अन्नपूर्णमा पहिलो पटक पुगे चिकित्सक

म्याग्दी / म्याग्दीको अन्नपूर्ण गाउँपालिकामै नियमित बसेर सेवा दिने गरी पहिलो पटक चिकित्सक पुगेका छन् । गाउँपालिकाले नारच्याङमा सञ्चालन गर्न लागेको कोरोना अस्पतालका लागि चिकित्सक नियुक्त गरेको हो । यही पुस १ गतेदेखि लागू हुने गरी डा ज्योति पन्थीलाई नियुक्त गरिएको प्रमुख प्रशासकीय अधिकृत नवीन सुवेदीले जानकारी दिए ।

“कोभिड अस्पताल सञ्चालन गर्नका लागि चिकित्सकसहित दुई जना स्टाफ नर्स र एक जना कार्यालय सहयोगी नियुक्त गरेका छौँ”, उनले भने, “कोरोना अस्पताल सञ्चालनको तयारी गरेका छौँ ।” नियमित बसेर सेवा दिने गरी चिकित्सक आएको पहिलो पटक भएको गाउँपालिकाका अध्यक्ष डमबहादुर पुनले बताए । नारच्याङस्थित नेपाली सेनाले प्रयोग गरेको भवनमा पाँच शय्या क्षमताको कोरोना अस्पताल सञ्चालन गर्न पूर्वाधार र सामग्री व्यवस्थापन गरिएको छ ।

कोरोनाका बिरामी नभएको अवस्थामा चिकित्सकलाई गाउँगाउँमा लगेर बिरामी पहिचान, उपचार र स्वास्थ्य सचेतना फैलाउने गाउँपालिकाको तयारी छ । पहिलो पटक गाउँपालिकामा चिकित्सक आएकोमा स्थानीयवासी खुसी भएका छन् । कोरोना अस्पताल सञ्चालन गर्न अन्नपूर्ण र मालिका गाउँपालिकाले मात्र चिकित्सक पाएका छन् । मङ्गला, धवलागिरि र रघुगङ्गा गाउँपालिकाले स्टाफ नर्स नियुक्त गरे पनि चिकित्सक पाएका छैनन् । कोरोना अस्पताल स्थापना र सञ्चालनका लागि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सबै पालिकालाई १० लाखका दरले बजेट पठाएको थियो ।

आवश्यक मेडिकल बेड, बिस्तारा, अक्सिजन लगायतका औजार र औषधिको समेत व्यवस्था गरिएको छ । मन्त्रालयले चार लाख ५० हजार तलब, ५० हजार औषधि र पाँच लाखको शैयासहितका सामग्री किन्न शीर्षक तोकेर बजेट पठाएको हो ।

यसैबीच अन्नपूर्ण गाउँपालिकाले वडा नं १ दोवामा अस्पताल निर्माणका लागि जग्गा व्यवस्थापन गरेको छ । स्थानीयवासीले निःशुल्क उपलब्ध गराएको १२ रोपनी ७ आना २ दाम क्षेत्रफलको जग्गामा अस्पताल बनाउन जिल्लास्तरीय जग्गा मूल्याङ्कन समितिले निर्णय गरेर स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई सिफारिस गरेको हो ।

दोवाका वडाध्यक्ष दिलीपकुमार गर्बुजाका अनुसार नौप्रसाद पुर्जाले एक रोपनी ३ पैसा, यादवबहादुर गर्बुजाले एक रोपनी ८ आना, गमबहादुर गर्बुजाले एक रोपनी १० आना, अमरबहादुर गर्बुजाले पाँच रोपनी ४ आना, घमती पुर्जाले १३ आना, कर्णबहादुर पुर्जाले दुई रोपनी २ आना र टीकाबहादुर पुर्जाले साढे २ आना जग्गा निःशुल्क उपलब्ध गराएका हुन् ।

प्रतिक्रिया

सम्बन्धित