इ–सेवाको चिठ्ठा : बिना ब्याज ग्राहकको करोडौं रुपैयाँ ठगी

काठमाडाैं / अहिले कुनै पनि व्यक्ति तथा संस्थाले चिट्ठाजन्य कार्यक्रम सञ्चालन गर्न कानूनले बन्देज लगाएको छ । नेपाल राष्ट्र बैंकले पनि यस्ता गतिविधि गैरकानूनी भएको जनाएको छ । तर, राष्ट्र बैंकबाटै लाइसेन्स पाएको डिजिटल वालेट सेवा प्रदायकले इ–सेवाले कानूनको ठाडो उल्लंघन गर्दै चिठ्ठाका नाममा प्रयोगकर्तासँग रकम असुली गरिरहेको छ ।

आफूलाई नेपालकै सबैभन्दा ठूलो सञ्जाल भएको डिजिटल वालेट सेवाप्रदायक दाबी गर्ने इ–सेवाले २१ रुपैयाँको चिट्ठा खुलाएको छ । यो चिट्ठा किन्नेले लक्की ड्रमार्फत् एक जनालाई ५३ हजार रुपैयाँ बजारमूल्य भएको ‘वान प्लस नोर्ड’ मोबाइल र १० जनालाई ५ सय रुपैयाँ बराबरको क्यासब्याक अफर सार्वजनिक गरेको छ । त्यस्तो चिट्ठा भर्ने अवधि जनवरी २ सम्म रहेकोमा सोमबारका लागि चिट्ठा खोल्न मिति तोकको छ । त्यस्तो चिट्ठा नपर्नेलाई १ महिनापछि रकम फिर्ता गर्ने सो कम्पनीले जनाएको छ ।

कसरी ठगीन्छन् ग्राहक ?

मोबाइल वालेटमा राखिएको पैसाबापत सेवा प्रदायकले ग्राहकलाई ब्याज दिनु पर्दैन । निब्यार्जी रुपमा खर्च गर्न पाउने भएकोले यस्तो पैसाको होल्ड बढाउने औजारको रुपमा यतिबेला उसले यस्ता अफरहरुलाई प्रयोगमा ल्याएको छ ।

इसेवाले अहिले आफूसँग ४० लाख प्रयोगकर्ता रहेको दाबी गर्दै आएको छ । त्यसमध्ये ३० लाख प्रयोगकर्ता सक्रिय रहेको सो कम्पनीको दाबी छ । सक्रिय प्रयोगकर्तामध्ये सबैभन्दा कम चलाउनेले गर्नेले वर्षको २ पटक यो प्लेटफर्म प्रयोग गर्छन् । मासिक रुपमा प्रयोग गर्नेको संख्या २५ लाख छ भने १६ लाख भन्दा बढीले दैनिक रुपमा प्रयोग गर्ने गरेको दाबी इसेवाको छ । चिट्ठाको नाममा रकम होल्ड गराएर करोडौं रकम निब्यार्जी अन्यत्र लगानी गर्न कम्पनीका सञ्चालकहरुले यस्तो शैली अपनाएको जानकारहरु बताउँछन् ।

त्यसो त अहिलेको चिट्ठा खेलाउँदा पनि इ–सेवाले कुनै खर्च गर्नु पर्दैन । बरु अफरसँग जोडिएका मर्चेन्टहरुसँग विज्ञापनबापत लाखौं रुपैयाँ समेत असुल गरिरहेको छ । इसेवाले ल्याएको अहिलेको अफरमा एक जना भाग्यशाली विजेतालाई वान प्लस नोर्ड मोबाइल दिने भनिएको छ । यसको बजारमूल्य करिब ५३ हजार रुपैयाँ छ । तर, ५३ हजारको मोबाइलको अफरको लोभमा बीसौं लाखलाई यसको विज्ञापन गराइएको छ, यसको कुनै सामाजिक मूल्य व्यहोर्नु समेत पर्दैन ।

त्यतिमात्रै होइन, यस्ता अफरबाट सेवाप्रदायक आफ्नै पनि प्रवद्र्धन हुन्छ । यस्तो कार्यक्रमले अप्रत्यक्ष रुपमा आफ्नै सेवा प्रदायकहरुको आफ्नै प्रवद्र्धन समेत भइरहेको हुन्छ । आफूसँग आवद्ध नभएका प्रयोगकर्तालाई समेत यस्तो कार्यक्रमको प्रचार गरेर यो दायरामा आउने सम्भावना हुन्छ । तर, आफ्नै विज्ञापन गरेबापत खर्च गर्नुको सट्टा उल्टै आम्दानी गरिरहेका हुन्छन् । अहिले इसेवाले एकपछि अर्को अफर ल्याउनुको कारण यही हो ।

