केएमसीमा कोरोना संक्रमितको निशुल्क उपचार

काठमाडौं । काठमाडौंको सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजमा अब कोरोना संक्रमितको उपचार निःशुल्क हुँने भएको छ । कोरोना संक्रमितलाई निःशुल्क उपचार गराउँनका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र केएमसीबीच आइतवार सम्झौता भएको हो ।

सम्झौतासँगै अब कोरोना संक्रमितले केएमसीमा निःशुल्क उपचार पाउँनेछन् । उपचारका क्रममा लाग्ने खर्च स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ब्यहोर्ने सम्झौता पत्रमा उल्लेख छ । स्वास्थ्य मन्त्रालयसँग सम्झौता भएकाले अब केएमसीमा कोरोना संक्रमितको उपचार निःशुल्क हुँने अस्पतालका अध्यक्ष डा.सुनिल शर्माले जानकारी दिए । ‘स्वास्थ्य मन्त्रालयसँग सम्झौता गरेर हामीले कोरोना संक्रमितको उपचार निःशुल्क हुँने व्यवस्था मिलाएका छौं,’ डा.शर्माले भने, ‘अब कोरोना संक्रमितले केएमसीमा निःशुल्क उपचार पाउँछन् ।’

डा.शर्माद्वारा सञ्चालित विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा पनि केही दिन अघिबाट कोरोना संक्रमितको निःशुल्क उपचार सुरु भएको छ । गत भदौं महिनाबाट केएमसी अध्यक्षको जिम्मेवारी सम्हालेका डा.शर्माले अघिल्लो कोरोना महामारीमा सरकारले पीसीआर परीक्षण शुल्क ४ हजार ४ सय तोकेका बेला केएमसीमा २ हजार ५ सयमै पीसीआर परीक्षण गराएका थिए ।

सरकारले तोकेको भन्दा १ हजार ९ सय रुपैयाँ कम शुल्कमै पीसीआर परीक्षण गर्ने व्यवस्था मिलाएपछि डा.शर्माले चौतर्फी प्रशंसा पाएका थिए । अहिले पनि सरकारले पीसीआर परीक्षणको अधिकतम शुल्क २ हजार तोकेका बेला डा.शर्माले केएमसीमा १ हजार ५ सय रुपैयाँमै पीसीआर परीक्षण गर्ने व्यवस्था मिलाएका छन् । सुरुवातदेखि नै सरकारले तोकेको भन्दा कम शुल्कमै पीसीआर परीक्षण गराउँदै आएको केएमसीमा अब कोरोनाको उपचार पनि निःशुल्क हुँने भएपछि कोरोना संक्रमितहरुलाई थप राहत मिल्ने भएको छ ।

प्रतिक्रिया

सम्बन्धित