पतिको निधनपछि सिन्दुर–पोतेसहित घाटबाट फर्केर काजकिरिया

झापा । विर्तामोड–८ की रेनुका नेपालले पतिको निधनपछि सिन्दुर पोते फाल्नु पर्ने प्रचलनलाई तोडेर घाटबाटै सिन्दुर–पोतेसहित घर फर्केर काजकिरिया बारिरहेकी छन् । उनका पति केशव नेपालको मृगौला रोगका कारण शनिवार ६१ वर्षको उमेरमा निधन भएको थियो । १७ दिन अघि घरछेउमै पैदलयात्रा गरिरहेका बेला मोटरसाइकलको ठक्करले घाइते भएपछि उनको मृगौलामा झन् समस्या थपिएको थियो ।

बीएन्डसी र नोवेल मेडिकलमा उपचार गर्दा समेत स्वास्थ्यमा सुधार नभएका उनको शनिवार निधन भएपछि स्थानीय देउनिया घाटमा दाहसंस्कार गरिएको थियो । दाहसंस्कारकै क्रममा पत्नीको सिन्दुर पुछिदिने र हातका चुरा फुटाइदिने प्रचलन छ । तर रेनुकाले आफ्ना पतिबाट सौभाग्यको रुपमा पाएको सिन्दुर र पोते नफाल्ने बताइन् र लगाएर सेतो लुगामा घर फर्किइन् ।

अहिले विर्तामोड–८ नेपालचोकस्थित निवासमा पतिको किरिया बारिरहेकी उनको यो निर्णयलाई परिवार, छरछिमेकी र देख्नेसुन्नेहरुले साहसिक निर्णय भन्दै समर्थन जनाएका छन् । ‘यो मेरा पतिले सौभाग्यको रुपमा दिनुभएको हो’, पतिको निधनपछि पनि सिन्दुर र पोते लगाउनुको कारण बताउँदै उनी भन्छिन्–‘उहाँ (पति)ले म मरेपछि तिमीले सिन्दुर नपुछ्नु र पोते नफुकाउनु भन्नुभएको थियो ।’

रेनुकाका देवर तथा टेलिभिजन पत्रकार टिकाराम नेतीले दाजुको इच्छा बमोजिम भाउजुले सिन्दुर र पोते लगाइरहने निर्णय लिएकोमा परिवारको तर्फबाट असहमति नरहेको जानकारी दिएका छन् । वीरता जेसीजका पूर्व अध्यक्ष सजेश शिवाकोटीले रेनुका नेपालले समाज परिवर्तनका लागि साहसिक निर्णय लिएको र त्यसबाट युवा पुस्तालाई प्रेरणा मिलेको बताएका छन् ।

‘सुरु कसैले गर्नै पर्छ, सलाम र सम्मान छ भाउजु’–शिवाकोटीले आफ्नो फेसबुकमा लेखेका छन् । शिवाकोटीको फेसबुक स्टाटसमा कमेन्ट गर्दै लोकु चापागाईले लेखेका छन्–‘श्रीमानले दिएजति सबै उहाँको मृत्युपछि त्यागी नै हाल्ने हो भने सँगै जोडिने थर, नानी बालबच्चा आदि नि त्याग्दै हिँड्न सम्भव छैन, त्यसैले उहाँको साहसलाई मान्नैपर्दछ ।’

रेनुकाको साहसिक कार्यलाई सामाजिक सञ्जालमार्फत समर्थन र हौसला दिनेहरु बढिरहेका छन् । विराट सामुदायिक अध्ययन केन्द्रका अध्यक्ष मोहन शिवाकोटीले सय वर्ष पछिको समाजको सोच परिवर्तनलाई आजै गरिदिएको भन्दै सामाजिक सञ्जालमा लेखेका छन्–‘यो पनि याद गर्नुहोला, तपाईको कुरा काट्नेहरु पनि समाजमा धेरै छन्, केही फरक पर्दैन किनकि तिनकै सन्तान कुनै दिन तपाईको अनुयायी हुनेछन् ।’

रेनुकाका पति स्व. केशव नेपाल कुनै नेता तथा पदीय ओहोदामा रहेका व्यक्ति थिएनन् । उनी विर्तामोडस्थित आफ्नै घरमा सानो पसल चलाउँथे । रेनुका समेत सामान्य गृहिणी हुन् । स्व. केशव नेपालका दुई छोरा र दुई छोरी छन् । लाेकतन्त्रपाेस्ट

प्रतिक्रिया

सम्बन्धित