नेपाल राष्ट्र बैंकले भुक्तानी सेवा प्रदायकले यसरी गैरकानूनी रुपमा चिट्ठाजन्य गतिविधि सञ्चालन गर्नु गैरकानूनी भएको जनाएको छ । राष्ट्र बैंकको भुक्तानी सेवा विभागका कार्यकारी निर्देशक भुवन कँडेलले यस्ता गतिविधि सेवाप्रदायक मात्रै नभएर कसैले गर्न नपाउने भएकोले यस्तो गतिविधि भएको पाए त्यो दण्डनीय हुने बताए ।

‘धेरैबाट पैसा संकलन गर्ने र केही व्यक्तिलाई मात्रै लाभ पुग्ने क्रियाकलाप गैरकानूनी हो । यो गर्न पाइँदैन,’ कार्यकारी निर्देशक कँडेलले भने, ‘भुक्तानी सेवाप्रदायक मात्रै होइन, यस्तो कार्य गर्न कसैले पाउँदैन, सेवाप्रदायकले त झनै पाउने कुरै भएन ।’

वालेटको पैसामा ब्याज पाउने कि नपाउने ?

हालसम्म १६ वटा भुक्तानी सेवा प्रदायकले राष्ट्र बैंकबाट यस्तो सेवा सञ्चालनको अनुमति पाएका छन् । त्यसमध्ये अधिकांश सेवाप्रदायकहरु सञ्चालनमा छन् । ती सेवा प्रदायकसँग सर्वसाधारणको अर्बौं रकम छ । कोभिड–१९ महामारीसँगै यतिबेला मोबाइल बालेट प्रयोगकर्तासँगै कारोबार संख्या र कारोबार रकम बढ्दै गएको छ । असोज महिनासम्म कुल ६६ लाख ४३ हजार मोबाइल वालेट प्रयोगकर्ता रहेको राष्ट्र बैंकको तथ्यांक छ । कात्तिक महिनामा मात्रै प्रयोगकर्ताको संख्या १ लाख ३० हजारले बढेर ६७ लाख ७३ हजार पुगेको देखिएको छ ।

वालेटमार्फत् असोज महिनामा मात्रै १ करोड १ लाख भन्दा बढी पटक कारोबार भएको थियो । उक्त कारोबारबाट ९ अर्ब ८८ करोड रुपैंया भुक्तानी भएको पाइएको छ । यसरी कारोबार बढ्दै जाँदा ग्राहकले वालेटमा राख्ने पैसा समेत बढ्दै गएको छ । बैंक खाताबाट वालेटमा रकमान्तर गर्दा पैसा नलाग्ने तर वालेटबाट बैंकमा पठाउँदा पैसा लाग्ने भएकोले पनि वालेटमा रकम थपिँदै गएको देखिन्छ । यसले पनि ग्राहकको उत्पादकत्वरहित रकम बढाइरहेको छ । यसले गर्दा यस्तो रकममा समेत ब्याज दिनुपर्ने आवाज समेत उठ्न थालेको छ ।

राष्ट्रबैंकका कार्यकारी निर्देशक कँडेल भने यस्तो रकममा ब्याज दिने व्यवस्था नभएको बताउँछन् । ‘मोबाइल वालेट सानो सानो कारोबारका लागि प्रयोग गरिने भएकोले यसमा ब्याज दिने व्यवस्था छैन । केही सेवा प्रदायकले आफ्नै ढंगले यस्तो व्यवस्था गरे अलग्गै कुरा हो, नीतिगत रुपमा यस्तो व्यवस्था छैन,’ कँडेलले भने, ‘बैंकले मुद्दतीमा ७र८ प्रतिशत ब्याज दिएको छ । बचतमा ३÷४ प्रतिशत मात्रै दिएको छ । भुक्तानी प्रदायकलाई ब्याज दिन लगाउँदा कति दिने भन्ने कुरा पनि आउँछ । त्यसैले ब्याजको लागि चाहिँ बैंकमै पैसा राख्नुपर्छ भन्ने प्रयोगकर्ताले बुझ्नुपर्छ ।’

त्यसो त, इसेवाले यही प्रकारको चिट्ठा कार्यक्रम यसअघि पनि सञ्चालन गरेको थियो । यसअन्तर्गत ११ रुपैयाँ तिरेर बुद्ध एयरको जहाजमार्फत् माउन्टेन फ्लाइट गर्न सकिने अफर ल्याइएको थियो । त्यस्तै, ११ रुपैयाँमै आइफोन जित्न सकिने अफर समेत इसेवाले सार्वजनिक गरेको थियो । इसेवाले एकपछि अर्को गर्दै यस्ता अफरहरु ल्याइरहको छ । राताेपाटीबाट

प्रतिक्रिया

सम्बन्धित