पर्ने सहयोग गरेर केही व्यक्ति बचाउन सकियोस् भन्ने उद्देश्यले यी सामग्री हस्तान्तरण गरेका हौँ ।”

प्रतिक्रिया

सम्बन्धित