सामुदायिक विद्यालयमा दिवा खाजा

पर्वत / पर्वतको जलजला गाउँपालिकाले सबै सामुदायिक विद्यालयमा दिवा खाजा कार्यक्रम शुरुआत गर्नेभएको छ । गाउँपालिकाभित्रका ४४ वटा सामुदायिक विद्यालयमा अध्ययनरत शिशुतहदेखि कक्षा ५ सम्मका विद्यार्थीलाई यही पुसमहिनादेखि दिवा खाजा कार्यक्रम सञ्चालन गर्न लागिएको हो । सामुदायिक विद्यालयप्रति विद्यार्थीको आकर्षण बढाउने र विद्यार्थीलाई विद्यालयमा टिकाइ राख्ने वातावरणको सिर्जना गर्न कार्यक्रम अघि सारिएको गाउँपालिकाका अध्यक्ष यामबहादुर मल्लले जानकारी दिए ।

कार्यक्रममा दैनिक रु १५ हजार भन्दा बढी लगानी गर्नुपर्ने अवस्था रहेको छ भने वार्षिक ५० लाख भन्दा बढी दिवा खाजामा खर्च हुने गाउँपालिकाले जनाएको छ । उनका अनुसार विद्यालय खुलेको दिनमा प्रति दिन रु १५ का दरले दिवा खाजा खुवाउने गरी गाउँपालिकाले आवश्यक तयारी गरेको छ । विद्यालय व्यवस्थापन समितिको निर्णयमा खाजा खुवाउने व्यवस्था गर्नुपर्ने र खाजा खुवाउदा आवश्यक मात्रा, स्वच्छता र पोषकतत्व सुनिश्चिततामा ध्यान पु¥याउनुपर्ने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अर्जुन शर्माले जानकारी दिए ।

अभिभावक, आमा समूह वा क्लब र अन्य व्यावसायिक लगायतको माध्यमवाट स्थानीयस्तरमा उत्पादित खाद्यान्न प्रयोग गरी दिवा खाजा खुवाउन सकिने जनाइएको छ । बजारमा किनिएका सामान र पत्रु खान पूर्ण रुपमा निषेध गरिएको छ । विद्यालयले मासिक रुपमा खुवाएको खाजाको भुक्तानी आवश्यक बिल भरपाईको आधारमा गाउँपालिकाले भुक्तानी गर्ने उनले बताए ।

गाउँपालिकामा सामुदायिक विद्यालय ४४ वटा रहेका छन् । तीमध्ये १० वटा मावि, चार वटा आधारभूत विद्यालय र अन्य ३० वटा प्रावि तहका विद्यालय रहेका छन् । दिवा खाजा कार्यक्रमले विद्यार्थीलाई पूरै अवधि विद्यालयमा रहने वातावरण सिर्जना गर्नुका साथै अखाद्य वस्तु र पत्रु खानको प्रयोगमा कमी ल्याउने गाउँपालिकाका शिक्षा अधिकृत झलकनाथ आचार्यले जानकारी दिए । यस कार्यक्रमवाट झण्डै एक हजार भन्दा बढी विद्यार्थी लाभान्वित हुने भएका छन् ।

जिल्लामै पहिलो पटक जलजाल गाउँपालिकाले यस्तो कार्यक्रम शुरु गरेको हो । यसवाट निजी विद्यालयमा जस्तै विद्यार्थीको सिकाइस्तर र निरन्तरतामा वृद्धि हुने अपेक्षा गरिएको गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित