नाफा होइन, सेवा गर्छु : प्रसाईं

झापा / बिएण्डसी मेडिकल कलेजका कार्यकारी निर्देशक दुर्गा प्रसाईंले आफूले ‘चिकित्सा शिक्षा ऐन २०७५’ को दफा १३ को उपदफा ६ अनुसार कलेजलाई सम्बन्धन दिन माग गरेको स्पष्ट पार्नुभयो । उहाँले भन्नुभयो, “सरकारी शुल्कमा गुणस्तरीय डाक्टर पढाउन कलेज सञ्चालन गर्न सम्बन्धन पाआँैभन्दा मैले कुनै अपराध त गरिन होला ?” आफ्नो सम्बन्धनका माग नीति र विधिसम्वत् भएको उहाँले दाबीसमेत गर्नुभयो ।

“मैले चिकित्सा ऐन जारी हुनुपूर्व नै सम्बन्धनका लागि निवेदन दिएका हुँ । मनशायपत्र लिइ मेडिकल कलेज सञ्चलनार्थ आवश्यक मापदण्ड तथा पूर्वाधार पूरा भइसकेको छ । एमबिबिएस, एमडी÷एमएस अध्ययन गर्न विदेश जानुपर्ने अवस्था अन्त्य गर्न र विशेष गरी प्रदेश नं १ का प्रतिभाशाली छात्रछात्राको ‘डाक्टर’ बन्ने चाहनालाई पूरा गर्ने चाहना हो ।” उहाँले भन्नुभयो, “कलेज र अस्पतालले नाफा होइन, सेवा गर्न चाहेको छ ।” उहाँले केही वर्ष अगाडि घाँटीको क्यान्सरमाथि विजय प्राप्त गर्नुभएको थियो ।

कलेजले मापदण्ड तथा पूर्वाधार तयार गरी सम्बन्धनका लागि काठमाडौँ विश्वविद्यालयसमक्ष विसं २०७३ फागुन १५ गते निवेदन दिएको थियो । साथै चिकित्सा शिक्षा ऐन जारी भएपछि गठन भएको चिकित्सा शिक्षा आयोगमा एमबिबिएस सिट (कोटा) निर्धारणका लागि कलेजले आवश्यक कागजातपत्रसहित विसं २०७६ फागुन १ गते निवेदन दिएको थियो । ती दुवै प्रक्रिया पूरा गरेको सो कलेजलाई विश्वविद्यालयले हालसम्म सम्बन्धन दिएको छैन ।

कार्यकारी निर्देशक प्रसाईंले भन्नुभयो, “हामीले मनशाय पत्र लिँदा ऐन बनेकै थिएन । हामीले मनशायपत्र लिएर सम्पूर्ण मापदण्ड पूरा गरिसकेका छौँ । यसैले ऐनको १३(६) अनुसार सम्बन्धन पाउनुपर्छ । बिएण्डसीलाई सम्बन्धन पाउने कानूनी आधार भनेको चिकित्सा शिक्षा ऐनको दफा १३ को उपदफा ६ हो ।”

कलेजका प्राचार्य प्रा डा उमेश शर्माका अनुसार मेडिकल कलेज सञ्चालनका लागि भौतिक, शैक्षिक जनशक्ति तथा अस्पतालका आवश्यक सबै पूर्वाधार तयारी अवस्थामा छन् । उहाँले भन्नुभयो, “मेडिकल कलेज सञ्चालनका लागि कम्तीमा १६ बिघा जमीन, ३०० श्ययाको अस्पताल, उपकरण, अस्पतालमा दैनिक बिरामीको परीक्षण, शल्यक्रिया, पुस्तकालय, विभागीय जनशक्तिलगायत आवश्यक मानिन्छ । अहिले कलेजको २२ बिघा जमीन, यसमा बनेका भौतिक संरचना, पूर्वाञ्चल क्यान्सर अस्पताल र बिएण्डसी अस्पताल गरी कूल ९०० श्ययाको अस्पताल, अस्पतालमा दैनिक एक हजार ३०० भन्दाबढी बिरामीले अन्तरङ्ग तथा बहिरङ्ग सेवा, ३० देखि ४० शल्यक्रिया, ६०÷७० सङ्ख्यामा सिटिस्क्यान तथा ४० भन्दाबढी एमआरआइ हुने गर्छ ।”

तत्कालीन शिक्षा मन्त्रालयले झापाको अनारमुनि गाविसमा एमबिबिएस कार्यक्रम सञ्चालनार्थ कलेजलाई मनसायपत्र (लेटर अफ इन्टेन्ट) विसं २०६८ माघ २४ गते प्रदान गरेको थियो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले ३०० श्ययाको बिएण्डसी अस्पताल सञ्चलनार्थ कलेजलाई विसं २०७३ साउन ९ गते स्वीकृति दिएको थियो । नेपाल मेडिकल काउन्सिलले विसं २०७३ मङ्सिर १४ र १५ गते एमबिबिएस कार्यक्रम सञ्चालन गर्न मापदण्ड तथा पूर्वाधार भए÷नभएको ‘इन्पेक्सन’ गरेको थियो । ‘कलेजमा एमबिबिएस कार्यक्रम सञ्चालनार्थ प्रारम्भिक अवस्था सकारात्मक’ भएको जानकारी काउन्सिलका तत्कालीन रजिष्ट्रार डा दिलीप शर्माद्वारा विसं २०७३ मङ्सिर १७ गते हस्ताक्षरितपत्रमा उल्लेख छ ।

पूर्वक्षेत्रबाट उपचारका लागि भारत तथा काठमाडौँ जानुपर्ने अवस्था लगभग अन्त्य भएको छ । उहाँले भन्नुभयो, “बत्तीस लाख जनसङ्ख्या भएका मेचीका लागि ती दुवै अस्पताल ‘रिफरल हस्पिटल’ बनेको छ । भारतीय उपचारका लागि अस्पतालमा आउनेक्रम बढ्दो छ ।” अस्पतालले पछिल्लो समय मुटु तथा मिर्गाैला प्रत्यारोपणको तयारी गर्दैछ । प्राचार्य प्रा डा शर्माले भन्नुभयो, “हामी एमबिबिएस तहमा ३०० विद्यार्थी पढाउने क्षमतामा छौँ । हामी एमडी÷एमएससमेत पढाउन सक्छौँ ।” कलेजले सम्बन्धन पाउनेवित्तिकै एकहजार ५०० स्थानीयवासीले रोजगारी र सरकारले रु ५० करोडभन्दा वार्षिक राजश्वसमेत पाउने जनाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित