सुनसरीमा १ लाख बढीलाई कोरोना खोप लगाइदै

इनरुवा / सुनसरीमा १ लाख ८ हजार ३ सय ५० जनालाई कोरोना भाइरस विरुद्धको खोप लगाउने लक्ष लिइएको छ । तत्काललाई ४२ हजार डोज खोप प्राप्त भएको जनाएको स्वास्थ्य कार्यालय सुनसरीले क्रमश ः प्राप्त हुने डोजसँगै लक्षित संख्यामा भ्याक्सिन लगाइने जनाएको छ ।

सरकारी अभियान अन्तर्गत फागुन २३ देखि २७ गते सम्म खोप कार्यक्रम संचालन हुँदैछ । सोही अनुरुप सुनसरीमा समेत तयारी पुरा भएको कार्यालयले जनाएको छ ।
स्वास्थ्य कार्यालय सुनसरीका अनुसार जिल्लाका सबै १२ वटै पालिकामा गरी ८२ वटा खोप केन्द्र तोकिएका छन् । स्वास्थ्य संस्था केन्द्रीत खोप कार्यक्रमको लागि २ सय ३९ जना खोप कार्यकर्ता परिचालन हुने बताइएको छ । त्यसैगरी ७ सय १७ जना स्वयंसेवक र ७७ जना स्वास्थ्यकर्मी अभियानमा खटिने कार्यालयले जनाएको छ ।
स्वास्थ्य कार्यालय सुनसरीका प्रमुख सागर प्रसाईका अनुसार अघिल्लो खोप कार्यक्रममा छुटेका व्यक्ति समेत ५ दिन चल्ने खोप अभियानमा सहभागि हुन पाउने छन् । त्यसका अलावा ५५ वर्ष उमेर समूह माथिका व्यक्तिहरु, शिक्षक र विद्यालयका कर्मचारी, आधिकारिक दर्ता रहेका फार्मेसी र ल्याबका कर्मचारी सहित सार्वजनिक सवारी साधनका चालक तथा सहचालकलाई खोप लगाइने प्रसाईले बताए ।

सरकारले खोपको उपलब्धता हेरी ६० वर्ष माथिका जेष्ठ नागरिकलाई खोप अभियान प्राथमिकतामा राखिएको बताए पनि स्वास्थ्य कार्यालय सुनसरीले भने ५५ वर्ष उमेर समूह देखिनै खोप लगाउने गरी तयारी पुरा गरिएको जनाएको छ ।

स्वास्थ्य कार्यालय सुनसरीकी कोरोना फोकल पर्सन सृजना लिङ्थेपका अनुसार गर्भवती महिला, हालसालै बिरामी भएका व्यक्ति, कडा एलर्जी हुनेहरु, हालसालै कोभिड भएका व्यक्ति, रगत बग्ने तथा रगत पातलो बनाउने जस्ता रगत सँग सम्वन्धि औषधि सेवन गर्दै आएकाले भने कोरोनाको खोप लगाउन नहुने बताइन् । सो विषयमा चिकित्सकले उचित परामर्श दिने उनले बताइन् ।

सामान्य लक्षण सहित कोभिड लागेकाको हकमा निको भएको ४५ दिन पछि खोप लगाउन सकिने स्वास्थ्य कार्यालयले जनाएको छ । कोभिडका कारण आईसीयूमा भर्ना हुनु परेकाको हकमा भने ३ महिना पछि मात्र खोप लगाउन मिल्ने कार्यालयले जनाएको छ । कार्यालयले रेडमिसिभर लगाएकाले समेत ३ महिना पछि मात्र खोप लगाउन मिल्ने भनेको छ ।

यसैबिच स्वास्थ्य कार्यालय सुनसरीले कोरोना भाइरस विरुद्धको खोप ढुक्कसाथ लगाउन जिल्लावासी समक्ष आग्रह समेत गरेको छ । कार्यालयले विश्व स्वास्थ्य संगठनबाट स्विकृत भई प्रयोगमा ल्याइएको हुनाले निर्धक्क साथ कोरोना विरुद्धको खोप लगाउन सर्वसाधारण समक्ष आग्रह गरेको हो । पहिलो र दोस्रो चरणमा संचालित कार्यक्रमको सुरुवाती चरणमा खोप लगाउनेको संख्यामा कमी देखिए पनि विश्वसनीयता बढ्दै जाँदा खोप लगाउनेको संख्यामा समेत वृद्धि भएको कार्यालयको भनाई छ ।

कार्यालयले जिल्लावासी समक्ष खोपलाई ट्रायलको लागि प्रयोग गरिएको भन्ने भ्रम नराख्न भनेको छ । उसले परीक्षणका विविध चरण पार गरेपछि विश्व स्वास्थ्य संगठनले मान्यता दिएरै खोप प्रयोगमा ल्याइएकाले निर्धक्क साथ खोप लगाउन सबैमा अनुरोध गरेको छ । स्वास्थ्यले सामान्य असर देखिनुलाई खोपको सकारात्मक पक्षका रुपमा लिइनु पर्ने भनेको छ । सामान्य असर देखिनु भनेको खोपले काम गरेको भन्ने बुझिने हुँदा ढुक्क भएर खोप लगाउन सबैमा आग्रह गरिएको स्वास्थ्य प्रमुख सागर प्रसाईको भनाई छ । उनले यस अघिका चरणमा लगाइएको खोपले कोही कसैमा गम्भिर असर र खतरा नदेखिएकाले समेत पछिल्लो चरणमा खोप लगाउनेको संख्या वृद्धि हुनेमा विश्वस्त रहेको बताए ।स्वास्थ्य कार्यालयका अनुसार जिल्लामा संचालित पहिलो र दोस्रो चरणको अभियानमा लक्षित समूह र वर्गको ७५ प्रतिशतले खोप लगाएका छन् ।

प्रतिक्रिया

सम्बन्धित