घुमौँ सौराहा अभियान सुरु गरिने

चितवन / कोरोना भाइरसको सङ्क्रमणसँगै सुस्ताएको पर्यटन क्षेत्रलाई चलायमान बनाउन ‘घुमौँ सौराहा अभियान’ सुरु गरिने भएको छ। विदेशी पर्यटक तत्काल आउने अवस्था नभएपछि आन्तरिक पर्यटन प्रवद्र्धनका लागि अभियान सुरु गर्न लागिएको हो।

क्षेत्रीय होटल संघ सौराहाको आयोजनामा अभियान सुरु गरिँदैछ। संघका अध्यक्ष दीपक भट्टराईले आन्तरिक पर्यटनमार्फत क्रमिकरूपमा चलायमान बन्दै गएको सौराहाको प्रचारका लागि अभियान सुरु गर्न लागिएको जानकारी दिए।

आन्तरिक पर्यटकका लागि आकर्षक प्याकेजसहित कार्यक्रम गरिँदैछ। अभियानको क्रममा पुस १० गते विराटनगर, पुस ११ गते जनकपुर र पुस १२ गते वीरगञ्जमा विविध कार्यक्रम आयोजना गर्ने तयारी गरिएको उनले जानकारी दिए। कोरोना भाइरसका कारण पर्यटन व्यवसाय ठप्प भएको भन्दै उनले स्वदेशभित्र घुम्न र पर्यटकलाई आकर्षित गर्न ‘घुमौँ सौराहा अभियान’ सुरू गर्न लागेको जानकारी दिए।

चितवन राष्ट्रिय निकुञ्जको प्रवेशद्वार सौराहामा निकुञ्ज र मध्यवर्ती सामुदायिक वनमा दुर्लभ वन्यजन्तु गैँडा, बाघ, भालुलगायत जनावर हेर्न स्वदेशी र विदेशी पर्यटक आउने गर्छन्। सौराहा देशको तेस्रो पर्यटकीय गन्तव्य हो।

अभियानका संयोजक सुमन घिमिरेले अभियानका क्रममा ती शहरमा सौराहासँग सम्बन्धित प्रस्तुति, भिडियो र वन तथा वन्यजन्तुका तस्बिर प्रदर्शन गरिने बताए। उनले भने, ‘हामी सौराहा घुम्नका लागि निम्तो दिन्छौँ।’ अभियान पहिलो चरणमा प्रदेश नं १ र २ एवं दोस्रो चरणमा बाँकी प्रदेशमा गरिनेछ।

प्रतिक्रिया

सम्बन्धित