सुनसरीको कोशी गाउँपालिकाका बिद्यालय १४ गतेबाट संचालन हुने

इनरुवा / कोरोना भाइरसका कारण लामो समययता बन्द रहँदै आएका सुनसरीको कोशी गाउँपालिकाका बिद्यालयहरु मंसिर १४ गतेबाट संचालनमा आउने भएका छन् । शिक्षा शाखाले आयोजना गरेको सर्वपक्षीय बैठकले बन्द रहेका बिद्यालय संचालनमा ल्याउने निर्णय गरेको हो । गाउँपालिका अध्यक्ष ऐयुब अन्सारीले कोरोनाका कारण ठप्प बनेको शैक्षिक संस्था स्वास्थ्य सावधानी अपनाई संचालनमा ल्याउन लागिएको बताए ।

उनले गाउँपालिका भित्र रहेका सबै शैक्षिक संस्था सहज रुपमा संचालनमा ल्याउन सोही अनुरुपको तयारी थालिएको बताए । अध्यक्ष अन्सारीका अनुसार पूर्वाधार सम्पन्न बिद्यालयले दुरी कायम गरी सबै कक्षा एकसाथ संचालनमा ल्याउन पाउने छन् । पूर्वाधार अपुग रहेका बिद्यालयको हकमा भने बिहान र दिउँसो गरी दुई सिफ्टमा कक्षा संचालन गर्नु पर्ने छ ।

बिद्यालयमा पठनपाठनको क्रममा मास्क र भौतिक दुरी अनिवार्य गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत खगेन्द्र गिरीले बताए । शिक्षा शाखा प्रमुख सोमराज ढकालका अनुसार गाउँपालिका भित्र रहेका सबै बिद्यालयलाई सेनिटाइजरको साटो साबुन पानीको बन्दोवस्ती अनिवार्य गराउन निर्देशन दिइएको छ ।

प्रतिक्रिया

सम्बन्धित