कैदीबन्दीलाई कोरोनाविरुद्धको खोप

बैतडी / बैतडीमा आजदेखि कैदीबन्दी र थुनुवालाई पनि कोरोनाविरुद्धको खोप लगाउन शुरु गरिएको छ । पहिलो दिन कारागार कार्यालयका ५० कैदीबन्दी तथा थुनुवालाई खोप लगाइएको जेलर अनिल तिवारीले जानकारी दिए ।

कारागारमा हाल ७१ कैदीबन्दी र थुनुवा रहेका छन् । सोमा ३९ कैदीबन्दी र ३२ थुनुवा छन् । सरकारले कैदीबन्दीलाई पनि पहिलो चरणमै खोप लगाउनका लागि प्राथमिकतामा राखेकाले खोप लगाउन शुरु गरिएको हो । कैदीबन्दी तथा थुनुवालाई कारागार कार्यालयभित्रै गएर खोप लगाइएको स्वास्थ्य कार्यालयका प्रमुख योगशप्रसाद भट्टले जानकारी दिए ।

खोप केन्द्र थपियो

यहाँ पहिलोपटक नगरपालिकाबाट पनि कोरोना भाइरस विरुद्धको खोप लगाउन शुरु गरिएको छ । पुर्चौडी नगरपालिकामा पनि खोप केन्द्र स्थापना गरी खोप लगाउन शुरु गरिएको जिल्ला अस्पतालका प्रमुख डा वशन्तराज जोशीले जानकारी दिए । यसअघि यही माघ १४ गतेदेखि जिल्ला अस्पताललाई मात्रै खोप केन्द्र तोकिएको थियो । खोप अभियानलाई प्रभावकारी बनाउन जिल्ला अस्पताल बाहिर पहिलो पटक पुर्चौंडीमा खोप केन्द्र सञ्चालनमा ल्याइएको हो ।

पुर्चौडीमा अस्थायी कोभिड अस्पताल सञ्चालनमा रहेको छ । सरकारले कोरोनाविरुद्धको पहिलो चरणको खोप अभियान सञ्चालनमा ल्याएकाले दुर्गम क्षेत्रका अग्रपंक्तिमा खटिएका स्वास्थ्यकर्मीलाई सहज होस् भनेर जिल्ला सदरमुकाम बाहिर खोप केन्द्र सञ्चालनमा ल्याइएको स्वास्थ्य कार्यालयका प्रमुख भट्टले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित