विराटनगरमा आजदेखि विद्यालय खुुल्दै

विराटनगर / कोरोना भाइरस संक्रमणका कारण बन्द भएका विराटनगर महानगरपालिकाभित्रका विद्यालय आज (बिहीबार) बाट खुल्दैछन् । सरकारको निर्देशन अनुसार २०७६ चैतदेखि बन्द भएका विद्यालय विद्यार्थीको भौतिक उपस्थितिमै खुलाउने निर्णय महानगरले मंसिर २१ गते बैठक बसेर गरेको थियो । २०७७ कात्तिक २० गते मन्त्रिपरिषद्बाट पारित कोभिड –१९ सन्दर्भमा विद्यालय सम्बन्धी कार्य ढाँचा–२०७७ को निर्देशिकाअनुसार विद्यालय सञ्चालन गर्ने निर्णय गरिएको महानगरपालिकाले जनाएको छ ।

महानगरले कोरोनाको जोखिमको अवस्था, विद्यार्थीको भौतिक उपस्थिति, कक्षा सञ्चालनका लागि उपलब्ध भौतिक पूर्वाधार, कोरोना सङ्क्रमण फैलन नदिन विद्यार्थी तथा शिक्षकले अपनाउनुपर्ने सावधानी लगायतका विषयलाई समेटेर व्यवस्थापनका लागि सहज बनाउन सात बुँदे विकल्प दिएको छ । सबै विद्यार्थीलाई समेटेर कक्षा एकै साथ सञ्चालन गर्ने, अलगअलग समयमा तहगत रुपमा कक्षा सञ्चालन गर्ने, विद्यालयको अवस्था हेरेर अघिपछि पठनपाठन गराउने, कक्षा सञ्चालनको घण्टी छोट्याउने, पालैपालो कक्षा सञ्चालन गर्ने लगायतको निर्देशिका महानगरले जानकारी गरेको छ ।

महानगरले संघीय सरकारको निर्देशन बमोजिम कक्षा सञ्चालनको तयारी गरिएको जनाएको छ । निर्देशिकाको पालना गर्दै विद्यालयको भौतिक अवस्था र विद्यार्थीको उपस्थितिलाई हेरेर कक्षा सञ्चालनको आधार तय गरिएको मेयर भीम पराजुलीले बताए । सबै विद्यालयले कक्षा सञ्चालनका लागि स्वास्थ्य सम्बन्धी आवश्यक मापदण्डको पालना गर्नुपर्ने छ ।

विद्यार्थी तथा शिक्षकले मास्क, सेनिटाइजरको प्रयोग र भौतिक दूरी अनिवार्य पालना गनुपर्नेे छ । कतिपय विद्यालयले पोसाक अनिवार्य गरेका छैनन् । पोसाकभन्दा पनि चिसोबाट बच्ने खालका कपडा लगाएर बालबालिकालाई विद्यालय पठाउन आग्रह गरेका छन् । अभिभावकसँग पनि समन्वय गर्दै विद्यालय सञ्चालन गर्नुपर्ने मेयर पराजुलीले बताए ।

विद्यालयहरुको मुल प्रवेश द्वारमा थर्मल गनले ज्वरो नाप्नुपर्ने, एउटा कक्षा कोठालाई आइसुलेट कोठा बनाउनुपर्ने, विद्यालय प्रवेश गर्नुअघि र विद्यालयबाट निस्कने बेलामा विद्यार्थीले साबुन पानीले हात धुनुपर्ने लगायतका नियम बनाइएको छ । त्यस्तै कुनै विद्यार्थीमा कोरोनाको लक्षण देखिए विद्यालय परिषरमा बनाइएको आइसोलेट कोठामा लगेर पीसीआर परीक्षणको व्यवस्था मिलाउनुपर्ने छ । विद्यार्थीको पीसीआर परीक्षण भने महानगरले निःशुल्क गर्ने भएको छ ।

मेयर पराजुलीका अनुसार विद्यालयले आवश्यक मापदण्ड पूरा गरेनगरेको विषयमा महानगर र अभिभावकले नियमित अनुगमन गर्ने पनि बताए । मापदण्डको पालना नगरेको विद्यालयकाविरुद्ध अभिभावकले महानगरको शिक्षा शाखामा उजुरी दिनसक्ने र तत्काल उजुरीको सम्बोधन गरेर कारबाही अघि बढाइने उनले बताए । यसैबीच विद्यालयहरुले विद्यार्थीसँग असोजदेखि मात्रै मासिक शुल्क लिन पाउने निर्णय पनि महानगरले गरेको छ । अब नियमित पठनपाठन नभए पनि विद्यालय खुलिसकेका कारण असोजबाट भने अभिभावकले मासिक शुल्क बुझाउनुपर्ने महानगरको शिक्षा शाखाले जनाएको छ ।

नियमित कक्षा सञ्चालनमा आएर पठनपाठन हुन थालेपछि पुसदेखि भने अरु अतिरिक्त शुल्क पनि बुझाउनुपर्ने महानगरले जनाएको छ । तर यस विषयमा भने महानगरले कुनै निर्णय गरिसकेको छैन । अनलाइन कक्षा सञ्चालन गरेका विद्यालयले भने अभिभावकको समन्वयमा मात्रै शुल्क लिन पाउने छन् । पठनपाठन सुचारु गर्नलाई महानगरपालिकाले नगर क्षेत्रभित्रका सामुदायिक विद्यालयलाई स्वास्थ्य उपकरण प्रदान गरेको छ । विद्यार्थीको ज्वरो नाप्ने थर्मल गन, सेनिटाइजर, मास्क र पीपीई प्रदान गरिएको महानगरले जनाएको छ । विद्यार्थीलाई मास्कको प्रयोग अनिवार्य गरिएको छ । महानगरभित्र ७६ वटा सामुदायिक विद्यालयहरु रहेका छन् ।

लगभग नौ महिनापछि विद्यालय खुलेकोभन्दै अभिभावकले भने पठनपाठन नभएको समयको शुल्क नबुझाउने बताउँदै आएका छन् । कतिपय निजी विद्यालयहरुले भने भर्नासहितको शुल्क उल्लेख गरेर घरघरमा बिल पठाउन थालेका छन् । विद्यालय सञ्चालन नभएको अवस्थाको बिल तिर्न नसकिने अभिभावक मनोज दाहालले बताए । निजी विद्यालयले सञ्चालन गरेको अनलाइन कक्षा प्रभावकारी नभएको र सबै विद्यार्थीलाई समेट्न नसकेका कारण शुल्क बुझाउनु पर्छ भनेर बाध्य बनाउन नपाइने उनको तर्क छ ।

प्याब्सनका केन्द्रीय अध्यक्ष टीकाराम पुरीले शुल्कको विषय समाधान भइसकेको बताए । विद्यालयले पठनपाठन गराएको समयबाट भने अभिभावकले शुल्क बुझाउनुपर्ने उनको भनाइ छ । शैक्षिक क्रियाकलाप सुरु गर्दा शिक्षक र कर्मचारी परिचालन गर्नु परेकाले उनीहरुलाई पारिश्रमिक दिन पनि शुल्क लिनैपर्ने बाध्यता रहेको पुरीको भनाइ छ ।

प्रतिक्रिया

सम्बन्धित