इनरुवा अस्पताल सुधार संघर्ष समितिले सृजनात्मक आन्दोलन थाल्ने

इनरुवा / इनरुवा अस्पताल सुधार संघर्ष समितिले स्वरुप परिवर्तन गरी आन्दोलनका कार्यक्रमलाई निरन्तरता दिने निर्णय गरेको छ । सत्यनारायण मन्दिरमा बसेको समिति पदाधिकारी भेलाले अबको आन्दोलन आम नागरिकले प्रत्यक्ष अनुभूति गर्ने किसिमले संचालनमा ल्याउने सहमति जुटाएको हो । उक्त भेलाले अस्पताल सुधार संघर्ष समितिमा राजनीति हुन नदिने समेत प्रतिवद्धता जुटाएको छ ।

समितिले तिव्रता दिएको जन दबाब समूह विस्तार सँगै चालिएका आन्दोलनका कार्यक्रम र सृजित पछिल्ला केहि घटनाक्रमले आम सर्वसाधारणमा नकारात्मक सन्देश प्रवाह हुन गएको प्रति समेत ध्यानाकर्षण भएको जनाएको छ । उसले आफुहरुको शान्तिपूर्ण आन्दोलनका क्रममा संघर्ष समितिका संयोजक सहितलाई प्रहरीले पक्राउ गर्नु लोकतन्त्रको उपहास भएको जनाएको छ ।

भेला पश्चात आयोजित पत्रकार सम्मेलनमा संघर्ष समितिले आफुहरुको भावी रणनीतिका बारेमा जानकारी दिएको थियो । अस्पतालमा सृजनात्मक सहितका दबाबमूलक कार्यक्रम गर्ने जनाएको समितिले बजार क्षेत्रमा ममवत्ति जुलुस, सिट्ठी जुलुस र वृहत प्रर्दशन सहित सभा समेत गर्ने जनाएको छ । संघर्ष समितिका संयोजक दिलिपचन्द साहले पत्रकार सम्मेलनका बिच दिएको जानकारी अनुसार अबका आन्दोलनका कार्यक्रम सृजनात्मक तवरले दबाब दिने खालका हुने छन् । सरोकारवाला सहितको भेला डाकी दबाब सृजना गर्ने देखि सांकेतिक बिरोध जनाउने र आवश्यकता अनुरुप धर्ना तथा प्रदर्शन जस्ता कार्यक्रम गरिने छन् ।

समितिले अहिले सम्म भएका गतिविधि सार्वजनिक गर्ने र अस्पताल भित्रको वेथितिको विषयमा सरोकारवालालाई ध्यानाकर्षण गराउदै माग सम्बोधनको सवालमा दबाब दिइने जनाएको छ । अस्पताल भित्रको वेथिति अनत्य सहितका माग गर्दै स्थानीय अगुवा सहितको सहभागितामा गठित इनरुवा अस्पताल सुधार संघर्ष समितिले नगरका वडा स्तरमा समेत जन दबाब समूह गठनलाई तिव्रता दिदै आएको छ ।

प्रतिक्रिया

सम्बन्धित