आक्रामक सेवा विस्तारमा क्लासिक टेक, एक वर्षमै १५६ प्रतिशत ग्राहक बृद्धि

काठमाडौं । विगत एक वर्षको अवधिमा इन्टरनेट सेवाप्रदायक कम्पनी क्लासिक टेकले आक्रामक रुपमा बजार विस्तार गरेको छ । कम्पनीले २०७६ को भदौ यताको एक वर्षमा मात्रै १५६ प्रतिशतभन्दा बढी ग्राहक थपेको हो ।

दोस्रो धेरै ग्राहक बढाउने कम्पनी सुबिसुको तुलनामा क्लासिक टेकको बृद्धि दोब्बरभन्दा बढी रहेको छ । यस अवधिमा दोस्रो धेरै ग्राहक विस्तार गर्न सफल सुबिसुको बृद्धि ७७.०३ प्रतिशत रहेको छ ।

सुबिसुले विगत एक वर्षमा ६६ हजार ७४२ ग्राहक थप्दै आफ्नो कुल ग्राहक आधार विस्तार गरेर एक लाख ५३ हजार ३८९ पुर्‍याएको छ । जब कि क्लासिक टेकले यस अवधिमा ६९ हजार ५७ ग्राहक बढाउँदै आफ्नो कूल ग्राहक आधार एक लाख १३ हजार २५० बनाएको छ ।

ग्राहक विस्तार तीव्र रुपमा गरे पनि क्लासिक टेक नेपालमा ठूला इन्टरनेट सेवाप्रदायकको सूचीमा पाँचौं स्थानमै सीमित छ । ठूला पाँच वटा इन्टरनेट कम्पनीमा आफ्नो ग्राहक आधार विस्तारमा नेपाल टेलिकम सबैभन्दा कमजोर देखिएको छ ।

२०७६ भदौंदेखि २०७७ भदौसम्मको अवधिमा टेलिकमले केवल ८.८३ प्रतिशतले मात्रै आफ्नो ग्राहक आधार बढाउन सकेको छ । हाल कम्पनीका कूल इन्टरनेट प्रयोगकर्ताको संख्या दुई लाख ५६ हजार ५६० रहेको छ ।

ग्राहक विस्तारमा भायनेट र वर्ल्डलिङ्क क्रमशः तेस्रो र चौथो स्थानमा रहेका छन् । उनीहरुले क्रमशः ५८.६६ प्रतिशत र २३.२७ प्रतिशतले ग्राहक बढाएका छन् ।

प्रतिक्रिया

सम्बन्धित