रक्तश्राव नरोकिँदा गयो विराटनगरकी सङ्क्रमित महिलाको ज्यान

विराटनगर / विराटनगरको नोबेल शिक्षण अस्पतालमा उपचाररत कोरोना भाइरस सङ्क्रमित एक महिलाको अत्याधिक रक्तश्रावका कारण ज्यान गएको छ । विराटनगर महानगरपालिका–५ कोचाखालकी ३७ वर्षीया महिलाको रक्तश्राव नरोकिएकै अवस्थामा बुधबार राति ९ः३० बजेतिर मृत्यु भएको हो । अस्पतालका प्रबन्धक नारायण दाहालले पूर्वेली न्यूजलाइ बताए अनुसार मृतकमा कोरोना सङ्क्रमणसँगै अत्याधिक रक्तश्राव भइरहने समस्या थियो ।

महिलालाई उपचारका लागि बुधबार दिउँसो ४ः२० बजेतिर अस्पतालको आइसोलेसनमा भर्ना गरिएको हो । उपचार सफल हुन नसक्दा पाँच घण्टाभित्रै उनको मृत्यु भएको दाहालले बताए । पाठेघरमा भएको सङ्क्रमणका कारण महिलालाई रक्तश्रावको समस्या देखा परेको पाइएको उनको भनाइ छ । दाहालका अनुसार रक्तश्राव नरोकिएर स्वास्थ्य अवस्था जटिल बन्दै गएपछि कोरोना सङ्क्रमित महिलालाई उपचारका लागि अस्पताल ल्याइएको हो ।

‘रक्तश्राव धेरै भएकी महिलाको पीसीआर परीक्षण गराउँदा रिपोर्ट पोजिटिभ आएको रहेछ,’ उनले भने, ‘अस्पताल ल्याइपु¥याउँदा अवस्था निक्कै गम्भीर बनिसकेको थियो ।’ तत्काल आइसोलेसनमा भर्ना गरेर उपचार थालिए पनि रक्तश्राव नरोकिँदा जीवितै राखेर सङ्क्रमणमुक्त गर्ने प्रयास असफल भएको जानकारी दाहालले दिए । उनका अनुसार मृतकमा रक्तश्राव र कोरोना सङ्क्रमणबाहेक स्वास्थ्य सम्बन्धी अरु कुनै पुरानो समस्या थिएन । मृतकको शव व्यवस्थापनका लागि पहल भइरहेको दाहालको भनाइ छ ।

प्रतिक्रिया

सम्बन्धित